PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

कोरोनाका कारण नाकाबन्दी हुन सक्ने स्वास्थ्य सेवा विभागको चेतावनी



कोरोनाका कारण नाकाबन्दी हुन सक्ने स्वास्थ्य सेवा विभागको चेतावनी

काठमाडौं : विश्वभरी सन्त्रास फैलाएको कोरोना भाइरसका कारण नेपालमा नाकाबन्दी हुने आशंका व्यक्त गर्न थालिएको छ। 

चीनको वुहानबाट देखिएको भाइरसले विश्वव्यापी अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने विश्लेषण भइरहेका बेला नेपालमा कोरोनाको कारण नाकाबन्दी हुने आशंका गर्न थालिएको हो। स्वास्थ्य सेवा विभागका महानिर्देशक तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले ३०, ४० जना व्यक्तिमा मात्रै कोरोनाको संक्रमण देखिए नेपालमा नाकाबन्दी हुन सक्ने चिन्ता व्यक्त गरे। ‘भूकम्पपछि नेपालले व्यहोरेको नाकाबन्दी पीडादायी छ। ३०, ४० जनामा मात्रै कोरोना भाइरसको संक्रमण देखिएमा त्यो भन्दा ठूलो पीडा हुन सक्छ’, श्रेष्ठले भने।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. राजेश कुमार शाहले कोरोना भाइरसबाट बच्न सावधानी अपनाउनु पर्ने बताए। शाहले जथाभावी भिडभाडमा नजान र जानै परे मास्क लगाएर जान आग्रह गरे। ६० वर्षभन्दा माथिका नागरिक, डाइबिटीज, मुटुसम्बन्धी समस्या र दमका रोगीहरुलाई संक्रमणको दर बढी देखिएको उल्लेख गर्दै उनले समयसमयमा साबुनपानीले हात धुन आग्रह गरे।

पहिलो पटक कोरोनाको आशंकामा ट्रपिकल सेन्टरमा भर्ना भएका एकजनामा बाहेक यसको संक्रमण देखिएको छैन। संक्रमण देखिएका व्यक्ति पनि उपचार पछि घर फर्किसकेका छन्। यद्यपि कोरोनाको आशंकामा परीक्षणका लागि अस्पताल पुग्नेहरुको संख्या भने बढीरहेको छ। -जिएम मिडिया 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell