काठमाडौं: काठमाडौं उपत्यकामा समुदायस्तरमा संक्रमण फैलिए नफैलिएकोबारे पत्ता लगाउन सरकारले विभिन्न १० ठाउँको नमुना संकलन गरी परीक्षण गरिरहेको छ। त्यसमध्ये नख्खु र तीनकुनेको नतिजा आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यी दुई ठाउँका २ सय २८ जनाको स्वाब संकलन गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।
'काठमाडौं उपत्यकाको समुदायमा कोभिड १९ फैलिएको छ वा छैन भनी विभिन्न १० ठाउँबाट स्वाब लिइ परीक्षण गर्ने क्रममा तीनकुने र नख्खुमा २ सय २८ जनाको स्वाब संकलन गरिएको थियो। सबैको नतिजा नेगेटिभ आएको छ, ' उनले भने। आइतवार मन्त्रालयले काठमाडौं उपत्यकाको ढलमा कोरोना भाइरस भेटिएको भन्नेबारे खण्डन गरेको थियो।
मन्त्रालयले ढलमा भेटिएको कोरोना भाइरसका टुक्राटाक्रीले मानिसमा कोरोना सार्न नसक्ने बताएको थियो। ढलमा भेटिएको भन्ने अध्ययन आधिकारिक नभएको भन्दै मन्त्रालयले समुदायमा संक्रमण फैलिएको भन्न नमिल्ने दावी गरेको थियो। पछिल्लो समय विभिन्न ठाउँमा ट्राभल हिष्ट्री नभएकामा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेपछि समुदायमा व्यापाक रुपमा संक्रमण फैलिएको बारे आशंका व्यक्त भइरहेका छन्। तर सरकारले भने अहिलेसम्म समुदायसम्म कोरोना भाइरस नफैलिएको दावी गर्दै आएको छ। नेपालमा हालसम्म देखिएको अधिकांश संक्रमित भारत तथा खाडीमुलकबाट आएका नेपाली छन्।