PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

भारतले नाकाबन्दी लगाउलान् कि भन्ने चिन्तामा पूर्वअर्थमन्त्री, बजेटमा सरकारले सांसदहरुलाई 'ब्ल्याकमेलिङ' गरेको झाँक्रीको आरोप



भारतले नाकाबन्दी लगाउलान् कि भन्ने चिन्तामा पूर्वअर्थमन्त्री, बजेटमा सरकारले सांसदहरुलाई 'ब्ल्याकमेलिङ' गरेको झाँक्रीको आरोप

काठमाडौं : सांसदहरुले कोभिड–१९ का कारण अर्थतन्त्रमा देखिएका संकेतहरुले कुनैपनि बेला गम्भीर संकट देखा पर्ने खतरा रहेको बताएका छन्।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको मंगलबारको बैठकमा सांसदहरुले खर्च र आम्दानीमा देखिएको फरकले अर्थतन्त्रलाई गम्भीर अवस्थामा धकेल्दै लगेको बताएका हुन्।

सांसदहरुले भारतले नाकाबन्दी लगाउला कि भनेर शंका पनि गरेका छन्। कुनै पनि समय भारतले आपूर्ति बन्द गरेमा देशभित्रको आपूर्ति सञ्जाल बिग्रन सक्ने र अर्थतन्त्रमा थप संकट पर्ने उनीहरुको भनाइ छ।

पूर्वअर्थमन्त्री एवं कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भारतसँग सम्बन्ध बिग्रदै जाने र भारतले आपूर्ति नगरेमा देशको अर्थतन्त्रमा गम्भीर असर पर्ने र समग्र आपूर्ति प्रणाली नै बिग्रन सक्ने खतरा रहेको बताए।

उनले देशभित्रै उत्पादन भएको खाद्य वस्तुको आपूर्तिलाई सहजिकरण गर्नसमेत सरकार असफल बनेको टिप्पणी गरे। कार्कीले कोभिड-१९ का कारण परेको असरलाई कम गर्न रोजगारी र अर्थतन्त्रलाई जोगाउने विषयमा अर्थसमितिले गम्भीर छलफल गर्नुपर्ने बताए।

सांसद रामकुमारी झाँक्रीले सरकारले मन्त्रालयहरुको संख्या बढी राखेर खर्च बढाइराखेको बताइन्। उनले बजेट विनियोजनमा पनि सरकारले सांसदहरुलाई 'ब्ल्याकमेलिङ' गरेको आरोप लगाइन।

उनले मन्त्रालयहरुले बजेटमा विरोध हुन नदिन सांसदहरुको माग अनुसार सानो सानो आयोजनालाई समावेश गरेर बजेट विनियोजन गरिएको टिप्पणी गरिन्।

सांसद श्यामकुमार श्रेष्ठले देशभित्र रहेको सबै रूप र रंगको पुँजीलाई राजस्वको दायरामा ल्याएर सार्वजनिक गर्न दिनुपर्ने बताए। उनले काठमाडौंमा रहेका घरहरुको डाटा राख्ने र कर उठाउने विषयमा सरकारले ध्यान दिनुपर्ने बताए।

सांसद जयकुमार राईले अहिलेसम्म अर्थसमितिले दिएका कुनै पनि निर्देशनहरु सरकारले पालना नगरेकाले अबदेखि थप बलियो बन्दै सरकारलाई निर्देशन दिनुपर्नेमा जोड दिए। सांसदहरुले सरकारको खर्च उच्च हुने र आम्दानी कम हुने हुँदा अर्थतन्त्रमा दीर्घकालीन असर पर्नेतर्फ अहिले नै ध्यान दिनु पर्नेमा जोड दिएका छन्।

सांसदहरुले अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको मासिक खर्च ४० अर्ब र आम्दानी १५ अर्ब रहेको बताइसकेकाले यही अवस्था लामो समय रहे अर्थतन्त्रमा थप चुनौती देखा पर्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell