PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

विद्यार्थीलाई नि:शुल्क इन्टरनेट प्रदान गर्ने शिक्षा मन्त्रालयको निर्देशिकामा उल्लेख, आइएसपीलाई भने थाहै छैन



विद्यार्थीलाई नि:शुल्क इन्टरनेट प्रदान गर्ने शिक्षा मन्त्रालयको निर्देशिकामा उल्लेख, आइएसपीलाई भने थाहै छैन

काठमाडौं : कोरोना महामारीका कारण शैक्षिक संस्थाहरू बन्द रहँदा पहुँच भएको परिवारका बालबालिका अनलाइन कक्षा लिइरहेका छन्। इन्टरनेटको पहुँच बाहिर रहेका विद्यार्थीहरुले अनलाइन कक्षा लिन पाइएका छैनन्। यसैबीच अनलाइन शिक्षा सहजीकरणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय एवम् त्यहाँ अध्ययनरत विद्यार्थीलाई नि:शुल्क इन्टरनेट सेवा दिने गरी निर्देशिका जारी गरेको छ।

मन्त्रालयले 'विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७' भदौ १९ गते मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत गराएको थियो। उक्त निर्देशिकामा नेपाल टेलिकम लगायतका इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि नि:शुल्क वा सहुलियत शुल्कमा डेटा प्याकेज प्राप्त गरी मन्त्रालयले विद्यालय र विद्यार्थीलाई उपलब्ध गराउने प्रावधान समावेश गरेको छ।

तर, यसको सेवा दिने सम्बद्ध कम्पनीहरूलाई भने मन्त्रालयले जानकारी नै पठाइसकेको छैन। सेवा प्रदायक कम्पनीहरू मन्त्रालयको उक्त निर्देशिका बारे जानकारी नै नभएको बताउँछन्। शिक्षा मन्त्रालयले निःशुल्क वा सहुलियत शुल्कमा इन्टरनेट प्राप्त गरी उपलब्ध गराउने व्यवस्था निर्देशिकामा समावेश गरे पनि अहिलेसम्म ‌औपचारिक प्रस्ताव नआएको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताए।

स्कुल-कलेज नखुल्दा आफ्ना बालबालिकाको एउटा शैक्षिक सत्र पूरै जोखिममा परेको भन्दै अभिभावकहरु चिन्तित छन्। उनीहरूले बाध्य भएर महंगो शुल्क तिरेरै भएपनि छोराछोरीलाई  अनलाइन कक्षा पढाउन घरमा इन्टरनेट कनेक्सन लिइरहेका छन्।

एनटीसी र एनसेलले दिइरहेका छन् डेडिकेटेड शैक्षिक डेटा प्याक

अहिले सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलले अनलाइन कक्षा सञ्चालनका लागि शैक्षिक डेटा प्याक उपलब्ध गराइरहेका छन्। टेलिकमले 'इ-शिक्षा प्याकेज' र 'ह्याप्पी लर्निङ प्याक' देशका कुनै पनि शैक्षिक संस्थाका शिक्षक तथा विद्यार्थीलाई उपलब्ध गराइरहेको प्रवक्ता जोशीले जानकारी दिए।

इ-शिक्षा प्याकेज ६ जीबी र १५ जीबी डेटा प्याकमा उपलब्ध रहेको टेलिकमले जनाएको छ। ६ जीबी डेटाको मूल्य २ सय ६० रुपैयाँ र १५ जीबी डेटाको ५ सय रुपैयाँ रहेको टेलिकमले जनाएको छ।

यी दुवै प्याक बिहान ५ देखि साँझ ५ बजेसम्म मात्रै चलाउन सकिने कम्पनीले जनाएको छ। यस्तै, ह्याप्पी लर्निङ प्याक २४ जीबी र ३५ जीबी डेटा प्याकमा उपलब्ध छ। २४ जीबीको ३ सय १५ रुपैयाँ र ३५ जीबीको ५ सय रुपैयाँ मूल्य रहेको टेलिकमले जनाएको छ। इ-शिक्षा प्याकेज र ह्याप्पी लर्निङ प्याक २८ दिनसम्मलाई योग्य हुने टेलिकमले जानकारी दिएको छ।

यस्तै, एनसेलले पनि स्टुडेन्ट प्लान सञ्चालन गरिरहेको छ। अनलाइन कक्षालाई लक्षित गरी ल्याइएको यो प्याकमा इ-लर्निङअन्तर्गत २० जीबी डेटा रहने एनसेलले जनाएको छ। स्टुडेन्ट प्लानको सुरुआती मूल्य २ सय ५५ रुपैयाँदेखि ७ सय २ रुपैयाँसम्म रहेको कम्पनीले जानकारी दिएको छ। इ-लर्निङसहित यो प्याकेजमा फोर जी नेटवर्कमा चल्ने गरी थप २ देखि ८ जीबी डेटा रहने एनसेलले जनाएको छ। यो प्याक ३० दिनसम्मलाई योग्य हुने बताइएको छ।

अन्य दूरसञ्चार सेवा प्रदायकले भने शैक्षिक प्रयोजनका लागि भन्दै छुट्टै डेटा प्याक उपलब्ध गराएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell