PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

हिमालको पृष्ठभूमिमा जलवायु परिवर्तनबारे साहित्य बहस, ‘माछापुच्छ्रेको हिउँ आजको गर्मीले पग्लिएको होइन’



हिमालको पृष्ठभूमिमा जलवायु परिवर्तनबारे साहित्य बहस, ‘माछापुच्छ्रेको हिउँ आजको गर्मीले पग्लिएको होइन’

पोखरा : हिमाललाई पृष्ठभूमिमा राखेर भइरहेको छ नेपाल साहित्य महोत्सव। यस वर्ष धेरैको ध्यान मञ्चमा छलफलका लागि उठाइएको विषयसँगै पछाडि देखिएको माछापुच्छ्रेले पनि खिचेको छ। जुन हिउँ नबोकी उभिएको छ। मात्र कालो चट्टान।

९ औं महोत्सवको दोस्रो दिन। पहिलो सत्र ‘जलवायु परिवर्तन र भविष्य’ सुरुवात हुँदा माछापुच्छ्रेको फेदीतिरबाट धुँवाको मुस्लो उडिरहेको थियो। वक्तामध्येका एक डाक्टर अरनिको पाण्डेको अनुमान – त्यो आगो समुद्री सतहबाट ३२ सय मिटरमा लागेको हुनसक्छ। जुन ५ हजार माथिका हिमालसम्मै पुग्छ। अनि असर? हिउँ पगाल्छ। हिउँ नै नभएको माछापुच्छ्रेलाई के गर्ला? त्यहाँको हिउँलाई वर्षौदेखि लाग्दै आएका यस्तै आगो र पृथ्वी बढ्दो तापक्रमले पगाल्यो। मतलव आज एकदिनको तापक्रमले हिमाललाई नङ्ग्याउँदैन। यो त वर्षौदेखिको प्रक्रिया हो।

हिउँ पगाल्न सर्वाधिक भूमिका कार्बनडायोअक्साइडको भएको बताए। त्यस्तै दक्षिण एसियामा तिव्र रुपमा उत्पादन हुने ब्ल्याक कार्बोनको पनि भूमिका भएको सुनाए उनले। विशेषगरी दाउरा बाल्दा, इँटा भट्टा सञ्चालन र सवारी साधनबाट निस्कने ती कालो धुँवाको असर पर्ने जानकारी दिएका हुन्। ‘ब्ल्याक कार्बोनले हावा तताउने र हिउँ पगाल्ने काम गर्छ। भलै यो २ देखि चार सातासम्म मात्र रहन्छ’, पाण्डेले भने।

‘जलवायु परिवर्तन एक दिनको जाडो वा गर्मी होइन। यो त दशकौंदेखिको प्रक्रिया हो। उत्पादित कार्बन डायोअक्साइड सयौं वर्ष वायुमण्डलमा जम्मा भएर बस्छ। जुन पृथ्वीका लागि सिरकको खात सरह बनेको हुन्छ। त्यसले तापक्रम बढाउँदै लगेको छ‘, अरनिकोले जानकारी दिए। उनी वायुमण्डलीय विज्ञानका अध्यता।

कार्यक्रममा पाण्डेसँगै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण सचिव डाक्टर महेश्वर ढकाल वक्ता थिए। उनी वनको अर्थशास्त्र अध्यता। साथै अर्का वक्ता थिइन् शिलशिला आचार्य। उनी वातावरण विज्ञानको अध्यता एवं वातावरण संरक्षक अभियन्ता। उनीहरूसँगको छलफल सहजिकरण गरेका थिए रमेश भुषालले।

कार्यक्रममा जलवायु परिवर्तन, नेपालमा ती परिवर्तनले पारेको असर, राष्ट्रिय तथा अन्तर्राष्ट्रियमा यस विषयसँग जोडिएका समस्या समाधानका लागि भइरहेका पहल, नीतिगत् एवं संरचनागत् प्रयासबारे कुराकानी भए। साथै जलवायु परिवर्तन र वातावरणको भविष्यसँग जोडिएको विषयमा पनि वक्ताहरूले आ-आफ्नो अध्ययन, अनुसन्धानसहित धारणा व्यक्त गरे।

वैज्ञानिक अरनिको पाण्डेका अनुसार ४०/४५ वर्षअघि माछापुच्छ्रेबाट हिम नदी बग्थ्यो जुन अब बाँकी छैन। ‘नेपालका अन्य हिमाली भेगतिर पनि कति खेर हिउँ पग्लन्छ। नदी र ताल बढ्छन्। बाढी आउँछ निश्चित छैन’, उनले भने,’यहाँ हिउँमात्र पग्लदै हुँदैन खेती किसानीमा, खाने पानीमा, वर्षामा असर पुग्छ।‘

जलवायु परिवर्तनको वृहत रुपलाई हेर्ने हो भने एन्टार्क्टिका र आर्टिक महाद्वीपतिर पनि बरफ पग्लिएका छन्। त्यसका कारण समुद्रको सतह बढ्दो छ। हिमाली क्षेत्रतिर हिउँ पग्लिएर कति खेर ताल बन्छ बाढी आउँछ थाहा छैन। खेतीमा हुन्छ। तापक्रमले बादल र पानी पर्ने काममा पनि असर पुर्‍याएको हुन्छ।

तापक्रममा एक डिग्रीको फरक पर्नु दुई दिन कम जाडो हुनु वा लामखुट्टे चिसोतिर पनि बढ्दै जाने विषयसँग सम्बन्धि भएको बताए।

यसरी जलवायु परिवर्तन र यसले पारेको असरबारे राष्ट्रिय एवं अन्तर्राष्ट्रिय हिसाबमा छलफल एवं समस्या न्यूनिकरणका लागि पहल भइरहेको डाक्टर महेश्वर ढकालले जानकारी दिए। उनका अनुसार सन् १९९० को दशकमा भएको रियो सम्मेलन लगत्तै यो अन्तर्राष्ट्रिय मुद्दाका रुपमा चर्चा भइरहेको विषय हो। विशेषगरी कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूका कारण विकास उन्मुख देशहरूलाई प्रभाव परेकोकाले विकसित देशले कसरी विकास भइरहेका देशलाई जलवायु परिवर्तनसँग जोडिएका समस्या समाधानका लागि सहयोग पुर्‍याउन सक्छ भन्ने विषयमा बहसहरू हुने जानकारी दिए।

भने,’हाम्रोजस्तो देश मारमा छ। भर्खर विकासतर्फ उन्मुख हामीले केही हदमा कार्बोन उत्पादन गर्नसक्छौं यस्तोमा हामीलाई विकसित देशहरूले क्षतिपूर्ती दिनुपर्छ, जलवायु परिवर्तन न्यूनिकरणका लागि सहयोग पुर्‍याएर। त्यसका लागि आवश्यक फोरम बनेका छन्।‘

नेपाल जलवायु परिवर्तन र त्यसको प्रभाव न्यूनिकरणका लागि सन् २०१० देखि सक्रिय रहेको उनको दावी छ। स्थानीय तहहरूमा पनि नीतिगत र संरचनागत् काम भएपनि ती नीति कार्यान्वयनका लागि अझै प्रष्ट हुनुपर्ने तर्क राखे। 

त्यस्तै वातावरण संरक्षण अभियन्ता शिलशिला आचार्यले भने जलवायु परिवर्तनलाई अन्तर्राष्ट्रिय मुद्दाका रुपमा मात्र हेरिने समस्या व्याप्त भएको बताइन्। बरु जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि शक्तिमा भएकादेखि प्रभावित जनमानसले मिलेर काम गर्नु पर्ने उनको तर्क हो।

‘जसले प्रत्यक्ष दु:ख भोगिरहेका छन् त्यहाँबाट परिवर्तन र पहल सुरु गरिनुपर्छ। त्यसमा राज्यको एवं शक्तिमा भएकाहरूको सहयोग चाहिन्छ। आखिर प्रभावित वर्ग सबै हुन्’, उनले भनिन्। आफूहरूले पोलिथिनको झोला प्रतिबन्ध गर्ने अभियानलाई मुख्य उदाहरणका रुपमा प्रस्तुत गरिन्। उनीहरूले झोलामा प्रतिबन्ध लगाउन खोज्दा बजारले झोला उत्पादकको दोष देखाउने, उत्पादक नीतिगत स्पष्टता खोज्ने र सरकार आम मानिसको चेतनामा प्रश्न गरेको उनले बताइन्।

भनिन्,’मारमा परेका कृषक हुन्। दैवी प्रकोप पीडित हुन्। समयमा पानी नपर्दा स्थानीय उत्पादनमा असर पर्छ। तर हामी चाहिं समस्या समाधानका लागि अन्तर्राष्ट्रिय पैसा वा समाधानका उपाय खोज्छौं। यो दु:खद् विषय हो।‘ 

यस क्षेत्रका लागि नेपाल सरकारसँग बजेट भएर पनि स्रोत, साधन र पर्याप्त काम नभएको बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell