काठमाडौं : सडक विस्तारको क्रममा बालाजु -बाइपास क्षेत्रमा रहेका दुई घर भत्काएर सडक कालोपत्रे गर्ने तयारी भएपछि पीडितहरुले प्रदर्शन गरेका छन्।
बालाजु सडक विस्तार पीडित संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा उनीहरुले सर्वोच्चको आदेश पालना गर्न र गैर न्यायिक सडक विस्तार रोक्न माग गरेका थिए।
अदालतले सडक विस्तार हाललाई रोक्न भन्दै ‘स्टे अर्डर’ दिएकोमा प्रहरी प्रशासनको रहोबारमा बिना कुनै आधार र सूचना घर भत्काएको भन्दै केही हप्तादेखि स्थानीयले विरोध गरिरहेका छन्।
सडक विस्तारका क्रममा बाइधारा – बाइपास जोड्ने सडकको बायाँपट्टीका घरहरु सबै भत्काए पनि सर्वोच्चमा परेको मुद्दाका कारण दुईटा घर पूर्ण रुपमा भत्काइएको थिएन।
बाइपास क्षेत्रमा घर हुने स्थानीयले उचित क्षतिपूर्तिको मागसहित अदालतमा मुद्दा दायर गरेका थिए। यस्तै, सडकको दायाँबायाँ बराबर जग्गा लिनुपर्नेमा बायाँपट्टीमात्रै जग्गा लिएर सरकारले आफूहरुलाई विस्थापित गराउन खोजेको उनीहरुको आरोप छ।
अदालतले सडक निर्माण रोक्न ‘स्टे अर्डर’ जारी गरेसँगै सडक निर्माण हुन सकेको थिएन। बाइसधारा पाटीभन्दा केही माथिसम्म मुआब्जा दिएर सडक निर्माण भइसकेको छ। तर अदालती प्रक्रियाका कारण ६ वर्षदेखि बाइसधारा र बाइपास जोड्ने करिब २०० मिटर सडक निर्माण हुन सकेको थिएन।