PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अस्पतालमा डाक्टरसमेत देख्न नपाउने हाम्रो देशमा मानिसहरुले कसरी बुझ्लान् कोरोना


बनिता खनाल/पहिलोपोस्ट

अस्पतालमा डाक्टरसमेत देख्न नपाउने हाम्रो देशमा मानिसहरुले कसरी बुझ्लान् कोरोना

विश्वभरका एघार लाखभन्दा बढी मानिस कोरोना भाइरस संक्रमित भइसके। यस भाइरसकै कारण मृत्यु हुनेको संख्या पनि बढ्दो छ। संक्रमण नभएकामा पनि त्रास र पीडा उस्तै। यस भयावह स्थितिले पार्ने मनोसामाजिक प्रभावको पाटो बेग्लै छ।

अवस्था नेपालमा पनि केही फरक छैन। यसको लक्षण र असरबारे मानिस जति यस भाइरस र यसको संक्रमणबारे सोच्दै जान्छन् त्यति नै जटिल बन्दै जान्छ बुझाइ।

मेरो व्यक्तिगत अनुभव भने केही फरक छ। घर परिवारमा चिकित्सक भएकाले हामी यस भाइरसबारे चर्चा सुरु भएसँगै सतर्क रह्यौं। यस भाइरस संक्रमणबाट कसरी जोगिने बुझ्यौं। संयमित बन्यौं। तर सबैको घरमा वा नजिकै यस संक्रमणबारे बुझाउन चिकित्सक वा विज्ञ हुँदैनन्, मैले यो सत्य स्वीकार्नु पर्छ। स्वास्थ्य चौकी, अस्पतालमा समेत डाक्टर देख्न नपाउने मानिस छन्। उनीहरुले कसरी बुझ्लान् यो संक्रमण र यसले निम्त्याउने अवस्थालाई?

अनि हाल संक्रमण, संक्रमितको बारेमा जुन तरिकाले सामाग्रीहरु प्रस्तुत भइरहेका छन् त्यसले झनै उल्झन् सिर्जना गरेको महसुस गरेकी छु। सबै भन्छन्, 'न आत्तिनुस्। घरमै सतर्क बस्नुस्' । तर, सामाजिक सञ्जालदेखि मिडियाहरुमा जस्ता सामग्री प्रस्तुत भइरहेका छन् तिनले अत्यास् लगाउँछन् नै। 'यो समाचार झुटो होला कि साँचो?' सोच्न बाध्य भइन्छ। तर यति धेरै मिडिया त्यति नै धेरै सामग्रीहरु। कति केलाउनु? केमा विश्वास गर्नु, केलाई नगर्नु? आखिर आफ्नो र आफ्नाको स्वास्थ्य र जिन्दगीसँग जोडिएका विषय हुन्।

सुरुवातदेखि नै मानिसले कोरोना भाइरसलाई बुझ्न चाहे। त्यसका लक्षण बुझ्न चाहे। सञ्चार माध्यमले भने यस्ता हुन् लक्षणहरु – उच्च ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, घाँटीमा समस्या हुनु आदि। मानिसले सोही अनुरुप गरे। लकडाउन हुनुअघि त सार्वजनिक स्थल, भिडभाड केही भनेनन्।

'मलाई कोरोनाको लक्षण छैन, म किन घर भित्र बसुँ?' भन्ने हिसाबले बाहिर निस्किए। त्यतिन्जेल मिडियाले भनेनन् – कुनै लक्षण नदेखिइ पनि तपाईंमा कोरोना भाइरसको संक्रमण भइसकेको हुनसक्छ।

हो, कोरोना भाइरसले मानिसको शरीरमा प्रवेश गरेलगत्तै लक्षण देखाइ हाल्दैन। त्यसका लागि कम्तीमा १४ दिन लाग्छ। लक्षण नदेखिए पनि मानिसबाट मानिसमा सर्न भने क्षणभर पनि लाग्दैन। त्यसैले त राजनीतिक, सामाजिक, आर्थिक, सामुदायिक सीमाहरु पार भए। चीनको वुहानबाट आउटब्रेक भएको तीन महिनामा विश्वभर फैलियो, महामारीका रुपमा।

सावधानीको न्यूनतम् उपायहरु – साबुन पानीले हात धुने, स्यानिटाइजर र मास्ककको प्रयोग, भिडभाडमा नजाने, सामाजिक एवं शारीरिक दूरी कायम गर्ने जस्ता वियषमा त हामी जानकार भइसक्यौं। कम्तीमा मिडिया र इन्टरनेटको पहुँच भएकाहरु। त्यसलाई प्रयोग गर्न जान्नेहरु। तर थाहा भएर पनि हामी अटेर गर्छौं – मलाई त यो हुन सक्दैन वा अहिलेसम्म संक्रमण छैन भन्ने कुराले जित्छ। त्यसैले त विदेशबाट फर्किएको कम्तिमा १४ दिन आफैलाई क्वारेन्टाइनमा राखौं भन्ने निर्देशन मानेनौं। त्यसैको नतिजा स्वरुप नेपालका सुरुवाती ९ मध्ये ८ वटा संक्रमणका केस आयातित हुन्, कतार, फ्रान्स, चीन, दुबई, भारत आदि देशबाट।

त्यसैले हालका लागि पछिल्लो एक महिना भित्रमा नेपाल भित्रिएका हौं भने वा उनीहरुको निकट सम्पर्कमा रहेका छौं भने हामीले आफैलाई र आफ्नालाई अनिवार्य सेल्‍फ क्वारेन्टाइनमा राख्नै पर्छ। आयातितबाट स्थानीयमा सरिसक्यो संक्रमण। अब पनि हामीलाई संक्रमण हुँदैन भन्ने सोचेर रहनुले हामीलाई नै हानी गर्छ।

यो मौका पनि त हो घरभित्रै रहने।

अनि ज्वरो आएमा, खोकी लागेमा, सास फेर्न अप्ठ्यारो गर्नु परेमा अस्पताल जाऔं। संकेत देखिँदैमा संक्रमण भएको नहुन सक्छ। तर सतर्क रहनु र ढुक्क बस्न पनि उत्तिनै आवश्यक छ।

हात चाहिं धोइ राखौं, साबुन पानीले। नधोएको हातले मुखतिर झुक्केर पनि नछोऔं। आखिर हामीले गर्ने आफ्नै लागि त हो। अनि अँ केही समयलाई आफ्नाबाट केही टाढा रहेर सधैंभरीका लागि टाढा नहुने सम्भावना कायम राखौं। शारीरिक दूरी कायम राखौं।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट