जनकपुरधाम : जनकपुरधाममा जारी टी-२० टुर्नामेन्टको उपाधिका लागि सिरहा क्रिकेट एकेडमी र युथ ११ शुक्रवार भिड्ने भएको छ। सिरहा क्रिकेट एकेडमीले धनुषा रोयल क्रिकेट एकेडमीलाई र युथ ११ ले धमौरा क्रिकेट एकेडमीलाई बिहीवार भएको सेमिफाइनल खेलमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हुन्।
पहिलो सेमिफाइनल खेलमा सिरहा क्रिकेट एकेडेमीले धनुषा रोयल क्रिकेट एकेडमीलाई ४४ रनले पराजित गरेको छ। सिरहाले दिएको १ सय ८४ रनको विशाल लक्ष्य पछ्याएको धनुषा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रनमा समेटिन पुग्यो।
धनुषाका लागि सुभाषजंग कार्की र विशाल सुशलिंगले गतिलो शुरुवात दिएपनि मध्य क्रमका ब्याट्समेनहरुले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। कार्कीले ४८ र सुशलिंगले २९ रन जोडेका थिए। त्यस्तै, पर्शुराम यादव र रवि साहले २५/२५ रन बनाए।
पहिले ब्याटिङ गरेको सिरहाका लागि विवेक यादवको ६९, राकेश कामतको ३२, अविनाश यादव र मेहबुब आलमको २५/२५ रनको योगदान गरे।
बिहीवार नै भएको दोस्रो सेमिफाइनल खेलमा युथ ११ ले धमौरा क्रिकेट एकेडमीलाई १० रनले पराजित गरेको हो। युथ ११ ले दिएको १ सय ४२ रनको लक्ष्यको जवाफमा धमौरा टिमले निर्धारित २० ओभरमा मात्र १ सय ३१ रन बनाउन सक्यो।
धमौराका शकिबुल गानी ३२, अन्सारुल राइन र आशुतोष कुमार २७/२७ रन जोडे।
युथ ११ का लागि विपुल कृष्णा, राजेश सिंह र राजीव कुमारले २/२ विकेट लिन सफल भए।
पहिले ब्याटिङ गरेको युथ ११ ले राजीव कुमारको २७, उज्वल कुमारको २६ र राजेश सिंहको २५ रनको सहयोगमा १ सय ४१ रनको स्कोर खडा गरेको थियो।
धमौराका लागि आशिष कुमारले ३ र राहुल चौधरीले २ विकेट लिएका थिए।
सिरहा र युथ ११ बीच उपाधिका लागि भोलि १० बजे प्रतिस्पर्धा हुनेछ।