इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज फाइनल खेलमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स भिड्दै छन्।
रोहित शर्माको कप्तानीमा मुम्बई छैठौं पटक आइपीएलको फाइनलमा खेल्न गइरहेको छ। मुम्बईले हालसम्म ४ पटक आइपिएल उपाधि जितिसकेको छ। यता, श्रेयस अय्यरको कप्तानीमा रहेको दिल्ली भने पहिलोपटक आइपीएल जित्ने प्रयासमा रहेको छ।
डिफेन्डिङ च्याम्पियन मुम्बई र दिल्लीबीच आज दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा प्रतिस्पर्धा हुँदैछ।
हेड टु हेड
दिल्ली र मुम्बईले आइपिएलमा हालसम्म २७ वटा खेल खेलेका छन्। जसमा मुम्बई अब्बल देखिएको छ। मुम्बईले दिल्लीविरुद्ध १५ खेलमा जित निकालेको छ भने दिल्लीले मुम्बईविरुद्ध १२ वटा खेलमा जित निकालेको छ।
यो सिजनको आइपीएलमा भने दुवै टोलीले तीन खेल खेलेका थिए। जसमध्ये तीनवटै खेल मुम्बईले जितेको थियो।
आज हुने फाइनल खेलमा जित्दै मुम्बई पाँचौ पटक आइपिएल जित्ने पहिलो टिम बन्ने होडमा छ। दिल्लीले पहिलो उपाधि जित्न भने मुम्बईको पर्फेक्ट ११ लाई कडा प्रतिस्पर्धाबीच पराजित गर्नुपर्ने हुन्छ।
मुम्बईको प्लेइङ ११ मा ७ नम्बरसम्म ब्याटस्म्यान रहेका छन्। रोहित शर्मा, क्विन्टन डिकक र सूर्यकुमार यादव फर्ममा छन्। कीरोन पोलार्ड, हार्दिक र क्रुणाल पंड्या अलराउन्डर छन्।
यो सिजनमा दिल्लीको सबैभन्दा राम्रो पक्ष भनेकै बलिङ रह्यो। ब्याटिङमा फितलो रहेको दिल्लीका बलरहरुलाई मुम्बईको ७ जनाको लाइनअप तोड्न पर्ने चुनौती रहनेछ। दिल्लीको ब्याटिङ सम्हाल्ने जिम्मेवारी भने शिखर धवन, श्रेयस अय्यस र मार्कस स्टोनिइसमा रहनेछ।
सन्दीपको कुरा
नेपाली स्पीनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सको टीममा छन्। गएको दुई सिजनमा सन्दीपले आइपिएलमा ९ खेल खेल्दै १३ विकेट लिन सफल भएका थिए। केही खेलमा सन्दीपको उत्कृष्ट प्रदर्शनीले दिल्लीलाई जित समेत दिलायो तर, जारी सिजनको आइपीएलमा सन्दीपको एउटा खेल पनि खेल्न पाएका छैनन्।
आज हुने फाइनल खेलमा दिल्लीको ११ खेलाडीमा नाम नपरे सन्दीपको यो सिजन मैदानमा नखेली समाप्त हुनेछ। प्लेइङ ११ मा परे दिल्लीमा आइपिएल उपाधि जिताउन उनले पनि अहम भूमिका खेल्न सक्नेछन्। तर, दिल्लीको बलिङ लाइन फर्ममा रहेकोले सन्दीपले फाइनल खेलमा समेत प्लेइङ ११ मा स्थान बनाउने सम्भावना कम रहेको छ। बलिङ लाइन अप राम्रो रहेको अवस्थामा सन्दीपलाई खेलाएर दिल्लीले जोखिम नमोल्न विश्लेषण भारतीय खेल समिक्षकहरुले गरेका छन्।