काठमाडौं : उखुको भुक्तानी नपाएपछि किसान फेरि काठमाडौंमा आएर प्रदर्शन गरिरहेका छन्। सर्लाही, कपिलवस्तु र नवलपरासीबाट आएका किसान गौशालाको धर्मशालामा बसिरहेका छन। हरेकदिन बिहान उनीहरु भुक्तानीको माग गर्दै माइतीघर पुग्छन र दिनभर त्यही धर्ना दिन्छन्।
कहिले उखु त कहिले भुक्तानी बांकी भएको रसिद लिएर उनीहरु सरकारलाई दबाब दिइरहेका छन्। आज भने किसानले हलो लिएर सडकमा उत्रेका थिए।
त्यही भीडमा थिए, कपिलवस्तुका बच्चु यादव। केही दिनअघि मात्रै रातो रसिद लिएर काठमाडौं आएका उनी धर्नामा बस्दाबस्दै बिरामी भए।
केहीदिन देखि खानपानमा समस्या देखिएका उनी जाडोमा बिहानै माइतीघरमा धर्ना दिन पुगिरहेका छन्। त्यहीकारण उनी बिरामी परेको उपस्थित एक किसानले बताए। आज दिनभर धर्नाका क्रममा कम्बल ओडेर सुतेर बसेका थिए बच्चु।
माइतीघरमा उपस्थित किसानले सरकार र उद्योगीसँग गत वर्ष गरिएको सहमति कार्यान्वयन नभएसम्म आन्दोलन नरोक्ने बताएका छन्।
गतवर्ष पनि उखु किसानले काठमाडौंमा आएर प्रदर्शन गरेका थिए। त्यसपछि भुक्तानी दिने सम्बन्धमा उद्योग मन्त्रालय, उद्योगी र किसानबीच सहमति समेत भएको थियो। केही किसानले भुक्तानी पाए पनि। तर सहमति भएको करिब एक वर्ष पुग्न लाग्दासम्म सबै किसानले भुक्तानी पाएका छैनन्। त्यसैले न्याय माग्दै उनीहरु फेरि काठमाडौं आएका हुन्।