जनकपुरधाम : जनकपुरधाममा जारी टी-२० टुर्नामेण्ट अन्तर्गत बुधवार भएका दुई खेलमा सिरहा क्रिकेट एकेडेमी र युथ ११ क्रिकेट टिम विजयी भएको छन्।
बुधवार भएको पहिलो खेलमा युथ ११ ले जनकपुर क्रिकेट एकेडेमीलाई २० रनले पराजित गरेको हो। युथ ११ ले दिएको १ सय ३६ रनको जवाफमा जनकपुरले मात्रै १ सय १५ रन बनाउन सक्यो।
जनकपुरका लागि हिमांशु दत्तले ४१ रन तथा शोभाकान्त पाण्डेले १८ रन जोडे।
युथ ११ का लागि राजेश सिंहले २ विकेट लिएका थिए।
पहिले ब्याटिङ गरेको युथ ११ ले सोनु शर्मा र प्रकाश यादवको २९/२९ रन र सरोज आनन्दको १७ रनको सहयोगमा १ सय ३५ रनको स्कोर खडा गरेको थियो।
जनकपुरका लागि हरिशंकर साहले ४ र रोहन यादवले २ विकेट लिएका थिए।
यस्तै, दोस्रो खेलमा सिरहा क्रिकेट एकेडमीले जलेश्वर क्रिकेट टिमलाई ७६ रनले पराजित गरेको छ। सिरहाले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको जलेश्वर निर्धारित २० ओभरमा मात्र ६५ रनमा समेटिएको थियो।
जलेश्वरका लागि अविनाश अधिकारी १४, अरुण मण्डल र सुनिल कापरले १२/१२ रन बनाउनु बाहेक अन्य ब्याट्समेन दोहोरा अंकको स्कोर समेत बनाउन सकेनन्।
जलेश्वरलाई सस्तैमा समेट्न सिरहा टिमका लागि नन्दन यादवले ४ विकेट लिए। त्यस्तै, मनोज यादव र दिलीप यादवले २/२ विकेट लिए।
पहिले ब्याटिङ गरेको सिरहाले दुरगेश थापाको ४४ र अशोक यादवको ४० रनको सहयोगमा निर्धारित २० ओभरमा १ सय ४१ रनको स्कोर खडा गरेको थियो।
जलेश्वरको तर्फबाट राहुल प्रताप सिंह र अरुण ठाकुरले २/२ विकेट लिएका थिए।