काठमाडौं : नेपाली काँग्रेसका युवा नेता गगन थापाले आज संसदमा आफ्नो धारणा राख्न पाएनन्। देशको नयाँ नक्सा जारीपछि निशान छापमा उक्त नक्सालाई राख्न संविधान संशोधन प्रस्ताव गरिएको थियो।
उक्त प्रस्तावमा आज मतदान भयो र सर्वसम्मत पारित भयो पनि। मतदान अघि सांसदहरुले दफावार छलफलमा आफ्नो आफ्नो धारणा राखे।
तर, संसदमा प्रधानमन्त्रीलाई अच्छुअच्छु पार्ने काँग्रेसका सांसद गगन थापाले पनि धारणा राख्छन् भनी धेरैले पर्खे। उनी संसद शुरु हुने समयमै संसद भवन पुगेका थिए। यद्यपि उनले संसदमा आफ्नो धारणा राख्न पाएनन्।
धेरैले उनी बोल्न नपाएको कारण सोधे पनि सामाजिक सञ्जालमा। त्यसपछि थापाले सामाजिक सञ्जालबाटै त्यसको उत्तर फर्काएका छन्।
उमा रेग्मीदेखि, ज्ञानेन्द्र कार्कीसम्मले समय पाउँदा गगन थापालाई समय नदिएकोमा कतिपयले आपत्तिसमेत जनाएका छन्। संसदीय दलले नाम तोकेर दिएकै कारण आफूले बोल्न नपाएको असन्तुष्टि थापाले पोखेका छन्।
थापाले यसबारे सम्बोधन गर्दै लेखेका छन्, 'आज किन नबोलेको भनेर धेरै साथीले सोध्नुभएको छ। संविधान संशोधन जस्तो महत्त्वपूर्ण विषयको दफावार छलफलमा सभामुखले दललाई समय तोकेर दिने,दलले मान्छे तोकेर बोल्न दिने अनि बोल्न पाउँ भन्दा सभामुखले दल लाई भन्नुस भन्ने!! चलन यस्तै हो रे! यस्तै चलनले हो सांसदको भूमिका खुम्चिएको।'
आज किन नबोलेको भनेर धेरै साथीले सोध्नुभएको छ।
— Gagan Thapa (@thapagk) June 13, 2020
संविधान संशोधन जस्तो महत्त्वपूर्ण विषयको दफावार छलफलमा सभामुखले दललाई समय तोकेर दिने,दलले मान्छे तोकेर बोल्न दिने अनि बोल्न पाउँ भन्दा सभामुखले दल लाई भन्नुस भन्ने!! चलन यस्तै हो रे!
यस्तै चलनले हो सांसदको भूमिका खुम्चिएको।
थापाको आशय आफ्नै दलले आफूलाई बोल्न नदिएकोतर्फ इंगित थियो।