विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सुनसरीका २ पुरुष, मोरङका १ जना र प्रदेश १ बाहिरका १ जना पुरुषको कोभिड १९ संक्रमणबाट मृत्यु भएको हो। यससँगै प्रदेशमा हालसम्म ७१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
त्यस्तै प्रदेश १ मा बुधवार १५७ कोरोना संक्रमित थपिएका छन्। ९७१ जनाको पीसीआर परीक्षण गर्दा ५२ महिला र १०५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।
मोरङमा १०२, सुनसरीमा ४०, झापामा ९, उदयपुर र ओखलढुङ्गामा १/१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ७६ जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये २८ महिला र ४८ पुरुष रहेका छन्। बुढीगंगामा ४ महिला र १० पुरुष, कटहरीमा ४ महिला र ७ पुरुष र कानेपोखरीमा १ पुरुषमा संक्रमण पुष्टि भएको छ।
त्यस्तै सुनसरीको धरानमा ५ महिला र १३ पुरुष, इटहरीमा ५ महिला र १० पुरुष, इनरुवामा १ महिला र १ पुरुष, बराह क्षेत्रमा १ महिला, दुहवी र हरिनगरमा १/१ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष संक्रमित भएका छन्।
त्यसैगरी झापाको विर्तामोडमा २ महिला र १ पुरुष, मेचीनगरमा २ पुरुष, भद्रपुरमा १ महिला र १ पुरुष, कचनकवल र स्थानीय तह नखुलेका १/१ पुरुषको पनि पीसीआर रिपोर्ट पनि पोजेटीभ आएको छ।
यता उदयपुरको त्रियुगामा १ पुरुष, ओखलढुङ्गामा १ महिला, प्रदेश १ बाहिरका ४ पुरुष संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ७९८ पुगेको छ। प्रदेश १ मा आज ५३ जना डिस्चार्ज भएका छन्।
आज होम आईसोलेसनबाट २९, विराट मेडिकल कलेजबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका छन्। त्यस्तै मेची अस्पताल र होटल एशियाटिक आईसोलेसनबाट ५/५, न्युरो अस्पतालबाट १ जना डिस्चार्ज भएका छन्।
यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ९८ पुगेको छ।