काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले न्पाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सहमतिमै टुंगिने बताएका छन्। एकता महाविधेशन पनि सहमतिकै आधारमा हुने प्रधानमन्त्री ओलीको दाबी छ। पार्टी विवाद मिलाउन गठित कार्यदलको सुझाव अनुसार सरकार परिवर्तन आवश्यकताका आधारमा हुने संकेत पनि ओली गरेका छन्। कार्यशैली, सरकारको प्रभावकारिता र केही राजनीतिक फ्याक्टरले मन्त्रिपरिषद् हेरफेर हुन सामान्य भएको उनको भनाइ छ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’सँग कुरा गर्दै ओलीले अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकालबारे भविष्यवाणी नगर्न पनि आग्रह गरे।
‘मन्त्रिपरिषद्मा हेरफेरेको कुरा भनेको स्थिरता र स्थायित्वको प्रश्न होइन। प्रधानमन्त्रीलाई आफूले यस कार्यकालमा दिने परिणाम कसरी प्रभावकारी हुन सक्छन् त्यसलाई जाँच्ने हो। यदि मेरो नजरमा अर्थमन्त्री युवराजभन्दा अर्को अर्थमन्त्री राम्रो गर्ला भन्ने जिम्मा दिन सकिन्छ। युवराजबाटै राम्रो हुन्छ भने त्यही गर्न सकिन्छ। राजनीतिमा अन्य कारणले पनि काम गर्न सक्छन्’, प्रधानमन्त्री ओलीले थपे, ‘दुई चार दिन हेरौँ न २० गते त आउन लाग्यो। अहिले भविष्यवाणी गर्नु उपयुक्त हुन्न। उहाँले राम्रो काम गर्नुभएको छ। कार्यशैली त कसको के हुन्छ कसको के हुन्छ।’
मन्त्रिपरिषद पुनर्गठनमा विचार गर्दैछु हुँदैछ भन्दै उनले भने, 'प्रधानमन्त्रीले विचार गर्ने कुरा हो। म विचार गर्दैछु। नयाँ ल्याउने कि पुरानैलाई गतिशील बनाउने भन्ने बारेमा विचार गरिराछु।' ओलीले आफू मुख्यमन्त्री फेरेर अस्थिरता निम्त्याउने पक्षमा नरहेको समेत बताए।
आफू कमेन्ट हेरेर काम गर्ने व्यक्ति नभएको बताउँदै उनले बामदेव गौतम स्वयमले राष्ट्रियसभामा जान्न भनेपछि उक्त च्याप्टर क्लोज भइसकेको बताए।
दैनिक २३ हजार परीक्षण?
प्रधानमन्त्रीले कोरोना संक्रमितको शतप्रतिशत पीसीआर परीक्षण र खर्च पारदर्शिता माग गर्दै सुरु भएको इनफ इज इनफ अभियानको पनि आलोचना गरे। स्थानीय सरकारलाई अख्तियारी दिएको रकम जिउमा बेसार दलेर हिँड्नेले नपाउने पनि ओलीले कटाक्ष गरे।
उनले भने, ‘कोभिड १९ अब पुग्यो फिर्ता जा भन्या कि के हो इनफ इज इनफ भनेको? सरकारले रकम तल पठाएको छ खै भन्ने? जिउमा बेसार दलेर हिड्नेले त पाउने कुरा हैन।’
कोरोना नियन्त्रणका लागि सरकारले गरेका राम्रा कामको मूल्याङ्कन नै नभएको ओलीको आक्रोश छ।
‘सेना, प्रहरी संक्रमण रोक्न खटिएका छन्। घाम पानी नभनी उभिएका छन्। जोखिम मोलेर उभिएका छन्। त्यो काम देख्न पर्दैन। अनि सरकारले केही गरेन भन्ने? सरकार भनेको के हो?’, प्रश्न गर्दै ओलीले भने, ‘२३ हजार टेस्ट हुन्छ दिनमा। पोजिटिभ पाइए फेरि टेस्टिङ हुन्छ। थप नफैलियोस् भनेर टे«सिङ हुन्छ। यस्ता विधि हामीले अपनाएका छौँ यो काम सरकारको हैन।’
तर, हालसम्म सरकारले दैनिक २३ हजार परीक्षण गरेको छैन। सरकारी तथ्याङ्क अनुसार औसतमा दैनिक १३* हजारको आँकडा समेत परीक्षणले छुन सकेको छैन।
‘कुनै ज्योतिषीले भविष्यवाणी गरेका थिएनन्’
प्रधानमन्त्रीले कोरोनाको बारेमा पूर्वतयारी नभएको भन्ने आलोचनाको पनि कटाक्ष गरे। विश्वले अकल्पनीय रुपमा कोरोना महामारी फेस गरेको भन्दै ओलीले ज्योतिषी, वैज्ञानिक कसैले पनि भविष्यवाणी नगरेको टिप्पणी समेत गरे।
‘ज्योतिष, वैज्ञानिक कसैले पनि भविष्यवाणी गरेका थिएनन्। बिना तयारी नै कोभिड आइलाग्यो। कहीँ कतै पनि पूर्वतयारी थिएन। अचनक आयो। आतंकका रुपमा फैलियो। के म प्रधानमन्त्री नभएर अरु कोही भएको भए दुई तीन वर्ष अघिदेखि कोभिडको तयारी गर्नुहुन्थ्यो? आइसोलेसन बन्थे? क्वारेन्टाइन बन्थे? यस प्रकारका आलोचनको कुनै अर्थ र्छैन।’
सचेतनाको कमी हुँदा कोरोना संक्रमण फैलियो
प्रधानमन्त्री ओलीले आफूहरुले निकै लामो समयसम्म कोरोना संक्रमण रोके पनि असफल भएको बताएका छन्।
आफूहरुको उद्देश्य कसैलाई पनि संक्रमित हुन नदिने रहेको भन्दै ओलीले भने ‘दुनियाँ लाखौं मृत्यु हुँदा हामीले एकजना मर्न दिएका थिएनौं। जो संक्रमित आयो त्यसैमा सिमित गरेका थियौं।’
पछिल्लो पटक संक्रमणको अवस्था नियन्त्रण बाहिर जानुमा भने जनताको समेत दोष रहेको उनले बताए।
भने, ‘जनतामा सचेतनाको कमी र अरु कारणले समुदायमा संक्रमण फैलिने अवस्था आयो।’
सरकारले कोरोना नियन्त्रणमा पूर्व तयारी नगरेको भन्ने विषयमा ओलीले आफूहरुले सक्दो प्रयास गरेको दाबी गरे।
‘हस्पिटल कति बनाउने। कति किन्ने कति बनाउने। भेन्टिलेटर कति प्रतिशत बनाउने। कतिलाई संक्रमण हुन्छ त्यो थाहा हुने कुरै थिएन। हामीले संक्रमण नै हुनै दिँदैनौं भनेको थियौं। तर पछि त्यसलाई नियन्त्रण गर्न सकेनौं।’
अरुले चकलेट बनाए हाम्रोमा मजाक
प्रधानमन्त्रीले आफूले कोरोना संक्रमणबाट बच्न बेसार र तातो पानी खान दिएको सुझावको बचाउ समेत गरे। आफूले अहिलेको महामारीसँग जुध्न र रोग प्रतिरोधात्मक क्षमता विकास गर्न नेपाली भान्सामा प्रयोग हुँदै आएको औषधियुक्त गुण युक्त खाने कुरा खानुपर्छ भन्नेमा जोड दिँदा त्यसलाई मजाकको विषय बनाइएको उनले
‘बेसार तातो खान आग्रह गर्दा केहीलाई मजाकको विषय बनाए। अरु देशले चकलेटमा बेसरमा हालेर बेसार चकलेट बनाएको छ। दूधमा बेसार मिसाएर बेचिरहेको छ। युरोपमा मात्र नभइ संसारले बेसारको महत्व बुझेको छ। बेसारको अभाव छ विश्व भरी।’ उनले भने।
बेसार स्वाद दिने मसलामात्रै नभएको भन्दै ओलीले निरक्षर समाजमा समेत बेसारलाई खाने कुरामा नजर नलागोस् भनेर प्रयोग गरिने गरिएको दाबी गरे।
उनले भने, ‘केहीलाई त मजाक भएको छ। नर्वेले दूधमा बसेर हालेर खान थालेको छ। कतिपय देशले चकलेट बनाएका छन्। बेसार सर्टेज भएको छ। अमेरिकाले चाहेजति पाएको छैन। एसिया र ल्याटिन अमेरिकाबाट ल्याउने खोजे पनि चाहेजति पाएको छैन। बेसारले बासना र स्वादमा परिवर्तन गर्नेमात्र हैन। अज्ञानतमा भएको बेलामा पनि मानिसको नजर नलागोस् भनेर बेसार हालिन्थ्यो। मान्छेको नजर त लाग्न सक्दैन भने त्यहाँ किटाणुको के कुरा?
चित्त बुझाउन नक्सा छापेको होइन
प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा चित्त बुझाउन मात्रे नबनाएको बताए। ऐतिहासिक तथ्य र प्रमाणको आधारमा कालापानी,लिपुलेक र लिम्पियाधुरा नेपालकै रहेको भन्दै त्यो जमिन भारतले फिर्ता नै गर्नुपर्ने उनले बताए।
सीमा विवादबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्ने भन्दै भने, ‘भारतले फिर्ता गर्नुपर्छ। गर्छ। चित्त बुझाउन, देखाउनमात्रै नक्सा बनाएको होइन। त्यो नक्सा सत्य हो। त्यो तथ्यमा आधारित छ। त्यो भारतले स्वीकार्नु पर्छ। तथ्यप्रमाण राखेर नक्सा अगाडि राखेर छलफल गर्छौं। भारतले जिद्धि नगर्ने हो भनेर ऐतिहासिक तथ्य काफी छ।’
ओलीले नक्सा निकालेर भारतसँग निहुँ खोजेको भन्ने कुरा गलत रहेको बताए।
‘छिमेकी राष्ट्र प्रति निहुँ खोजेको होइन। नचाहिने विषय निकालेको होइन। अगाडी देखि नै यो विषय थियो। चर्चा भइरहेको थियो। भारतले हाम्रो जमिन समेत समेटेर नक्सा निकालेपछि हामीले नोट पठायौं। पाँच महिना त्यसको जवाफ आएन। आयो त बाटो उद्घाटनको काम भयो। हामीले त्यसको विरोध गर्यौं । संवादबाट समाधान गर्न खोज्यौं। नक्सा छाप्न हतार गरेका थिएनौं। तर उताबाट जवाफ आएन हामीले नक्सा निकाल्यौं।’
नक्सा निकालेर भारत सँग निहुँ खोजेको भन्ने हरुलाई उनले प्रश्ने गरे, ‘के गर्नुपथ्यो त रु छोडिदिनुपर्ने थियो ?’
चीन र एमसीसी
ओलीले चीनले नेपालको राजनीतिमा हस्तक्षेप नगरेको बताए। राजदूतले नेताहरुलाई भेट्नु सामान्य रहेको भन्दै उनले भने, ‘ चीनको हस्तक्षेप छैन। राजदूतले नेतालाई भन्न बित्तिकै हस्तक्षेप हुन्छ ? अरु देशको राजदूत ले भेट्दा केही छैन। हामीले मित्र राष्ट्रसँग मिलेर आयोजनाहरु संचालन गरिरहेका छौं। राजदूतले आएर भेट्नु सामान्य हो।’
ओलीले एमसीसी सम्झौता आफ्नो सरकारले नगरेको तर सबै आफूहरुले मात्रै गरेको जस्तै गरी प्रस्तुत गरिएको बताए।
यसबारेमा सोधिएको प्रश्न बारेमा बहस पछि गरौंला भन्दै ओलीले भने ‘जसले एमससी ल्यायो त्यसालाई बिर्सेर अहिलेको सरकारले नै ल्याएको भन्दै विरोध भयो। सम्झौतामा प्रावधान नै नभएको कुरा चर्चामा ल्याइयो। यो सबै हास्यास्पद कुरा हो। तथ्य पूण ढंगले देशहितमा काम गर्ने हो। ’
भ्रष्टचार सहिन्न
ओलीले भ्रष्टाचारको कुनैपनि घटनालाई सरकारले नसहने बताए। हाल भ्रष्टचार गरेको भन्ने कुरा हरु हल्लाको कुरा भएको भन्दै उनले भ्रष्टचारको चर्चा हुने बित्तिकै अख्तियारलाई कारवाही गर भनेको निर्देशन दिएको बताए।
कोरोना नियन्त्रणमा सरकारले गरेको खर्चको माग भइरहेको बारेमा उनले सरकारले सबै खर्चको रेकर्ड राखेको र सार्वजनिक हुने बताए।
‘काम भर्खरै हुँदैछ। देशमा लेखा प्रणाली छ। जहिले हिसाव मात्रै गर्ने होइन नि। लेखा छदैछैन। भ्रष्टाचार छदैछैन भनेर म भन्दिन। तर जहाँ देखिन्छ त्यसलाई नियन्त्रण गरिन्छ।’
सम्धी प्रकरणमा पोखरेलको बचाउ
ओलीले सम्धी प्रकरणमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको बचाउ गरेका छन्। प्रतिस्पर्धा गरेर आएको व्यक्तिसँगको सम्बन्धलाई नेतासँग जोड्नु गलत भएको उनले बताए।
सम्धीलाई राष्ट्रिय वाणिज्य बैंकमा नियुक्त गरेको भन्दै उपप्रम पोखरेलको आलोचना भइरहेको बेला प्रधानमन्त्री ओलीले भने, ‘सम्धी हुनु भन्दा पहिला नै पीएचडी गरेको, भिसी हुन गएको व्यक्ति हो। सम्धी पछि भए। प्रतिस्पर्धा गरेर आएका होलान। ईश्वर पोखरेलसँग किन जोडियो ?’
प्रेस स्वतन्त्रता बारे
ओलीले आफू र नेपाली प्रेस क्षेत्रको सम्बन्ध राम्रो भएको बताए। तर प्रेस स्वतन्त्रताको नाममा हाल भइरहेका केही क्रियाकलाप बारे उनले असन्तुष्टि व्यक्त गरे।
भने, ‘प्रेस स्वतन्त्रता भनेको अरुको मानमर्दन गर्नु, झुटो कुरा फैलाउनु , जथाभावी बोल्नु होइन। म प्रेस स्वतन्त्रताको सम्मान गर्छु। तर जनताको सही सूचना तथ्य जान्न पाउने हकलाई बञ्चित गरेर पित पत्रकारिता , ब्याकमेलिङ प्रेस स्वतन्त्रता होइन। हामीलाई स्वतन्त्र र मर्यादित मिडिया चाहिएको छ।’
पुनर्निमाणमा अब्बल
ओलीले दुई वर्षमा पुनर्निर्माणको काममा सफलता मिलेको बताए। ७ लाख घर बनाएर हस्तान्तरण गरेको भन्दै उनले त्यसलाई सरकारको उपलब्धीको रुपमा व्याख्या गरे।
आफूले छोडेर जाँदा धरहरा र रानी पोखरी धुलामा रहेको र अरु सरकारले गरेको शिल्यान्सको ढुंगा मात्रै रहेको भन्दै उनले आफ्नो सरकार आएपछि काम गरेर देखाएको दाबी गरे।
*तथ्यगत त्रुटि भएकोले सच्याइएको।