काठमाडौँ: काठमाडौँ उपत्यका कोरोना संक्रमणका कारण १७ दिनदेखि निषेधाज्ञा जारी छ। निषेधाज्ञाका कारण जनजीवन ठप्प छ। भाद्र ३ गते रातिदेखि सुरु भएको निषेधाज्ञा भाद्र २४ गतेसम्मका लागि बढाइएको छ। उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै निषेधाज्ञा अझै थप्न सक्ने अनुमान गरिएको छ।
शनिबारसम्म उपत्यकाका ३ वटै जिल्लामा कूल ७ हजार ९ सय जनामा कोभिड १९ संक्रमण पुष्टि भइसकेको छ। काठमाडौँमा देशभरकै सबैभन्दा बढी संक्रमित छन्। राजधानीमा मात्रै ६ हजार ३३४ जनामा संक्रमण पुष्टि भइसकेको छ। यस्तै, ललितपुरमा ८८७ जनामा संक्रमण देखिएको छ भने भक्तपुरमा ६७९ जनामा संक्रमण देखिएको छ।
पछिल्लो २० दिनमा मात्रै उपत्यकामा करिब ५ हजार ९३४ जनामा संक्रमण देखिएको छ। निषेधाज्ञाको समयमा मात्रै उपत्यकामा ५ हजार ४०२ जनामा संक्रमण देखिएको छ।
संक्रमितको संख्या बढेसँगै उपत्यका कोरोना भाइरसको हटस्पट बनेको छ। देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा उपत्यकाको तीन जिल्लामा समुदायस्तरमा नै कोभिड १९ संक्रमण फैलिएको सम्भावना बढ्दै गएको छ।
उपत्यकामा लकडाउन खुकुलो भएदेखि नै कोरोना संक्रमितको संख्या बढ्दै गएको थियो। त्यसपछि बाहिर जिल्ला र भारतबाट समेत मानिस निर्वाध रुपमा प्रवेश गरे। जसले संक्रमणको अवस्थालाई झनै बढाएको थियो।
उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले संक्रमण फैलिनबाट रोक्न निषेधाज्ञाको सहारा लिए पनि त्यो सफल भएको देखिँदैन। लाखौँ जनता घरभित्रै रहेको अवस्थामा पनि संक्रमण दर भने बढ्दै गएको छ। तर पीसीआर परीक्षणको दायरा भने उस्तै छ।
यता उपत्यकाका नगरपालिकाहरुले भने संक्रमितहरुको कन्ट्याटक ट्रेसिङ गरी स्वाब संकलन गर्ने कार्य गरिरहेको छ। तर सोचे जति परीक्षण हुनसकेको छैन। त्यसैले उपत्यका नगर फोरमले एक हप्ता देखि १५ दिनसम्म कर्फ्यू लगाउन प्रशासनलाई आग्रह समेत गरेको छ।
‘मानिसहरुको मोबिलिटी कम भएको छैन। अहिले पनि मर्निङ र इभिनिङ वाक भन्दै मानिस निस्किरहेका छन्। मानिसहरुको हिँड्डुल बन्द गर्न कर्फ्यू एउटा विकल्प हो।’
उपत्यकाका केही सांसदले उपत्यकामा जनस्वास्थ्य संकटकाल समेत लागू गर्नुपर्ने मत राखेका छन्। कर्फ्यूको समेत माग भइरहेको छ।
तर प्रशासन भने अहिले नै कर्फ्यू लगाउने पक्षमा देखिँदैन। उल्टै प्रशासनले तेस्रोपटक निषेधाज्ञा थप्दै झन खुकुलो बनायो। जसमा फोरमले असहमति जनाएको थियो।
काठमाडौँ उपत्यकामा १५ हजार संक्रमित हुनसक्ने अनुमान गरेको छ मन्त्रालय। तर यतिकै संख्यामा संक्रमित भेटिए राख्ने स्थानसम्म काठमाडौँमा छैन। नगरपालिका र केन्द्र सरकार क्वारेनटाइन र आइसोलेसन निर्माणमा बल्ल जुटिरहेका छन्।
हाललाई धेरै संक्रमित होम आइसोलेसनमा छन्। तर वृद्ध र दीर्घरोगी समेत होम आइसोलेसनमा रहेकोमा जनस्वास्थ्यविद्हरुले त्यसमा पूर्व विचार गर्नुपर्ने सल्लाह दिएका छन्। भक्तपुरमा केही दिन अघिमात्रै होम आइसोलेसनमा रहेका एक व्यक्तिको मृत्यु भएको थियो।
बन्दलाई मात्र विकल्पमा रुपमा सरकारले लिएको भन्दै विरोध पनि भइरहेको छ। लकडाउन खुलेपछि केही राहत मिलेको व्यापार व्यवसायले फेरि निषेधाज्ञाको सामना गर्नुपरेको छ। मध्यम वर्गीय र न्यून आय भएका परिवार यसबाट बढी प्रभावित बनेका छन्।
कोरोना कहर अहिलेकै अवस्थामा सकिने अवस्था छैन। उपत्यकामा थप संक्रमण पहिचान हुने सरकारी तथ्यांक नै छ। यस्तो अवस्थामा जनतालाई थुनेरमात्रै राख्ने कि अन्य विकल्प पनि खोज्ने भन्नेबारे समेत बहस सुरु भइरहेको छ। तर सरकार भने हाललाई अन्य विकल्पभन्दा ‘बन्द’ नै जारी राख्ने पक्षमा देखिन्छ।