जनकपुरधाम : कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न प्रदेश २ सरकारले जनकपुर र राजविराजको लागि २ वटा आरटी-पीसीआर मेसिन खरिद गरेको छ। मन्त्रिपरिषद्ले जनकपुर, वीरगंज र राजविराजमा परीक्षण ल्याब सञ्चालन गर्ने निर्णय गरे अनुसार आरटी-पीसीआर मेसिन खरिद गरेको हो।
जनकपुरस्थित पशुरोग अन्वेशण प्रयोगशालामा आरटी-पीसीआर मेसिन सञ्चालनमा ल्याइने छ भने राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको ल्याबमा अर्को सञ्चालन गरिने भएको छ। दुवै ठाउँको लागि मेसिन ल्याई जडानको काम समेत शुरु भइसकेको प्रादेशिक प्रयोगशालाका प्रमुख रामविनय साहले बताए। अगामी सोमवारदेखि दुवै मेसिन सञ्चालनमा आउने साहले जनाकारी दिए। उक्त मेसिनबाट ४ घण्टामा ९६ जनाको परीक्षण गर्न सकिने छ। वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा आरटी-पीसीआर मेसिन जडान भई यसअघि नै सञ्चालनमा आइसकेको छ।
त्यस्तै, प्रदेश सरकारले कोरोना भाइरसको उपचार तथा परीक्षणको कार्यलाई थप चुस्त बनाउन गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजलाई ल्याब सञ्चालन, जनशक्ति परिचालन तथा औषधि एवं अन्य सामग्री खरिदका लागि ५० लाख र वीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई पोषणयुक्त खाना र खाजाको व्यवस्थापनका लागि २५ लाख निकासा गरेको छ।
प्रदेश सरकारले नेपाली सेनाद्वारा सञ्चालन हुने गरी राजविराज र बारा जिल्लामा कम्तीमा ५ सय बेडको प्रादेशिक क्वारेन्टाइन निर्माण गर्न सेनाले उपलब्ध गराएको ‘इस्टिमेट’ अनुसार रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ। त्यसैगरी, वीरगंजमा विदेशबाट आउने नागरिकलाई राख्न ५ सय बेडको ‘होल्डिङ क्वारेन्टाइन’ समेत नेपाली सेनाले नै सञ्चालन गर्ने गरी आवश्यक रकमको व्यवस्था गरेको छ।
प्रदेश सरकारले कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि भइरहेको अवस्थामा स्थानीय स्तरमै कन्ट्याक्ट ट्रेसिङका लागि अभिमुखिकरण सञ्चालन गर्ने र विभिन्न जिल्लाको विभिन्न स्थानमा गई ‘केस इन्भेस्टिगेसन’ गर्न समेत आवश्यक बजेटको व्यवस्थापन गरेको छ।