प्रदेश १ का तीन जिल्लामा निषेधाज्ञा लागू गरिएको छ। दशैंको चहलपहल बढेसँगै पछिल्ला दिनहरुमा संक्रमितको संख्यामा वृद्धि भएपछि प्रदेश १ तीन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका हुन्। तीनवटै जिल्ला प्रशासन कार्यालयले रातको समयमा निषेधाज्ञा लागू गरेका हुन्।
प्रदेश १ को सबैभन्दा बढी संक्रमित देखिएको जिल्ला मोरङमा सोमवार कार्तिक ३ गतेदेखि १५ गते राती १२:०० बजेसम्मका लागि निषेधाज्ञा लागु गरिएको छ। चाडपर्व र परम्पराका नाममा गरिने पूजापाठ र बली कार्यमा संलग्न हुँदा हुने भीडभाडलाई रोक्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले बताए। मोरङमा साँझ ८ बजेदेखि बिहान ५ बजेसम्मका निषेधाज्ञा लागू हुनेछ।
‘अहिले गरिएको निषेधाज्ञा भनेको पुजा पाठ बली चढाउने कार्य रोक्नु हो। दशैंको समयमा शक्तिपीठमा बलीदिनेहरुको भीडभाड हुन्छ’ उनले भने ‘त्यतिमात्र होइन शुभकामना आदानप्रदान भन्दै राजनीतिक विभिन्न संगठनका नाममा गरिने ठूलाठूला कार्याक्रमलाई पनि रोकिएको हो’।
दिनभरी स्वास्थ्य सुरक्षा अपनाउँदै व्यापार व्यवसाय गरिएपनि साँझको समयमा बढी भीडभाड हुने भएकोले निषेधाज्ञा जारी गरिएको प्रजिअ निरौलाले बताए।
त्यस्तै जिल्ला प्रशासन कार्यालय झापाले आइतबारबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरेको छ।
कार्तिक २ गते आइतवारबाट कार्तिक १४ गतेसम्म साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म निषेधाज्ञा लागु गरिएको छ।
चाडवाडका बेला मान्छेहरुको आवत जावत र भीडभाड बढी हुने भएकाले यसलाई कम गर्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले बताए।
‘हामीले रातको समयमा हुने मोबिलिटीलाई बन्द गर्न खोजेका हौं’ उनले भने ‘बढी रहेको संक्रमणलाई मध्यनजर गरेर यो निर्णय गरिएको हो।’
दिउँसोको समयमा सम्बन्धित पालिका र उद्योग वाणिज्य संघ लगायतका सरोकारवालाहरुलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अघि बढ्न निर्देशन दिइएको प्रजिअ तिमिल्सिनाले बताए।
यता जिल्ला प्रशासन कार्यालय सुनसरीले एक महिनाभन्दा लामो निषेधाज्ञा जारी गरेको छ। कार्तिक एक गतेदेखि मंसिर ६ गतेसम्म निषेधाज्ञा लागू गरिएको छ।