काठमाडौं : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार गैरजिम्मेवार ढंगले अघि बढिरहेको आरोप लगाएका छन्। बुधवार बिहान काठमाडौं महानगरपालिका वडा १० काँग्रेस ईकाईले आयोजना गरेको कोभिड-१९ सम्बन्धी सचेतना कार्यक्रममा नेता सिंहले सरकार बदनाम भइसकेको दाबी गरे।
'कुनै परामर्श नगरी जनप्रतिनिधिलाई बदनाम गराउने गरी दशैं भत्ता दिने निर्णय सरकारले गर्यो। आफू त बदनाम छ छ जनप्रतिनिधिलाई पनि बदनाम गराउन खोज्यो,' प्रकाशमानले भने।
राष्ट्रवादी भनेर दाबी गरिएको सरकार हुम्लामा सीमा मिचिँदा चुप लागेको बसेको उनले आरोप लगाए। 'प्रमुख प्रतिपक्षी दलको नेताले ११ दिन लगाएर पुगेर जमिन हडपेको छ भन्दा सरकारले केही भएको छैन भन्छ। जनतालाई भ्रममा राखेर भोट लिने काम चाहि केही नगर्ने?' सिंहको प्रश्न थियो।
सकारले ढुकुटी रित्याउँदै जनताको दुखको कुनै मतलब नगरेको उनको भनाई रह्यो। 'तीन महिनामा प्रशासनिक खर्च २ खर्ब बढी छ। विकासमा १९ अर्ब पनि खर्च भएको छैन। सरकारले ढुकुटी रित्याइरहेको छ। जनताको उपचारमा ध्यान छैन। स्वास्थ्य सामग्रीमा पनि घोटाला गरेको छ। दुख परेको बेला काम नलाग्ने सरकार के काम?' सिंहले भने।