PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

उपमहानगरको मूल ढोकामा युवाहरुले यसरी थुपारे फोहोर



सुमित मिश्र

उपमहानगरको मूल ढोकामा युवाहरुले यसरी थुपारे फोहोर

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाले नगरको सफाईमा ध्यान नदिएको आरोप लगाउँदै युवाहरुले नगरको फोहोर उठाएर उपमहानगरको मूल ढोकामा थुपारेका छन्।

विगत एक महिनादेखि फोहोर नउठ्दा नगर नै दुर्गन्धित हुन थालेपछि युवाहरुले नगरभित्रको फोहोरको डंगुरहरु उठाएर उपमहानगरको मूल ढोकामा थुपारेका हुन्। युवाहरुले जनकपुरधामको रामानन्द चोक, जानकी चोक, जानकी मन्दिर, राजदेवी मन्दिरलगायतको स्थानबाट फोहोर जम्मा गरी ट्रैक्टरमा राखेर उपमहानगरको मूल ढोकामा थुपारेका थिए।

फोहोर जम्मा गरेर उपमहानगरको मूल ढोकामा थुपार्न पुगेका युवाहरुले जनकपुरधाम उपमहानगरपालिकाको `प्रमुख उपप्रमुख मुर्दावाद, भ्रष्ट मेयर मुर्दावाद, उपप्रमुख गैर जिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता ले´ लगायतका नारासमेत लगाएका थिए। केही दिन अगाडिमात्रै जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता मिश्रले एक टेलिभिजनमा जनकपुरधामकै स्थानीय फोहोर फाल्न नदिएको र केही व्यक्ति नगरपालिकालाई असफल बनाउने प्रयास गरिरहेको अभिव्यक्ति दिएकी थिइन्।

फोहोरको डंगुरसहित पुगेका युवा अभियन्ता शोभाकान्त पाण्डे (गुड्डु)ले उपमहानगरले फोहोर व्यवस्थापनको नाउँमा प्रत्येक वर्ष करोडौँको रकम खर्चने गरेको छ तर नगर अहिले पनि सफा हुन नसक्नु दुःखद रहेको बताए। उनले फोहोर सफा गर्ने नाममा खर्च गरिएको बजेट कहाँ जान्छ भनी प्रश्न गरे। उनले भने, ‘नगरको जनप्रतिनिधिहरु नेतृत्वमा पुगेको ४ वर्ष पुग्न लागेको छ तर अहिलेसम्म लैण्ड फिल्ड साइटको निक्र्यौल लगाउन नसक्नु उपमहानगरको असक्षमता देखाई रहेको छ।’ उपमहानगरलाई घच्घचाउन आफूहरु फोहोरको डंगुर उपमहानगरको मूल ढोकामा थुपार्न बाध्य भएको पाण्डेले बताए।

अर्का अभियन्ता सुशील कर्णले आफै फोहोर सफाईमा ध्यान नदिन सक्ने उपप्रमुखले जनकपुरधामको स्थानीयलाई बदनाम बनाउने प्रकारको अभिव्यक्ति दिनु निन्दनीय रहेको बताए। उनले उपप्रमुख रिता मिश्रलाई आफ्नो अभिव्यक्ति फिर्ता लिनसमेत माग गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell