काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सीमा नाका खुला गरिएको कारण मुलुकमा कोभिड-१९ संक्रमण संख्या उकालो लागेको बताएका छन्।
सीमा नाका खुला भएका कारण आँकलन गरिएका भन्दा बढी मानिस भित्रँदा क्वारेन्टाइन व्यवस्थापनमा चुनौती सिर्जना भएको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराइले बताएका हुन्।
'क्वारेन्टाइन व्यवस्थापन जुन ढंगले गर्नुपर्थ्यो त्यसमा हामी चुकेका छौँ। केहि समस्या छन्। क्वारेन्टाइनको व्यवस्थापन नहुँदा संक्रमण संख्या उकालो लागेको छ,' उनले भने।
दक्षिण तर्फका नाका खुला रहेको कारण कोभिड-१९ संक्रमण बढेको उल्लेख गर्दै मन्त्री भट्टराईले भने, 'सहजै मानिसहरुको आउजाउ सहज भयो। दक्षिण एसियाको तुलनामा हामीले अपनाएको विधी उपयुक्त छन् र सफलता पनि । खुला सिमाका कारण र आँकलन गरेको भन्दा धेरै मानिस प्रवेश भएका कारण क्वारेन्टाइन अव्यवस्थित भएको हो।'
स्वदेश फर्कने नेपाली छैनन् होटल क्वारेन्टाइनमा
स्वदेश फर्कने नेपालीका लागि सरकारको होटल क्वारेनटाइन संचालनको घोषणा पनि तुहिएको अवस्थामा छ। क्वारेन्टाइन संचालनका लागि खर्च गरेका व्यवसायी यतिखेर अन्यौलमा रहेको बताउँछन्। पीसीआर र आरटिडी परिक्षण गरेर आएका नागरिकले सेल्फ क्वारेन्टाइद्दमा बस्न सक्ने प्रावधान लागू भएपछि यतिखेर होटल क्वारेन्टाइन मात्र नभइ गाउँपालिका स्थानियमा रहेका क्वारन्टाइनमा पनि कम मानिस बस्दै आएका छन्।