काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले राजधानीमा विरोध सभा गरिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि व्यवहारिक रुपमा विभाजित भइसकेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले विरोध सभा गरिरहेको हो।
सभामा सम्बोधन गर्दै पार्टी नेता नारायणकाजी श्रेष्ठले ओलीको असंवैधानिक र प्रतिगामी कदम विरुद्ध जनता सडकमा ओर्लिएको बताए।
'संविधान र लोकतन्त्र विरोधीलाई असफल गर्न जनता संघर्ष गर्न तयार छन्,' उनले भने।
देशका सबै राजनीतिक पार्टी देखि नागरिक समाज, विद्यार्थी सबै समूह ओलीको कदमविरुद्ध सडकमा ओर्लिएको भन्दै उनले सरकारको असंवैधानिक कदमलाई असफल पार्न एकताबद्ध भएर जान आह्वान समेत गरे।
श्रेष्ठले आफूहरुको विरोध सभा शान्तिपूर्ण र मर्यादित हुने भन्दै आफूहरुको संघर्षमा घुसपैठ हुन सक्ने उनले बताए। त्यसैले सभा र प्रदर्शन विरुद्ध हुने षड्यन्त्र विरुद्ध सचेत हुनुपर्ने उनले बताए।
प्रतिनिधिसभा पुनर्स्थापना नभएसम्म संघर्ष जारी रहने श्रेष्ठले बताए।