PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

नेकपाका नेताहरु बालुवाटारमा सहमति खोज्दै, भारतीय मिडिया भने ओली सरकारको दिन गन्दै



नेकपाका नेताहरु बालुवाटारमा सहमति खोज्दै, भारतीय मिडिया भने ओली सरकारको दिन गन्दै

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक किचलो बढ्दै गएको छ। देशको कार्यकारी प्रमुखको निवास बालुवाटार अहिले सत्ता बार्गेनिङको केन्द्र भएको छ।

पार्टीभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएपछि बालुवाटार सत्ता जोगाउन लागिपरेको छ।  पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह भने ओलीलाई राजीनामा दिनेबाहेक अरु विकल्प दिन तयार देखिँदैन।

नेकपाको विवादले देशभर फैलिरहेको कोरोना संक्रमणलाई छायामा पारेको छ। चर्चा छ त नेकपाको भविष्यको।

देशमा चर्चा हुनु स्वभाविक हो। तर नेपालको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओली र नेकपा विवादको चर्चा अहिले भारतीय मिडियाहरुमा असामान्य तरिकाले भइरहेको छ।

नेपालले लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरेदेखि नै भारतीय मिडियाले मसला पाउँदै आएका थिए। नेपालले भारतलाई धोका दिएको देखि चीन परस्त भएको आरोप लगाउँदै उनीहरुले समाचार प्रकाशन गरे। यसबीच अनेकौं प्रोपागान्डा भारतीय मिडियामा प्रस्तुत भए। जसबाट नेपालीहरु समेत प्रभावित भए।

केहीदिन यता भने भारतीय मिडियमा केपी शर्मा ओलीको सत्ता बार्गेनिङको चर्चा छ। नेपालमा सत्तारुढ दल सहमति खोज्दै गर्दा भारतीय मिडियाहरु भने दुवै दलबीच सहमति नहुने निष्कर्षसहित समाचार सम्प्रेषण गरिरहेका छन्।

नेकपाभित्रको आन्तरिक द्वन्द्वलाई उनीहरुले आफू अनुकुल प्रस्तुत गरिरहेका छन्। र नेपालमा त्यसको प्रभाव सामाजिक संजालदेखि प्रधानमन्त्रीको अभिव्यक्तिसम्म देखियो।

पार्टीभित्र बोलेको कुरा दिल्ली र भारतीय मिडियाहरुमा हुबहु आएको भन्दै ओलीले भन्दै गर्द यहाँ भारतीय मिडियाको प्रोपागान्डको सिकार नेपाली जनता नहुने त कुरै भएन।

न कुनै आधार, न कुनै तथ्य आफ्नै पार्टीको बहुमत हुँदा आफूलाई भारतले हटाउन चाहेको अभिव्यक्ति दिएका ओलीको दिनगन्ती सुरु गरिरहेका छन् भारतीय मिडियाले।

केहीदिन यता भारतीय मिडियाहरुले प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्ने समाचार सम्प्रेषण गरिरहेका छन्।

सोमवार भने भारतीय मिडियाहरुले प्रधानमन्त्री ओलीको सत्ताको फैसला हुने दिनको रुपमा प्रस्तुत गरिरहेका छन्।

भारतमा कोरोना संक्रमण फैलिरहेको र अर्थव्यवस्था चौपट भएको अवस्थाको रिपोर्टिङ छाडेर भारतीय मिडिया नेपालमा कोरोना संक्रमण नियन्त्रण गर्न असफल भएको भन्दै ओली सरकारलाई निशाना बनाइरहेको छ।

जी न्यूजले आज दिउँसो ४ बजेसम्म ओलीले राजीनामा दिन सक्ने भन्दै  रिपोर्ट प्रसारण गरेको छ। ‘एक्सक्लुसिभ’ भनिएको उक्त रिपोर्टमा  नेकपालाई फुटाएर ओलीले नयाँ पार्टी घोषणा गर्न सक्ने बताइएको छ। 

ओलीले नेपाली काँग्रेस र अरु दलसँग मिलेर सरकार बनाउन सक्ने र त्यसमा चीनको सहयोग रहेको दाबी गरिएको छ।

यता भास्करले पनि ओलीको सियासतको फैसला आज हुने भन्दै समाचार प्रकाशन गरेको छ। ओली आज प्रधानमन्त्रीबाट हट्छन् वा रहन्छन् भन्दै रिपोर्टमा हाल ओली र प्रचण्डबीच वार्ता भइरहेको उल्लेख गरिएको छ।

टाइम्स नाउ न्यूजले पनि ओली सरकारको भविष्यको फैसला आज हुने उल्लेख गरेको छ।

प्रधानमन्त्री ओलीले शनिवार मन्त्री र राज्य मन्त्रीहरुलाई बोलाएर कसको पक्षमा उभिने हो तय गर्न भनेका थिए। ओलीले मन्त्रीहरुलाई एक दुई दिनको समय दिने बताएका थिए। निर्णय गर्न दिएको  दुई दिन आज बित्दै गर्दा ओलीले केही निर्णय लिन सक्ने भारतीय मिडियाहरुको दाबी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell