काठमाडौँ: लकडाउनमा उद्योग बन्द भएपछि विद्युतको माग ह्वात्तै घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
बढी विद्युत् खपत गर्ने कलकारखाना, होटल, व्यापारिक भवन, कार्यालयहरु बन्द भएपछि विद्युत माग ह्वातै घटेको हो। विद्युत् लोडमा मुख्य रुपमा कलकारखाना, होटल लगायतको योगदान रहेको छ। घरायसी प्रयोजनका लागि मात्रै विद्युतको प्रयोग भइरहेकाले लोड घटेको हो।
लकडाउन सुरु हुनुभन्दा पहिले मुलुकभरको विद्युतको अधिकतम माग (पिक डिमाण्ड) १ हजार २ सय मेगावाटको हाराहारीमा रहेकोमा मंगलबार घटेर ९ सय ४५ मेगावाटमा सीमित भएको छ। पिक डिमाण्ड साँझ ७ बजे रेकर्ड गरिएको हो।
सामान्य समयमा एक हजार दुई सयदेखि एक हजार तीनसय मेगावाटसम्म विद्युत माग हुने पिक आवरमा अहिले एक हजार मेगावाटभन्दा पनि कम विद्युत माग भइरहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए। मंगलबार बेलुकाको पिक आवरमा विद्युत माग ९४५ मेगावाट मात्रै भयो। बिहानको विद्युत माग त्योभन्दा कम छ।
मंगलबार राति विद्युत माग ४ सय ८३ मेगावाटसम्म झरेको थियो। बुधबार बिहान विद्युत माग अझै घटेर ४ सय ४६ मेगावाटसम्म पुगेको छ। मध्यान्ह १२ बजेको डिमाण्ड ६ सय २८ मेगावाट छ।
विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकाको विद्युतको माग पनि ह्वातै घटेको छ। लकडाउनभन्दा पहिले विद्युतको अधिकतम माग साढे तीन सय मेगावाटको हाराहारीमा रहेकोमा मंगलबार मुलुकभरको माग ९ सय ४५ मेगावाट हुँदा काठमाडौं उपत्यकाको विद्युत माग २ सय ९० मेगावाटमा सीमित भएको छ।
काठमाडौं उपत्यकामा मंगलबार विहान विद्युत माग १ सय ३ मेगावाट र राति १ सय १७ मेगावाट रेकर्ड गरिएको छ। बुधबार बिहान काठमाडौं उपत्यकाको विद्युतको माग १ सय ४ मेगावाट मध्याह्न १२ बजे १ सय ८२ मेगावाट पुगेको छ। लकडाउन हुनुभन्दा अघिनै धेरै मानिसले उपत्यका छोडेका कारण काठमाडौंमा विद्युतको माग अझ बढी घटेको हो।
अहिले विद्युत प्राधिकरणको ३६५ मेगावाट, निजी क्षेत्रबाट २४५ मेगावाट र भारतबाट ३३४ मेगावाट विद्युत आयात गरेर माग व्यवस्थापन गरिएको छ।
अहिले विद्युत आपूर्तिमा कुनै समस्या छैन। अत्यावश्यक सेवा भएकाले प्राधिकरणले नोलाइट र मर्मतका कर्मचारी २४ सै घण्टा स्ट्याण्डवाइ राखेको छ। माग घटेकाले लोड बढी भएर ट्रिपिङ हुने समस्या पनि आउँदैन। पहिला वितरण लाइन ओभरलोड भएर ट्रिपिङको समस्या आउने गरेको थियो।
अहिले हावाहुरीका कारण कतै पोल ढलेमा वा तार चुडिएमा मात्रै केही समयका लागि विद्युत आपूर्ति अवरुद्ध हुन सक्छ। त्यसका लागि पनि प्राधिकरणले सबै वितरण केन्द्रमा मर्मतको टिम उच्च तयारी अवस्थामा राखेको छ। अन्य कारणले यतिबेला विद्युत आपूर्ति अवरुद्ध नहुने अधिकारीले स्पष्ट पारे।
'इन्डक्सन ढुक्कसँग चलाउनुहोस्'
अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय र सेवा बन्द भएकाले अहिले घरायसी प्रयोजनका लागि मात्रै विद्युत् प्रयोग भइरहेकाले माग ‘ड्रास्टिकल्ली’ घटेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
‘उद्योग तथा कलकारखाना, व्यापारिक क्षेत्र बन्द भएको, विकास निर्माण ठप्प भएको र जाडो सकिएको तर गर्मी पनि सुरु नभएकोले लोड ह्वातै घटेको हो,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘लकडाउनको कारण घरायसी प्रयोजनका लागि ग्यासको अभाव भएमा इन्डक्सन चुलो लगायतका विद्युतीय उपकरण ढुक्कसँग चलाउनु होला, हामीसँग पर्याप्त विद्युत् उपलब्ध छ।’
विद्युतको माग घटेसँगै भारतबाट आयात हुने विद्युत्को परिणाम पनि घटेको छ भने कुलेखानी पनि चलाइएको छैन। घिसिङका अनुसार अहिले ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट मात्रै पिक समयमा करिब १ सय ५० मेगावाटसम्म विद्युत् ल्याइएको छ भने बिहीबार बेलुकाबाट ५० मेगावाट मात्रै ल्याइने छ। राति विद्युतको लोड ह्वात्तै घटेकाले प्राधिकरणका विद्युतगृह बन्द गर्नु पर्ने अवस्था आउन सक्ने घिसिङले बताए।
प्राधिकरणसँग पिकिङ रन अफ रिभर (अर्धजलाशययुक्त) आयोजना धेरै छन्। ती आयोजनालाई रातमा बन्द गरेर पिक समयमा मात्रै चलाउने घिसिङको योजना छ। पिक समयको माग पनि स्वदेशी विद्युतबाटै पूरा हुने भएकाले लकडाउन अवधिमा भारतबाट आयात गर्नुनपर्ने उनले बताए।