काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले व्यवस्था विरोधी, संविधान विरोधी र सरकार विरोधी शक्तिहरु सक्रिय भएको बताएका छन्। सोमबार चितवनको भरतपुर विमानस्थलमा गृहमन्त्री थापाले कोभिडका कारण उत्पन्न भएको संकटको समयमा संविधान विरोधी र अहिलेको व्यवस्था विरोधीहरु सक्रिय भएको बताएका हुन्।
उनले अहिलेको प्रणाली र संविधानलाई नै उल्ट्याउने अवसर आएको निष्कर्ष सहित राजावादीहरु समेत सक्रिय भएको बताए। यस्तै सरकार विरोधीहरुले सरकारलाई विस्तापित गर्न सकिन्छ की भन्ने प्रयास गरिरहेको पनि बताए। राजावादीहरु गणतन्त्रलाई विस्तापीत गरी राजतन्त्रलाई पुनस्थापित गर्न चाहने र विप्लव माओवादीहरु समाजवादी क्रान्ती गर्ने भाषा लिएर अगाडी बढेको उनको भनाइ थियो।
प्रमुख प्रतिपक्षी दलले अहिलेको अवस्थाको फाइदा उठाउँदै देशव्यापी रुपमा सरकार विरोधी प्रदर्शन गरेको उनले बताए। तर, जसले जति विरोध गरेपनि सरकारलाई कसैले विस्तापित गर्न नसक्ने गृहमन्त्री थापाले बताए।
यस्तै, पार्टी भित्र देखिएको विरोध स्वभाविक भएको भन्दै थापाले सरकारलाई कमजोर बनाउने काम भइराखेको अवस्थामा स्थायी कमिटी बैठक बसेको र त्यहीबाटै समस्या समाधान बताए। उनले पार्टी फुट्ने भन्दापनि थप मजबुत बनेर जाने दाबी गरे।