भक्तपुर : भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १ अर्ब ८२ करोड ४० लाख रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाकी उपप्रमुख रजनी जोशीले सातौं नगरसभाको अधिवेशनमा बजेट प्रस्तुत गरेकी हुन्।
नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा बिक्रीसमेत १ अर्ब ८२ करोड ४० लाखको बजेट पेश गरिएको हो ।
विनियोजित बजेटको चालु खर्चतर्फ रु. ३९ करोड ८९ लाख ७६ हजार रुपैयाँ र पुँजीगततर्फ रु. ७९ करोड ७३ लाख ११ हजार विनियोजन गरेको छ ।
कोभिड १९ रोगको महामारीको विषम परिस्थितिका कारण यो वर्ष ठूलो आकारको बजेट खर्च हुने र बहुवर्षीय योजनाहरूभन्दा एकै वर्षमा सम्पन्न हुने र छिटो प्रतिफल प्राप्त गर्न सकिने नयाँ योजनाहरूलाई प्राथमिकता क्रममा राखिएको नगरपालिकाको बजेट वक्तव्यमा उल्लेख छ।
बजेट वक्तव्यमा नगरपालिकाका जनप्रतिनिधिहरुले यो आर्थिक वर्षमा नगरपालिकाको खर्चमा विदेश भ्रमण नगर्ने र देशभित्रका विभिन्न जिल्लामा भ्रमण गरिँदाको भ्रमण भत्ता तथा समितिको बैठक भत्ता आधा आधा घटाउने उल्लेख छ। साथै नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई चालू आर्थिक वर्षसम्म दिइँदै आएको खाजा भत्ता र पोशाक भत्ताबापतको रकम वर्तमान संवेदनशील अवस्थालाई मध्यनजर गरी नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नगरपालिका एकाइ समितिको तर्फबाट यो वर्ष नलिने उल्लेख छ।
वडास्तरका योजनाहरू सञ्चालन गर्न विगत वर्षझैं यो वर्ष पनि रु. ५० लाखका दरले जम्मा रु. ५ करोड रुपैयाँ र सडक बोर्डअन्तर्गतका योजनाहरू सञ्चालन गर्न रु. १ करोड रुपैयाँ विनियोजन गरिएको छ।
साथै नगरपालिकाले सञ्चालन गर्ने ख्वप एफएम र ख्वप टेलिभिजनको रेकर्डिङ स्टुडियो निर्माणको लागि रु. ५० लाख रुपैयाँ, खानेपानी फिल्ट्रेसन तथा पाइप सुधार कार्य, खेला तथा घाट सुधार, पर्ती जग्गा संरक्षण तथा सीमांकन, सडक बत्ती जडान तथा मर्मत, माटो परीक्षण तथा सम्भाव्यता अध्ययनको लागि रु. १ करोड ५४ लाख २१ हजार रुपैयाँ र भक्तपुरको कला संस्कृति, इतिहासलगायतका विषयमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसीपसँगै अध्ययन अनुसन्धानको लागि अनुदान र विश्वविद्यालय तहमा इतिहास, भूगोल, नेपालभाषा, संस्कृति पढ्ने विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गर्ने बजेटमा उल्लेख छ।
भक्तपुर नगरपालिकाले शैक्षिक ऋण वितरणको लागि रु. ३ करोड, पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीहरूलाई मोहडाका लागि इँटा र काठमा लाग्ने खर्च र झिंगटी छाना निर्माणमा लाग्ने कूल लागत रकमको ३५ प्रतिशत अनुदान दिने कार्यलाई निरन्तरता दिएको छ ।