PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

हनुमानढोकामा कुमारीलाई शक्ति प्रदान गरेर फर्किए पचली भैरव

हनुमानढोकामा कुमारीलाई शक्ति प्रदान गरेर फर्किए पचली भैरव


काठमाडौँ:  पचली भैरव (तेप आजु द्य) जात्रा सम्पन्न भएको छ। अरु बेला राति हुने यो जात्रा यसपटक कोरोना संक्रमणका कारण दिउँसो गरिएको थियो। जात्राका क्रममा पचली भैरवलाई पीपीई लगाएकाहरुले खटमा राखेर नगर परिक्रमा गराएका थिए।

पञ्चमीका दिन पचली भैरवको मूर्तिलाई टेकुबाट नगर परिक्रमा गर्दै वसन्तपुरस्थित हनुमानढोका पुर्‍याइएको थियो। त्यहाँ पचली भैरवलाई उनकी छोरी जीवित देवी कुमारीसँग भेट गराइएको थियो। यसअघिका वर्षहरुमा कुमारीलाई कुमारी घरबाट हनुमानढोका अगाडी लग्ने प्रचलन थियो। तर यसपटक कोरोना संक्रमणलाई मध्यनजर गरेर कुमारीलाई हनुमानढोका लगिएन। कुमारी घरको ढोकामा नै कुमारीलाई विराजमान गराएर पचली भैरवसँग भेट गराइएको थियो। 

त्यसक्रममा कुमारी र पचली भैरवलाई एकअर्काका आमनेसामने राखी आँखा जुधाइएको थियो। त्यसलाई स्थानीय भाषामा 'दृष्टि चुलाकेगु' भनिन्छ। त्यसक्रममा पचली भैरवले कुमारीलाई आफूमा निहित शक्ति प्रदान गर्ने जनविश्वास रहेको छ।

कुमारीले मनले चाहे जति पचली भैरवलाई हेर्न पाउँछिन। कुमारीले हेर्न पुग्यो नभनेसम्म पचली भैरवलाई कहीँ लग्न नहुने मान्यता छ। पचली भैरवलाई कुमारीले 'हेर्न पुग्यो' भनेपछि मात्र पचली भैरवलाई हनुमानढोकाबाट लगिन्छ।

त्यसपछि पचली भैरवलाई फेरि मरु, चिकंमुग, मजिपात, ज्याबहा:, दलाछी हुँदै ब्रह्मटोलस्थित श्वेत भैरव कहाँ लगेर तीन पटक परिक्रमा गराउने चलन छ।

१२ वर्षसम्म पचली भैरवको मूर्तिलाई पुजारी गुठीका १२ जनाको घरमा पालैपालो राखिने गरिन्छ।

किंवदन्ती अनुसार पचली भैरवको मूल थलो चित्लाङ थियो। उनले फर्पिङमा राज्य संचालन गर्थे। उनी एकै दिनमा काशीमा गएर स्नान गरेर काठमाडौंमा रहेकी प्रेमिकालाई भेट्न आउने गरेको कथन रहेको छ।

त्यो बेला कै शक्तिशाली पचली भैरव एक दिन प्रेमिकासँग रात बिताएर फर्कन खोज्दा सुकाइरहेको फरिया नाघेर अघि जान सकेनन्। त्यसपछि उनलाई प्रेमिकाका दाजुभाइहरुले समाएर कुटे।

भैरवको मृत्यु भएको ठानेर उनलाई टेकुमा फालिदिएका थिए। पचली भैरवलाई फालेकै स्थानमा अहिले पचली भैरवको मन्दिर रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell