PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

रञ्जनलाई जेल मुक्त गर्ने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दर्ता



रञ्जनलाई जेल मुक्त गर्ने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दर्ता

काठमाडौं : श्रीमतीको हत्या गरेको अभियोगमा ८ वर्ष जेल बसेर बिहीबार रिहा भएका रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै निवेदन दर्ता भएको छ।

महान्यायधिवक्ता कार्यालयमा छलफलपछि सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दर्ता गरिएको हो।

रञ्जनलाई श्रीमती गीता ढकाल (कोइराला) को हत्या गरेको अभियोगमा २०६८ माघ ८ गते प्रहरीले पक्राउ गरेको थियो। नौबिसेतिरबाट काठमाडौंतर्फ बा ८ च ५४०८ नम्बरको कार आउँदै गर्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। प्रमाण नष्ट गरेर फर्किँदा उनलाई पक्राउ गरिएको थियो।

घटनाको प्रकृति, प्राप्त प्रमाण लगायत प्रहरीको अनुसन्धानलाई हेरेर जिल्ला अदालत काठमाडौंले २०७१ वैशाख ७ गते कोइरालाई सर्वश्वसहित जन्मकैद सुनाएको थियो। अदालतको फैसलामा चित्त नबुझेपछि रञ्जन उच्च अदालत पाटन (तत्कालीन पुनरावेदन) पुगेका थिए। २०७२ मंसिर २३ गते पुनरावेदन अदालतले जिल्लाकै फैसलालाई सदर गरेको थियो। 

तर, सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले उनको सजाय घटाएर ८ वर्ष ६ महिना तोकेको थियो। सर्वोच्चले पनि पुनरावेदन र जिल्लाकै निर्णय सदर गरेको भए रञ्जनले २० वर्ष जेल सजाय भुक्तान गर्नुपर्थ्यो। तर, अदालतले कोइरालाको साढे ११ वर्ष कैद मिनाहा गरिदियो। बिहीबार कोइराला सर्वोच्चले तोकेको कैद सजाय भुक्तान गरेर डिल्लीबजार सदरखोरबाट जेलमुक्त भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell