वाग्मती : वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले मुख्यमन्त्री डोरमणि पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम रहेको बताएका छन्। आइतवार मन्त्री फुँयालले मुख्यमन्त्री पौडेलले प्रदेशसभामार्फत विश्वासको मत लिएर पाँचै वर्षको कार्यकाल पूरा गर्ने दाबी गरे।
मन्त्री फुँयालले प्रदेशसभामा दर्ता गरिएको भनिएको अविश्वासको प्रस्तावमा अन्य प्रयोजनका लागि प्रदेशसभा सदस्यले गरेका हस्ताक्षरको दुरुपयोग भएको पाइएको तथा प्रस्तावमा हस्ताक्षर गरिएका सदस्यले आफ्नै दलका नेताविरुद्ध अविश्वासको प्रस्तावमा आफ्नो नाम र हस्ताक्षर कीर्ते भएको बताएकोसमेत बताए। उनले कसैलाई मुख्यमन्त्री बनाउन वा बनिन विकास र समृद्धिको अभियानलाई नै गम्भीर असर पर्ने गरी थालिएको अस्थिरताको बिजारोपण रोकिने र अमूक व्यक्तिको मुख्यमन्त्री हुने रहरलाई ‘भित्ते मुख्यमन्त्री’ को रूपमा सीमित पारिने दाबी गरे।
प्रचण्ड माधव नेपाल पक्षले अष्टलक्ष्मी शाक्यलाई वाग्मती प्रदेशको संसदीय दलको नेतामा चयन गर्दै भावी मुख्यमन्त्रीका रुपमासमेत प्रस्ताव गरिसकेका छन्। वाग्मती प्रदेशका मुख्यमन्त्री पौडलविरुद्ध पुस १० गते अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ भने तीन जना मन्त्रीले राजीनामा दिइसकेका छन्।
पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका प्रदेश संसदहरुले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। सोही दिन मुख्यमन्त्री पौडेल सरकारबाट आन्तरिक व्यवस्था मन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका हुन्।
उनीहरुले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूखुशी काम गरेको र संसदीय दलको कुरा नमानेको आरोप लगाएका छन्। मुख्यमन्त्री पौडेल ओली निकट नेता हुन्। यससम्बन्धी निर्णयका लागि वाग्मती प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको सातौँ बैठक (अधिवेशन) आगामी माघ ७ गते आह्वान गर्न प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई सिफारिस गर्ने निर्णय गरिसकेको छ।
मुख्यमन्त्री पौडेलको अध्यक्षतामा बसेको बैठकले अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो।
सरकार गठन भएको तीन वर्ष पनि नपुग्दै भण्डै एक हजार ५०० किलोमिटर सडक बनाएको, १०० भन्दा बढी पुल बनाएको, सुरुङमार्ग निर्माण प्रारम्भ गरेको, विद्युतीय सवारी सञ्चालनको आधार तयार पारेको, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान शुरुआत गरेको, प्रदेशका विभिन्न अस्पतालमा आइसीयू तथा भेन्टिलेटरसहितको सेवा सञ्चालन गरेको फुँयालले दाबी गरे। यसै गरी उनले प्रदेश सरकारले दुई हजारभन्दा बढी विद्यार्थी पढ्न सक्ने प्राविधिक विद्यालय निर्माण प्रारम्भ गरेको, जिल्ला जिल्लामा चक्लाबन्दी खेती शुरु गरी प्रदेशलाई आत्मनिर्भर बनाउन भूमिका खेलेको, किसानको उत्पादन सुरक्षित राख्न प्रदेशका सबै जिल्लामा शीतभण्डार निर्माण गरेको, अन्तर्राष्ट्रियस्तरको कृषि बजार स्थापनाको काम प्रारम्भ गरेको, दुग्ध तथा मासुजन्य पदार्थमा प्रदेशलाई आत्मनिर्भर बनाउन भूमिका खेलेको, युवालाई उद्यमशील बनाउन उद्यमशीलता कार्यक्रम शुरु गरिएको, हजारौँ घरबारविहीन नागरिकलाई पक्का घरको व्यवस्था गरेको, ज्येष्ठ नागरिकको निःशुल्क उपचारको व्यवस्था गरेकोजस्ता मुख्यमन्त्री पौडेल नेतृत्वको सरकारले गरेको दाबी गर्दै उनको कामहरुबाट आत्तिएका व्यक्तिहरुले गलत मनासायले सरकारलाई असफल देखाउन हस्ताक्षरको समेत कीर्ते गरी अविश्वासको प्रस्ताव दर्ता गरिएको आरोप लगाए। राससको सहयोगमा