PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

भारतमा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता अपनाउन आग्रह, कुखुराजन्य वस्तुको आयातमा रोक



भारतमा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता अपनाउन आग्रह, कुखुराजन्य वस्तुको आयातमा रोक
Photo : Times Of India

काठमाडौं : कृषि तथा पशुपन्छी मन्त्रालयले बर्डफ्लू फैलिनबाट रोक्न उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। 

भारतका विभिन्न स्थानमा बर्डफ्लू देखिएपछि विशेषगरी तराईका क्षेत्रमा उच्च सतर्कता आपनाउन  मन्त्रालयले आग्रह गरेको हो। मन्त्रालयले मातहतका सातवटा सीमा नाका कार्यालयलाई पत्र पठाउँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो।

मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरेले कुखुराजन्य वस्तुको आयातमा रोक लगाउँदै उच्च सतर्कता अपनाउन नाकामा रहेका क्वारेन्टाइन कार्यालयलाई निर्देशन दिइएको जानकारी दिए। 'नेपालमा भारतको हिमाञ्चल प्रदेशबाट बर्डफ्लू भित्रने सम्भावना उच्च रहेको छ। संक्रमणलाई ध्यानमा राख्दै केही समय हिमाञ्चलसँगै भारतबाट भित्रिने कुखुराजन्य प्रजातिका वस्तुको आयातमा रोक लगाइएको हो', उनले भने।

उनका अनुसार सीमा नाका कार्यालयसँगै मन्त्रालयले तराईका केही जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउँन समेत निर्देशन दिएको छ।

'खुला सीमा नाका हुँदा सीमाभन्दा बाहिरबाट समेत कुखुरा भित्रने सम्भावना उच्च रहेको छ। बर्डफ्लू नियन्त्रण आदेशको अधिकार प्रयोग गरेर प्रमुख जिल्ला अधिकारीलाई सम्पर्कमा बस्न आग्रह गरिएको हो', उनले भने, 'लुकाएर ल्याइएका कुखुरा नष्ट गर्ने, कुखुरा ल्याउनेलाई कारवाहीको सम्पूर्ण अधिकारी जिल्लाका प्रमुखलाई रहन्छ।'

मन्त्रालयले काँकडभिट्टा, वीरगंज, भैरहवा, कृष्णनगर, नेपालगंज, कैलाली तथा गड्डाचौकी नाकामा उच्च सतर्कता अपनाउन र आवश्यक परे प्राविधिक तथा अन्य स्रोत साधनको प्रयोग र थप जनशक्ति माग गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिएको छ।

मन्त्रालयले भारतबाट कुखुरा आयात गर्ने व्यवसायीलाई समेत उच्च सतर्कतामा रहन आग्रह गरेको छ। नेपालमा बर्डफ्लू संक्रमण भित्रन नदिन केही समय कुखुरा आयातमा रोक लगाइएको जनाउँदै व्यवसायीलाई समेत सतर्कता अपनाउन आग्रह गरिएको प्रवक्ता घिमिरे जानकारी दिए।

मन्त्रालयअन्तर्गत देशभर १६ पशु क्वारेन्टिन कार्यालय छन्। देशभर कतै ठूलो परिमाणमा कुखुरा मरे वा शङ्कास्पद लक्षण देखिए तुरुन्त मन्त्रालय वा नजिकैको कार्यालयमा सम्पर्क गर्न पनि मन्त्रालयले कृषकलाई आग्रह गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell