काठमाडौं : भर्चुअल शिक्षा र अनलाइन शिक्षाका लागि विद्यार्थीलाई निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउन माग गर्दै नेपाल विद्यार्थी संघले नेपाल टेलिकममा ज्ञापनपत्र बुझाएको छ।
आइतवार टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई नेविसंघका महामन्त्री वलदेव तिमल्सिना, दीपक भट्टराई, युवराज पाण्डे, उर्मिला थपलियासहितले ज्ञापनपत्र बुझाएको हो।
टेलिकमले आफ्नो सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको बजेट त्यसतर्फ खर्च गर्न अनुरोध गरिएको महामन्त्री तिमल्सिनाले बताए ।
महामन्त्री भट्टराईले विश्व स्वास्थ्य संगठनले कोरोनाको असर दुई वर्षसम्म पर्ने बताइसकेको र यसले नेपालको शिक्षामा पनि असर पार्ने भएकाले अनलाइन कक्षाको व्यवस्था गर्न विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउनुपर्ने बताए।
टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले निःशुल्क इन्टरनेट उपलब्ध गराउँदा टेलिकमको नेटवर्कमा असर पार्ने भएकाले न्यूनतम शुल्कमा उपलब्ध गराउने व्यवस्था गरिएको बताए। उनले नेटवर्क युटिलाइजेसनमा ब्यालेनस पनि हुने र अनावश्यक दबाव पनि नपर्ने गरी विहान ५ बजे देखि १० बजे सम्मका लागि सस्तोदरमा इन्टरनेट उपलब्ध गराइएको जानकारी दिए।
सामुदायिक विद्यालय तथा सरकारी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि शिक्षा मन्त्रालय एवं सञ्चार मन्त्रालयसँगको समन्वयनमा अझै केही सहुलियत दिने ठाउँ रहेको प्रबन्ध निर्देशक अधिकारीले बताएका थिए।
नेविसंघले आजै दुरसंचार सेवा प्रदायक हरुको नियमनकारी निकाय नेपाल दुर संचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई पनि इन्टरनेट सेवा निःशुल्क गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ।