PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

नागरिकतामा उमेर सम्बन्धी कुनै समस्या छ? नयाँ ऐन लागूपछि एक वर्षसम्म सच्याउन पाइने



नागरिकतामा उमेर सम्बन्धी कुनै समस्या छ? नयाँ ऐन लागूपछि एक वर्षसम्म सच्याउन पाइने

काठमाडौँ : नागरिकतामा उमेर सम्बन्धी समस्या भएमा संघीय संसदमा विचाराधीन नागरिकता ऐन संशोधन विधेयक पारित भई कार्यान्वयनमा आएको एक वर्षसम्म सच्याउने सुविधा दिइने भएको छ।

अहिले नागरिकताका सानातिना त्रुटि सच्याउने सुविधा छ। नाम र थरका बीचका कुनै त्रुटि, शैक्षिक योग्यता र नागरिकता प्रमाणपत्रमा भएका हिज्जेलाई एकरूपता प्रदान गर्ने जस्ता त्रुटि सच्याउने सुविधा अहिले पनि छ। तर, उमेर सच्याउने छुट भने पहिलोपटक दिन लागिएको हो।

सार्वजनिक पद धारण गरेका व्यक्तिका शैक्षिक योग्यता र नागरिकतामा भएका उमेरका व्यवस्था कतिपय अवस्थामा चर्चा समेत भइरहेका छन्।

के हुँदैछ?

हालको नागरिकता ऐनको दफा १७ मा सानातिना त्रुटि सच्याउन पाइने भने व्यवस्था छ।

सरकारले सो व्यवस्था नागरिकता पाएको एक वर्षभित्र सच्याउन मिल्ने त्यसपछि नमिल्ने गरी नयाँ व्यवस्था प्रस्ताव गरेको थियो। मूल ऐनको व्यवस्था भने त्रुटि सच्याउन कुनै समय तोकिएको थिएन। सरकारले ल्याएको विधेयकमा उमेर सच्याउन चाहने व्यक्तिलाई नागरिकता जारी भएको एक वर्षसम्मको समय दिने व्यवस्था प्रस्तावित थियो।

समितिले सरकारको प्रस्तावसँगै विचाराधीन विधेयक पारितपछि कार्यान्वयन हुनुअघि जारी नागरिकता प्रमाणपत्रमा समेत उमेर सच्याउने सुविधा दिएको हो।

मंगलबार प्रतिनिधिसभामा पेस भएको प्रतिवेदनमा भनिएको छ, ‘उमेर सच्याउन चाहने व्यक्तिले नागरिकताको प्रमाणपत्र जारी भएको एक वर्षभित्र एक पटकको लागि र अन्य विवरण सच्याउन चाहने व्यक्तिले एक पटकको लागि सम्बन्धित अधिकारी समक्ष निवेदन दिनु पर्नेछ। तर यो उपदफा प्रारम्भ हुनुअघि लिएको नागरिकताको हकमा त्यसरी उमेर सच्याउनु पर्ने भएमा यो उपदफा प्रारम्भ भएको मितिले एक वर्षभित्र एक पटकको लागि त्यस्तो निवेदन दिन सक्नेछ।’

यस्तै, विवाह भएकी वा सम्बन्धविच्छेद भएकी महिलाले चाहेमा बाबु वा आमाको ठेगाना र थर प्रयोग गर्न दिने व्यवस्था पनि प्रतिवेदनले गरेको छ। यस्तो सुविधा पनि एक पटकका लागिमात्र प्राप्त हुनेछ। यस्तो सुविधा प्रदान गर्दा पुरानो नागरिकता भने रद्द हुनेछ।

‘थर फेर्न सकिने, पहिचान नभएको हट्ने’

हाल जारी भएका नागरिकतामा लैङ्गिक पहिचान फेर्न चाहेमा पनि फेरबदलको सुविधा दिने प्रतिवेदनमा उल्लेख छ।

यस्तै हाल नागरिकता लिइसकेका व्यक्तिले समेत हालको प्रमाणपत्रमा रहेको आफ्नो जात जनाउने थरको सट्टा समुदायभित्रको थर राख्न चाहेमा एक पटकका लागि उक्त सुविधा दिने व्यवस्था पनि विधेयकको प्रतिवेदनमा गरिएको छ। अघिल्लो नागरिकता प्रमाणपत्र रद्द गरेर यस्तो अवस्थामा पनि आवश्यक जाँचबुझसहित नयाँ प्रमाणपत्र दिन सकिने व्यवस्था गरिएको छ।

हाल जारी भइसकेका नागरिकतामा कुनै व्यक्तिको बाबुको पहिचान नभएको उल्लेख भएको अवस्थामा उक्त व्यवस्था फेर्न सक्ने सुविधा पनि दिने प्रतिवेदनमा उल्लेख छ। बाबु पहिचान नभएको स्थान रद्द गरी बाबुको नाम खाली राखेर मात्र परिचयपत्र दिन मिल्ने व्यवस्था गरिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell