PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

विवाह पञ्चमी : तिलकोत्सव सम्पन्न, जानकी मन्दिर र राम मन्दिरका महन्थले गरे सम्धी मिलन



सुमित मिश्र

विवाह पञ्चमी : तिलकोत्सव सम्पन्न, जानकी मन्दिर र राम मन्दिरका महन्थले गरे सम्धी मिलन

जनकपुरधाम : सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सव सम्पन्न भएको छ। त्रेता युगमा भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत बिहीवार तिलकोत्सव विधि गरिएको हो।

राममन्दिरको प्राङ्गणमा आयोजित तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव पुगेका थिए। प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सवमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधामस्थित राम मन्दिरका महन्थ राम गिरीले अंकमाल गर्दै सम्धी मिलन गरेका थिए। दुई महन्थ अंकमाल गर्ने कार्यलाई मिथिलामा सम्धी मिलन भन्ने गरिन्छ।

तिलकोत्सवको अवसरमा दुवै पक्षबीच हास्य सपरिहास समेत भएको थियो। जानकी मन्दिरबाट फलफूल, मिष्ठान परिकार लगायतका सयौँ पाहुनाका साथ श्रद्धालुहरु राम मन्दिरको प्राङ्गणमा आइ तिलकोत्सव कार्यक्रममा सहभागी भएका थिए।

कोरोना महामारीका कारण यसपटक अधिकांश विधि जानकी मन्दिरमा रामलिलाको लागि बनाइएको पण्डालमा गरिए पनि तिलकोत्सव भने प्रत्येक वर्ष झै यस वर्ष पनि राममन्दिरमै गरिएको छ। तिलकोत्सवमा दुलही पक्षका प्रतिनिधित्व गर्दै जानकी मन्दिरका महन्थ दासले पाहुर ‘भार’ दुलहा पक्षका प्रतिनिधित्व गरेका राम मन्दिरका महन्थ गिरीलाई हस्तान्तरण गरी सम्धी मिलन गरेका थिए।

अब विवाहपञ्चमीको पाँचौ दिन शुक्रवार जानकीको मटकोर हुनेछ। मटकोर विधि गंगासागर पोखरीमा हुनेछ भने शनिवार विवाहपञ्चमीको मुख्यदिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम रहेको छ। आइतवार रामकलेवा गरेसँगै यस वर्षको विवाहपञ्चमी विधिवत रुपमा सम्पन्न हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell