काठमाडौं : वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपाली राजनीतिको फोहरी खेलले जनतालाई दुःख दिइरहेको टिप्पणी गरेका छन्।
आचार्यले ४० वर्ष अगाडि आफूहरुले कलाकारिता शुरु गर्दा राजनीतिमा जस्तो अवस्था थियो अहिले व्यक्ति परिवर्तन भए पनि प्रवृति परिवर्तन हुन नसकेको बताए। राजनीतिक विसंगतिले गुण्डा प्रवृतिका व्यक्ति संसदमा छिरेको उनले बताए।
आचार्यले भर्खरै समसामयिक राजनीतिलाई समेटेर एक व्यङ्ग्य मिश्रीत गीत पनि सार्वजनिक गरेका छन्। नेपालमा बढ्दै गएको भ्रष्टाचार र राजनीतिक अस्थिरतालाई लिएर गीत बनाइएको कलाकार आचार्यले बताए।
भने, ‘यो गीत कुनै व्यक्ति नेतालाई तोकेर भनेको पनि होइन। कुनै दललाई तोकेर भनेको पनि होइन। युट्युबमा कमेन्टहरु आउँदाखेरी फलानोको नाम लिएर यसलाई भनेको यस्तो भनेको भनेर कमेन्टहरु आउँछ। तर प्रवृतिलाई भनेको हो। जुन नेपालमा दण्डहिनताको प्रवृति छ त्यो प्रवृतिमाथि व्यङ्ग गर्ने हो।’
आफूहरुले देशमा सुशासन र विधिको शासन होस् भन्ने चाहेको भन्दै भ्रष्टाचार संसारमा जहाँपनि हुने तर त्यसको पनि मापदण्ड हुने बताए।
‘हाम्रो मापदण्ड एकदमै नाघेको जस्तो लाग्छ। हुनत सरकारले भ्रष्टाचार गर्न दिन्न भनिराखेको छ। तर हामीले गरेको पनि देखेका छौं। कुनै व्यक्तिले नहोला तर समूहमा कसैकसैले गरेको देखिराखेका छौं।’
कलाकार आचार्यले राजनीतिक क्षेत्रमा लामो समयदेखि प्रवृतिको रुपमा रहेको भ्रष्टाचार गाडिएको पनि बताए।
‘चुनाव भन्ने एउटा कस्तो माध्यम भयो भने देखि अब खुट्टामा चप्पल पनि लगाउन नसक्नेहरुले चुनाव लडिसकेपछि केही वर्षमा गाडि चढेर हिंडेको हामीले देखेका छौं। सबै नेतालाई भनेको होइन। गीतमा पनि त्यही भनिएको छ।’
राजनीतिमा लागेर धेरै व्यक्तिहरु अर्बपति भएको र रहनसहनमा ठूलो परिवर्तन आएको देखिएको कुरालाई गीतले देखाएको पनि आचार्यले बताए।
‘राजनीतिलाई नै उद्योग बनाउन भएन, व्यापार बनाउन भएन भनेर गीतमा देखाउन खोजिएको छ। नेपालमा यही प्रवृति रहेका कारण जनतामा निराशा आएको हो। राजनीतिमा मात्रै होइन, प्रशसनिक क्षेत्रमा पनि त्यत्तिकै भ्रष्टचार छ। जनतालाई सानो काम गर्न पर्यो भनेपनि केही राहत नदिइकन त्यो काम फत्ते होला भन्ने आश नै गर्नुपदैन’ उनले भने।
देशको प्रजातन्त्र एउटा प्रजातान्त्रिक प्रवृतिमा भन्दापनि राजनीतिक नेतृत्व गर्ने व्यक्तिको प्रवृतिमा निर्भर हुने उनले बताए।
भने, ‘हाम्रो देशको डेमोक्रयासी अब बाँदर नभनौं, बाँदर जस्तोजस्तो मान्छेले सञ्चालन गरेको छ। त्यस्तै त्यस्तै भइदिएको छ। जुन भाँडामा पानी हालिन्छ त्यही आकार जस्तो भयो।’
कुनैपनि व्यक्ति कला साहित्यको क्षेत्रमा सफल हुँदैमा राजनीतिमा सफल नहुने मान्यता पनि आचार्यको छ। राजनीतिक व्यक्तिमा संगठन निर्माण, योजना निर्माण लगायतमा योग्य हुनुपर्ने उनको मत छ।
‘कला साहित्यको क्षेत्रमा केही गर्न सक्यो भन्दैमा राजनीतिमा पनि त्यो मान्छे सफल हुन्छ भन्ने छैन। त्यो प्रकृतिले दिएको हुन्छ’ उनले भने।
चुनावमा राजनीतिक नेतृत्वले ठिक व्यक्ति छान्न नसक्दा राजनीतिमा सही व्यक्ति आउन नसकेको बुझाई पनि आचार्यको छ।
‘मान्छेको चरित्र आचरण नबुझिकन जोपायो त्यसलाई राजनीतिक पार्टीले टिकट दियो भनेदेखि फेरी चुनाव जितेर आउँने डनहरु नै हुन। डनहरुले छानेको मान्छेहरुलाई स्वच्छ शासन गर्न गाह्रो हुन्छ। ती व्यक्तिहरुसँग डर भइरहन् । त्यो कारणले गर्दा राजनीतिक संस्कार नै परिवर्तन हुनुपर्छ।’