काठमाडौं : जाजरकोटका चार वटा माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको छ। जिल्लाका शिवशंकर मावि जगतिपुर, दिपेन्द्र मावि भुर, भगवती मावि कुदु र शंकरभवन मावि बाहुनथानामा प्रोजेक्टर, प्रिन्टर र कम्प्युटरसहितको ल्याब स्थापना गरिएको हो।
तेह्रथुमको जलजलेमा जन्मेर हाल अमेरिकामा बस्दै आएका अभियन्ता डा.ओम दाहालको पहलमा ती विद्यालयहरुमा कम्प्युटर ल्याबको स्थापना गरिएको हो। प्रत्येक विद्यालयमा एक थान प्रोजेक्टर, एक थान प्रिन्टरसहित बाहुनथानामा १५ तथा जगतिपुर, भुर र कुदुमा २० ओटाका दरले कम्प्युटर हस्तान्तरण गरिएको छ। असोज १३ र १४ गते ती ल्याबहरुमा सामाग्री हस्तानतरण गरिएको दाहालले बताए।
विगत ४ वर्षदेखि अमेरिकामा म्याराथन दौडको माध्यमबाट संसारको विभिन्न ठाउमा बसोबास गर्ने साथीभाई, शुभ चिन्तक र अन्य सहयोगी संघ संस्थाहरुसँग सहकार्य गरी फन्ड संकलन गरेर नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गदै आएका छन्। उनको प्रयासमा सन् २०१६ को इन्डियना पोलिस मोनुमेन्टल म्याराथनमार्फत तेह्रथुममा एम्बुलेन्स, २०१७ को सिकागो म्याराथनमार्फत नवलपरासीको यादव माध्यमिक बिद्यालयमा छात्रामैत्री शौचालय, २०१८ को मरिन कर्प्स म्याराथन, वासिङटन डिसीमार्फत तेह्रथुमको श्री शंकर र श्री जन ज्योति माध्यमिक बिद्यालयमा कम्पुटर ल्याब बनाउने अभियान सम्पन्न भएको छ। जाजरकोट कम्प्युटर ल्याब प्रोजेक्ट डा.दाहालको २०१९ न्युयोर्क म्याराथनको अभियान हो।
उक्त प्रोजेक्ट १५ लाख ५० हजार २५ को लागतमा सम्पन्न भएको डा दाहालले बताए। २७८ सहयोगीबाट १४ लाख ७६ हजार २ सय रुपैयाँ संकलन भएको उनले बताए।