काठमाडौं : टोखाको भुतखेलमा बहुउद्देशीय सामुदायिक व्यायाम स्थल निर्माण गरिएको छ। नेपाल युथ फिटनेस एन्ड क्यालिस्थेनिक (एनवाइएफसी) र डीभी एजुकेसन नेटवर्कको संयुक्त पहलमा स्थानीयलाई व्यायाममा आकर्षित गर्ने उद्देश्य सहित क्यालिस्थेनिक (फिटनेस) पार्क निर्माण गरिएको हो।
प्रतिनिधि सभा सदस्य गगन थापाले आज व्यायाम स्थलको उद्घाटन गरे। थापाले हाल कोभिड १९ संक्रमणका कारण मानिसहरु स्वास्थ्यप्रति सतर्क बन्ने क्रम बढेको भन्दै शरीर र स्वास्थ्यको लागि व्यायाम गर्नुपर्ने बताए। उनले टोखामा निर्माण भएको व्यायाम स्थलले समुदायलाई स्वस्थ रहन प्रेरित गर्ने विश्वस व्यक्त गरे।
एनवाइएफसीका अध्यक्ष सुकदेव कार्कीले इन्द्रायणी भुतखेल सामुदायिक वन उपभोक्ता समिति र टोखा नगरपालिकासँग समन्वय गरेर टेम्पल प्रोजेक्ट अन्तर्गत पार्क निर्माण गरेको बताए। दुई हप्तामा नै पार्क निर्माण गर्न सम्पन्न भएको भन्दै कार्कीले हप्ताको एकदिन नि:शुल्क व्यायाम प्रशिक्षण दिने समेत बताए।
एनवाइएफसीले यसअघि बौद्धमा क्यालिस्थेनिक पार्क निर्माण गरेको थियो। संस्थाले स्वास्थ्य र व्यायाममा ध्यान दिन जनचेतना जोगाउने उद्देश्यले नेपालभर यस्तै पार्क निर्माण गर्ने योजना रहेको जनाएको छ।