काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वीरगंजका जिल्ला समिति सदस्य मुकेश चौरसियाको हत्याको छानबिन गरी दोषीलाई कारबाही गर्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माग गरेका छन्।
चौरसियाको हत्याको जाहेरी लिन प्रहरीले नमानिरहेको बेलामा दाहालले एक विज्ञप्ती जारी गर्दै आफ्नै पार्टीको सरकारलाई दोषीमाथि कारबाही अघि बढाउन आग्रह गरेका हुन्।
हत्या जस्तो जघन्य अपराध हुँदा समेत प्रहरीले मुद्दा दर्ता गर्न आनाकानी गर्नुलाई दाहालले ‘आश्चर्यको विषय’ भनेका छन्।
गत बिहीवार दिउँसो १२ बजे प्रसौनीभठामा भएको नेकपाको शपथ ग्रहण कार्यक्रममा झडप हुदाँ मुकेशको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारको क्रममा नै उनको मृत्यु भएको थियो।
विन्दवासिनी–२ का चौरसिया पछिल्लो निर्वाचनमा पूर्व माओवादीको कोटाबाट वडा अध्यक्षमा उम्मेद्वार थिए। पूर्व माओवादी समूहद्वारा आयोजित कार्यक्रममा पूर्व एमाले समूहले आफुहरुलाई बाईपास गरेको भन्दै कार्यक्रम विथोल्न पुगेका प्रत्यक्षदर्शी बताउँछन्। यस घटनामा प्रथम संविधान सभामा पर्सा क्षेत्र नं ३ बाट निर्वाचित राजकुमार गुप्ताको भूमिका हुने सक्ने प्रत्यक्षदर्शीले बताएका छन्।
नेकपा पर्साले चौरसियालाई शहीद घोषणा गर्नुपर्ने र हत्या गर्नेलाई कडा कारबाही गर्नुपर्ने मागसहित दैनिक रुपमा आन्दोलन गरिरहेका छन्। प्रचण्डले पार्टीको कार्यकारी अध्यक्षको हैसियतले जिल्ला कमिटीको मागमा आफ्नो समेत समर्थन रहेको बताएका छन्।