PahiloPost

Dec 14, 2019 | २८ मंसिर २०७६

छोराछोरी ‘भाइरल’ बनाउने मानसिकता: कति सही, कति गलत?


स्वेच्छा राउत/पहिलोपोस्ट

छोराछोरी ‘भाइरल’ बनाउने मानसिकता: कति सही, कति गलत?

केही अघि इन्स्टाग्राम फिडमा सञ्जित श्रेष्ठ नामको अकाउन्टमा भिडियो अपलोड भयो। भिडियोमा एक बुबा आफ्नी छोरीलाई भुईँमा छरिएका सामानहरु कुन-कुन रङका हुन् भनेर सोध्छन्। अढाई वर्षीया छोरी साइलिन ती सामानहरुको रङ एकएक गर्दै बताउँदै बास्केटमा हाल्छिन्।

 

 

 

 

 

View this post on Instagram

 

 

 

 

 

 

 

 

 

She is love ❤️ #talentedkids #daughter #love 😘 watch full video from bio 👆

A post shared by Sanjeet Shrestha (Official) 💪 (@sanjeetshresthaofficial) on

तोते आवाज, रङहरुको ज्ञान। साइलिनको 'क्युटनेस' र क्षमताले दङ्ग तुल्यायो। मैले भिडियो दोहोर्‍याएर हेरेँ। प्रोफाइलमै गएर अरु भिडियो पनि हेरेँ।

रङ, शरीरका अङ्ग, ठाउँदेखि देशको प्रधानमन्त्रीको नाम, सबै कण्ठस्थ। एउटा बुबाले छोरीलाई दिएको समय, सिकाउन बुझाउन गरेको मिहेनत र त्यही अनुरुप छोरीको प्रस्तुति देखेर म छक्क परेँ। हरेक भिडियो र फोटोमा हजारौं लाइक र कमेन्ट। यही भिडियोका कारण मैले पनि सञ्जित श्रेष्ठलाई फलो गरेँ। उनले अपलोड गर्ने नयाँ भिडियोहरुसँग अपडेटेड रहन थालेँ।

एकदिन उनको माइ स्टोरीमा आँखा पुग्यो- भर्खरै निद्राबाट ब्युँझिएकी छोरीलाई सोध्दै थिए- 'पापाको माया कति लाग्छ?'

छोरीले निद्राकै सुरमा जवाफ फर्काइन्- 'धेरै'।

त्यो शब्दले उनलाई त अत्याधिक खुशी दियो होला। तर, त्यसरी भर्खर ब्युँझिएको बच्चाको ओच्छ्यानमै भिडियो बनाएर 'माइ स्टोरी'मा राखेको भने मलाई मन परेन। मलाई मन परेन उनले छोरीलाई बुबा, आमाको भूमिका निर्वाह गर्न लगाएर -हाम्री छोरी साह्रै बिग्रियो, पिटाइ नपुगेको, मुख च्यात्दिन्छु जस्ता संवाद घोक्न लगाएको।

उनको आवाजमा- 'आइ लभ यु बाबा' नै मीठो सुनिन्छ।

साइलिनलाई हेरेर खुशी भएको म केही दिनमै खिस्रिक्क परेँ। जब फेसबुकमा देखिने 'राष्ट्र प्रेमका लागि एक लाइक', 'मनोकामना पूरा गर्न एक सेयर', 'सहयोगका लागि एउटा कमेन्ट गर्दिनु होला'को कोटामा साइलिनको भिडियो देखेँ। फेसबुकमा पोस्ट गरेका हरेक भिडियोको तल युट्युब च्यानलको लिंक जसमा लेखिएको छ-  'एक सेयर गरेर छोरीलाई विश्वभर छरिएर बस्नुभएका नेपालीबीच चिनाउनलाई साथ दिनुहोला', 'जति जनाले हौसला, प्रेम, साथ र आशीष दिनुभयो, हामी आभार प्रकट गर्दछौँ। दुई चारजना फाट्टफुट्ट नराम्रो कमेन्ट गर्नेहरुलाई हाम्रो तर्फबाट गड ब्लेस यु भन्दछौँ।'

आखिर केका लागि विश्वभर चिनिनुको मोह? सर्वाधिक हिट्स, मनिटाइज, अकाउन्टबाट हुने फाइदा या छोरीको लोकप्रियता?

लोकप्रियता कसका लागि? आफ्नो या छोरीको? (छोरीका भिडियोहरु उनकै च्यानल र अकाउन्टबाट सार्वजनिक हुन्छन्)। उनी स्वयंले स्वीकारेका छन्- 'छोरीकै कारणले मलाई धेरैले चिन्नुहुन्छ र म खुशी छु।'

भोली बुबाले यत्रो मिहिनेत गरेर, आग्रह गरेर, पोस्‍ट बुस्ट गरेर, नकारात्मक कमेन्ट गर्नेलाई व्यङ्ग्य गरेर पाएको पहिचान छोरीलाई मन परेन या उनलाई खुशी बनाएन भने?

***

घटना सन् २०१६ को हो। अस्ट्रियाकी अठार वर्षीया युवतीले आफ्ना अभिभावकविरुद्ध मुद्दा हालिन्। उनले आफ्नो अनुमतिबिना बाल्यकालदेखिका फोटो सामाजिक सञ्जालमा पोस्ट गर्नुलाई गोपनीयताको हनन् मानिन्। उनलाई ती फोटो लज्जास्पद् लाग्यो। पटक-पटक हटाउन आग्रह गरिन्। मानेनन्। अनि मुद्दा हालिदिइन्।

एक अन्तर्वार्तामा उनले भनेकी छिन्- 'सयौँ मान्छेमाझ मेरो फोटो सार्वजनिक गर्नुको पनि सीमा हुन्छ। तर, उहाँहरुलाई लाज छैन। म जे गर्छु त्यसको फोटो खिच्नु हुन्छ र सार्वजनिक गर्नुहुन्छ।'
जब उनी १४ वर्षकी भइन् तब आफ्नो फेसबुक अकाउन्ट खोलिन्। त्यसपछि बल्ल आमाबुबाले पोस्ट गरेको ती फोटोबारे थाहा पाइन्। उनलाई मन परेन।

पहिलोपटक सन् २०१६ मा ती युवतीले आफ्नै अभिभावकविरुद्ध यस्तो कदम उठाएपछि, धेरै युवा युवती निस्किए जसले आफ्ना बाल्यकालदेखिका सार्वजनिक गरिएका भिडियो र तस्विरलाई लज्जास्पद् र गोपनीयताको हकविरुद्ध भएको पाए।

त्यसपछि जर्मन मिडिया ल फर्मले त अभिभावकहरुलाई बालबालिकाको अनुमतिबिना उनीहरुको फोटो सार्वजनिक नगर्न आदेश नै जारी गर्‍यो।

गत वर्ष मात्र इटालीका १६ वर्षीय युवकले आमाविरुद्ध कानुनी लडाईँ लडे। आफ्ना फोटोहरु फेसबुकबाट हटाउन लगाए र दश हजार युरो जरिवाना पनि तिराउन सफल भए।


सुन्दा अनौठो लाग्छ। किनकी नेपालको हकमा भर्खरै जन्मिएको शिशुलाई सफा गर्नुअघि फोटो सार्वजनिक गर्ने ट्रेन्ड केही वर्षयता मात्र सुरु भएको छ। आफ्नो मात्र होइन आफन्त, साथीभाई, सहकर्मी आदि जोसुकैको सन्तानको फोटो पनि पोस्ट गर्छौं, बिना कपडा, नि:सन्देह।

अरु पनि, बच्चा नुहाइरहेको फोटो। भर्खर निद्राबाट बिउँझिएको बालबालिकासँग सवालजवाफ गरेको भिडियो। वर्ल्डकपमा अर्जेन्टिना वा ब्राजिल हार्‍यो भनेर रोएको पोस्ट। बालकले अश्लील बोलेको भिडियो। पढ्न मन लाग्दैन भनेकोदेखि पढिनस् भने यस्तो सजाय दिन्छु भनेकोसम्म पनि।

जसको औचित्य लाइक र कमेन्टमा वर्षने बधाईभन्दा बढी सायदै केही होला। यहाँ फोटोको प्रकृतिको प्रवाह गरिन्न। गोपनीयताको हक धेरै परको कुरा हो। आफ्नो बच्चाको फोटो या भिडियो दुरुपयोगको डर समेत देखिँदैन।

तर, डराउनु पर्ने कारण छ। फेसबुक, ट्विटर, इन्सटाग्रामजस्ता सामाजिक सञ्जालमा राखिएका फोटोहरु दुरुपयोग हुने सम्भावना धेरै छ। विभिन्न डिजिटल किडन्यापिङ र दुर्व्यवहारजन्य सामाग्रीहरुमा प्रयोग भएको रिपोर्ट सार्वजनिक भएको छ। अरुको बच्चालाई आफ्नो बच्चा भनेर चिनाउनेदेखि, झुटा क्याप्सनसहित गलत प्रयोजनमा ल्याउने, यौनजन्य सामाग्रीमा बालबालिकाको फोटो प्रयोगसम्म हुने गरेको छ।

फोटो भिडियो सामाजिक सञ्जालमा राख्नुको मतलव ती सामग्रीमाथि आफूले नियन्त्रण गुमाउनु हो। यस्ता सामग्रीको दुरुपयोग हुने सम्भावना यहीँबाट सुरु हुन्छ। हरेक सामाजिक सञ्जालले 'प्राइभेसी सेटिङ'को विकल्प दिएको छ। कसैले प्रयोग गर्छौं। कसैले गर्दैनौं।प्रयोग नगर्नेले जानेरै बालबालिकाले खाएको, हिँडेको, रोएको, हाँसेको सामाग्री पोस्ट गर्छौं र त्यसलाई सहजै जो कसैले दुरुपयोग गर्न सक्छ।

साइलिन श्रेष्ठकै नाममा पनि दुईवटा फेसबुक अकाउन्ट भेटिन्छ अहिले। ती दुवै अकाउन्टमा उनको बुबाले फेसबुक र इन्सटाग्राममार्फत् सार्वजनिक गरेका फोटोहरु प्रयोग गरिरहेको देखिन्छ। हाल दुवै अकाउन्ट निष्क्रिय छ। कसैले त्यसरी फोटो, नाम प्रयोग गर्नु अभिभावकलाई स्वीकार्य हुनसक्छ। तर, सवाल, भोलि बच्चा बुझ्ने भएपछि, उसलाई कस्तो लाग्ला? भन्ने हो।

धेरैले आफ्नो छोराछोरीको फोटो, भिडियो कसले कसरी प्रयोग गरेको छ भन्ने निगरानी गरिरहेका हुँदैनन्। किनकी धेरैले प्रयोग गर्नु, धेरैले चिन्नु, लाइक, कमेन्ट, सेयरको वर्षा हाम्रो लोभ र रहर बनेको छ। सामाग्री जस्तोसुकै होस् मलतव छैन। प्रभाव जस्तोसुकै परोस्, त्यो पनि चासोको विषय होइन। उद्देश्य के? प्रष्ट छैन। बस् विश्वभर चिनिनु छ। सबैको माया चाहिएको छ। यहाँ मायाको अर्थ- लाइक, कमेन्ट र सेयरमात्रै भएको छ।

केही समयअघि रामशंकर अधिकारीले छोरा आर्जन अधिकारी रोएको भिडियो टिकटकमा राखे। भिडियोमा आर्जनले भनेका छन्- 'मलाई भोलि पेट दुख्छ भन्या। हन्ड्रेडसम्म भन्दाखेरि ब्यान हुँदैन।' 

उनी रुँदै बोले। भिडियो भाइरल भयो। सबैले उनलाई हाँसोको पात्र बनाए। उनको आवाजमा धेरैले टिकटक बनाए। ती टिकटक रामशंकरले खुशी हुँदै सेयर गरे। भविष्यमा त्यही भिडियो हेरेर छोराले कस्तो महसुस गर्ला?  सायद् उनले त्यसबारे सोचेनन्। अहिले पो आर्जन ठीक, बेठीक छुट्याउन सक्ने भएका छैनन्। 'बाबा यो मलाई मन परेन। हटाउनुस्' भनेर तर्क गर्न सक्ने भएका छैनन्। भोलि अस्ट्रियाकी युवतीले जस्तै उनीविरुद्ध कानुनी उपचार खोजे भने?

भिडियो हेरेर रमाउनेहरुले पनि टिकटक छायाङ्कन गरिरहँदा बालक कुन मानसिक स्थितिमा थिए? त्यसबारे चासो राखेनन्।

बालक उसैगरी स्कूलमा क्लासवर्क गर्दा रोएको भए र शिक्षकले भिडियो बनाएर पोस्ट गरेको भए बाल हिंसाको आरोप लाग्थ्यो। बाल मस्तिष्कमा पर्ने असरबारे विचार मन्थन हुन्थ्यो। हेलो सरकारलाई मेन्सन गरेर विद्यालय र सम्बन्धित शिक्षकलाई कारवाहीको माग गर्थे। तर, अभिभावक आफैंले गरेका छन् यस्तो काम। त्यसैले यसलाई गलत गरियो भन्ने समेत बुझ्न सकेका छैनन्। बालबालिकाको यस्तो सस्तो प्रयोगलाई आमाबुबाको हक भनेर नजरअन्दाज गर्न मिल्छ?

यस्ता सामाग्रीले आमाबुबा पनि चर्चामा आउनुका कारण एकपछि अर्का बालबालिका प्रचारात्मक सामाग्रीको शिकार भएका छन्।

'भोलि मलाई पेट दुख्‍छ' चर्चामा आएपछि नै एक आमाले छोराको भिडियो बनाइन् जसमा छोरा खाना खाँदै बोल्छन्। भन्छन्- 'पढेर केही हुँदैन मम्मी। पढिस् भनेर सोध्दा अँ भन्न मात्र काम लाग्छ। 

भाइरल भएपछि युट्युबभरी छ्याप्छ्याप्ती आमाबुबाको अन्तर्वार्ता। त्यो आफ्नो सन्तानको रहरको विषय हो या होइन भन्ने प्रश्न गौण।

लोकप्रियताको यही आगोमा घ्यू थपेका छन् फिल्म निर्माता, निर्देशकले पनि। प्रेम, सम्बन्ध, जीवन, समाधीबारे बडेमानका संवाद घोकाउनेहरुलाई बाल मनोविज्ञानमा पर्ने असरको मतलव छैन। सक्दो सहयोग पुर्‍याएका छन् बालकलाकारका आमाबुबाले।

उनीहरु स्वयं फिल्म प्रचारका लागि छोराछोरीसँगै हिँड्छन्। अन्तर्वार्ता दिन्छन्। नजिकै अर्को बालक वा बालिका राख्छन्। र, भन्छन्,'म उसलाई ज्वाइँ स्वीकार्न तयार छु,’ ‘फलानो मेरी बुहारी बन्न योग्य छिन्।‘

यसरी सीमित हजारमा चिनिएकाले सायदै थाहा पाउलान् पढ्न बसेको छोरालाई परीक्षाफलको रिपोर्ट कार्डको भन्दा बढी चिन्ता आफ्नो अन्तर्वार्ताको युट्युब हिट्सको हुन थालेको। पढाई बिग्रेको कम्प्लेनभन्दा बढी तनाव फेसबुकको फोटोमा आएको नकारात्मक कमेन्टले दिन थालेको।

अभिभावक नियन्त्रक बन्छन्। जब नियन्त्रक नै लोकप्रियता र क्षणिक रमाइलोका खातिर आफ्नो बालबालिकालाई 'वस्तु' बनाउँछन् तब त्यसले पार्ने मनोवैज्ञानिक असर, सम्भावित दुरुपयोगबारे कसले सोचिदिने? बालबालिका आफ्नो इच्छा व्यक्त गर्न सक्दैनन्। न त आफ्नो नुहाइरहेको वा रोइरहेको भिडियो, तस्विर लज्जास्पद् भएको थाहा पाउँछन्।

मनोविद् पुष्पा थपलियाका अनुसार सामाजिक सञ्जालमा बढ्दो यस्ता गतिविधिले बालबालिकाको मनोवैज्ञानिक विकासमा ह्रास ल्याउँछ। उनीहरुमा एकोहोरोपन बढ्छ। हुर्कँदै जाँदा धेरै लजाउने, सामाजिक गतिविधिमा सहभागी नहुने समस्या देखिन्छ। बालबालिकामा मात्र नभएर अभिभावकको पनि मनोविज्ञानमा असर गर्ने उनको तर्क छ। चाहे अनुरुप चर्चा नपाउँदा उनीहरुमा डिप्रेसन देखिन्छ। बाल्यकालमा अत्याधिक चर्चा कमाएकाको चर्चाको भोक बढ्दै जाने, हुर्कँदै जाँदा धेरैले नचिन्ने, फोटो/भिडियोमा कम लाइक, कमेन्ट आउँदा आत्मविश्वासमा कमी आउने, दिक्दारी बढ्ने जस्ता समस्या देखिने थपलिया बताउँछिन्। 

केही समययता इशान राउतको अन्तर्वार्ता धेरैभन्दा धेरै युट्युब च्यानलमा आइरहेको छ। बाल्यकालमा उनी हाँस्य टेलिश्रृङ्खला 'जिरे खुर्सानी'मा अभिनय गर्थे। जिरेको भूमिका निर्वाह गर्ने उनी एक समय चर्चामा थिए। बाल प्रस्तुति, तिखो स्वर र अभिनय उनको विशेषता थियो। उनी हुर्किए। स्वर धोद्रो हुँदै गयो। शारीरिक बनावट फेरियो। उनी बाल कलाकार रहेनन्। पर्दामा देखिन छाडे। हालसालै युट्युब च्यानल 'रमाइलो छ'का लागि दिएको अन्तर्वार्तामा भनेका छन्,'पुरानो भिडियो फुटेजहरु हेर्दा भित्रभित्रै नराम्रो लाग्छ। त्यो बेलामा सबैले चिन्थे। माया गर्थे। जिरे आयो भन्थे।अझै राम्रो गर्छु भन्ने जोस थियो। अब त कसैले पनि चिन्दैनन्। आफैं गएर म जिरे हुँ भन्न पनि त मिलेन।'

इशानले भनेजस्तै 'भित्रभित्रै नराम्रो लाग्ने' समस्याले आफ्नो बालबालिकालाई गाँज्यो भने? सोच्न आवश्यक छ। आज हामीले जगाइदिएको चर्चाको भोक भोलि बढ्दै जाला, सोही अनुसार आज देखिएको क्षमता वृद्धि नहोला। त्यस्तोमा सिर्जना हुने समस्याको समाधान न आमाबुबासँग हुन्छ न त आज ताली बजाउने दर्शकसँग।

असुरक्षाको चुनौती अर्को अजङ्गको विषय हो। भ्लगमार्फत् बुबा छोरीको नाम, उ बस्ने घरदेखि, पढ्ने स्कूल हुँदै आफूबाट टाढिएकी उनको आमाको चर्चा गर्छ। भिडियोमा सयौँ भावनात्मक लाग्ने कमेन्टहरु आउँछन्। हजारौँ हिट्स पनि। तर, त्यो सबले कहाँ पुर्‍याउँछ?

आज भ्लगमार्फत् तपाईँले दिएको ठेगाना खोज्दै अन्तर्वार्ता लिन आउनेको सट्टा गलत उद्देश्यसहित गलत मानिस घुसे भने? लोकप्रियताकै लागि व्यक्तिगत जीवन छताछुल्ल पार्नु, त्यसमा बालबालिका मिसाउनुले निम्त्याउने असुरक्षाबारे सचेत हुन आवश्यक छ।

आज अभिभावकले सार्वजनिक र व्यक्तिगत महत्वको विषय छुट्याउन नखोज्दाको मूल्य भोलि बालबालिकालाई भारी पर्नसक्छ। आज अभिभावकलाई ठीक लागेको निर्णय भविष्यमा छोराछोरीलाई गलत लाग्न सक्छ।

सामाजिक सञ्जालले हामीलाई कुन सामाग्री सार्वजनिक गर्ने, केलाई सीमित साथीमाँझ पुर्‍याउने र कस्ता सामाग्री नितान्त व्यक्तिगत राख्ने टन्नै विकल्प दिएको छ। त्यसको सही सदुपयोग गर्न सके सुरक्षित डिजिटल अर्काइभको सुविधा पनि प्रविधिले उपलब्ध गराएकै छ।

यदि त्यस्ता विकल्प प्रयोग नगर्ने र सञ्जालभित्रको लोकप्रियतामा मात्र रमाइ रहने हो भने भोलि सन्तान जन्मदा, उसले पहिलो शब्द बोल्दा, पहिलो पाइला टेक्दा, स्कूल ड्रेसमा ठाँटिएर घरबाट निस्किँदा, प्यारेन्ट्स् डेमा पुरस्कार थाप्दाको क्षणहरुमा रमाउन पनि सामाजिक सञ्जालका ‘दर्शक’को अनुमति लिनु पर्ने हुनसक्छ।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

A PHP Error was encountered

Severity: Notice

Message: Undefined variable: footerAd

Filename: pahilopost/footer.php

Line Number: 71