PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गणतन्त्रमा 'सवारी शासन', नयाँ 'श्री ५' हरुका लागि सडकमा नै जनता बन्धक!


दीपज्योति श्रेष्ठ/पहिलोपोस्ट

गणतन्त्रमा 'सवारी शासन', नयाँ 'श्री ५' हरुका लागि सडकमा नै जनता बन्धक!

बिहीबार शहिद दिवस थियो। सरकारले सार्वजनिक विदा कटौती गरेपनि प्राय स्कूल, कलेज बिदा हुने भएकाले गाडीको सास्ती कम होला भन्ने सोचेर म आफ्नै टाइम बिहान ८:३० बजे माइक्रो स्टेसन पुगें। सोचेजस्तै भयो, गाडी चढ्नेको लाइन सुरु भइसकेको थिएन। समयमै अफिस पुगिने सोचेरै दंग परें। हेडफोन लगाएँ अनि गीतमा झुम्न थालें।

तर, हामी त आम नागरिक। हामीले देशमा धेरैबेर दंग पर्न पाउने वातावरण कहाँ हुनु? मनमैजुबाट गोंगबुसम्म के पुगेको थिए दंग त भंग पो भयो।

झ्यालसँगैको सिटमा थिएँ। यसो बाहिर हेरेको, गोंगबु चोकमा गाडी कुरिरहेका मान्छेहरुको भिड जात्रै जस्तो पो देखियो। किन यस्तो भिड? मनमा कौतुहलता जाग्यो। तर मेरो कौतुहलता मेटिनु अघि ट्राफिक प्रहरी आएर गाडी मोड्ने निर्देशन दिए।

सोचें- ‘फेरि कहाँनिर बाटो खन्यो।' किनकि म दैनिक हिँड्ने रुटमा अक्सर हुने लफडा त्यही नै हो। त्यसपछि गाडी सामाखुसीतर्फ फर्केर रोकियो। गोंगबुमा अलपत्र परेका टन्नै मानिसहरु तछाडमछाड गर्दै माइक्रो चढे। मनमैजुबाटै गाडी भरियो। सिटमा बाहेक एकअर्कालाई पेलापेल गरेर उभिने नै करिव १० जना जति थिए।

सबैको गुनासो उही- ‘जसरी पनि जानु छ, ढिला भइसक्यो।'

अरु दिन गोंगबुमा गाडी कुर्नेहरु त्यसरी जबरजस्ती चढ्दैनन्। किनकि उक्त रुटमा सार्वजनिक सवारीको विकल्प टन्नै हुन्थे।

लाग्यो, आज यो रुटमा केहि न केहि त पक्का गडबड छ।

यात्रु चढाएर गाडी सामाखुसीतर्फ केहि मिटर गुडेको मात्र के थियो फेरि अर्को ट्राफिक प्रहरी देखा परे। उनले पनि बाटो छेके।

गाडी चालकले केही बेर आग्रह गरे। यात्रुहरुको पनि ऐक्यबद्ध आवाज सुनियो- 'हामीलाई ढिला भइसक्यो।' गाडीमा कलेज जानु पर्ने विद्यार्थी, कार्यालय जानु पर्ने कर्मचारी देखि अस्पताल पुग्नु पर्ने बिरामीसम्म थिए। तर ट्राफिक प्रहरीले बाटो खुला गरेनन्। भने,‘सवारी छ अहिले जान मिल्दैन।’

ट्राफिक प्रहरीले आफूले माथिको आदेश पालन गरेको बताइरहँदा यात्रुको आक्रोश चुलियो। बाटो बन्द, हिँडेर समयमा पुग्नु सम्भव थिएन। न त कसैसँग पर्खनुको विकल्प नै थियो। यात्रु आत्तिएको देखेपछि चालक चुप बसेनन्। उनले भित्री बाटो रोजे। जसोतसो चालकले लैनचौरसम्म पुर्‍याए। लैनचौर, डीडीसी अगाडि सुरक्षाकर्मीहरु खटिएका थिए।

माइक्रो भित्रै कोही बोल्यो- ‘लौ शहिद गेटमा कार्यक्रम होला भन्ने ठानेको त महाशयहरुको भेटघाट यतै रै'छ।’

त्यसैले रहेछ गोंगबुतिर सवारी आवत् जावतमा रोक लगाएको। नत्र प्राय भिआइपी सवारीमा लैनचौरदेखि मात्र बाटो बन्द हुने गर्छ। यो किन 'कन्फिडेन्ट्ली' लेख्दै छु भने, त्यो रुटमा दैनिक यात्रा गर्नेले उस्तै परे सवारीमाथि थेसिस नै गर्न सक्ने भइसके। राष्ट्रपति भवन त्यही रुटमा छ, सैनिक मञ्च पनि त्यही रुटमा पर्छ। सभा, सम्मेलन, दिवस र पर्वहरु कुर्नै पर्दैन यस्ता सवारी हुन।

लैनचौरमा पनि ट्राफिक प्रहरीको 'ल्याङ ल्याङ' कम भएन। हामी चढेकै माइक्रो इंकित गर्दै भने- ‘यताबाट नपठाउनु भनेको सबै गाडी यतैबाट आइरा'छ।'

चालक बाठो बनेर मल्ल होटललाई देब्रे पारेर ठमेलतर्फ गाडी सोझाए। तर, केशर महल पुग्नु अघि नै जाममा बस्नु पर्‍यो। झण्डै बीस मिनेट।

त्यसपछि यात्रुले भडास सम्हाल्न सकेनन्।

एकजना आक्रोशित हुँदै बोले- ‘हिँडेर जाउँ भने हिँड्न पनि नदिने होला। पहिला राज शासनमा यस्तै हुन्थ्यो। पहिले एउटा श्री ५ थियो अहिले कैयौं श्री ५ भए अनि जसलाई मन लाग्यो उसले हामीलाई बन्धक बनाउँछन्।'

अर्का व्यक्तिले प्रश्न थपे,'यिनीहरुलाई कसको डर? नागरिकलाई दु:ख नदिइ आनन्दले हिँडे भैगो नि।'

'अब शहिद गेट, सैनिक मञ्चलाई राष्ट्रपति भवनतिरै सार्नुपर्‍यो। कति भोग्नु यो सवारीको सास्ती?'

'तोरीहरुको सवारी! काम छैन बिहान बिहानै पारो मात्र तताउँछन्।'

यस्तै यस्तै…

कतिले अपशब्द पनि प्रयोग गरे। तर, जनताले बोल्नुले जाम कहाँ खोल्थ्यो?

बरु सरकारविरुद्ध बोले पक्राउ परिने भय व्यक्त गरिरहेका थिए।

गाडी भित्रको भिडले भन्दा ज्याँदा भोग्नु पर्नेस्थितिले उकुसमुकुस महसुस गराइ रहेको थियो। कस्तो दिक्क लाग्ने अवस्था- नागरिकले आक्रोश पोख्न पर्ने पनि डराउनु पर्ने। लोकतन्त्र आएको एक शताब्दीभन्दा बढी भइसक्दा पनि शासकहरुले जनतालाई बुझेनन् वा बुझ्न चाहेनन्।

मलाई जस्तै दिक्क लागेको रहेछ एक शान्त स्वभावका मानिसलाई। लामो समय चुप लागेपछि लामो सास फेरे र बोले, ‘सार्वजनिक बिदा दिएको भए हुने। बाटै बन्द गर्नु परे सूचना जारी गर्नु पर्ने।'

हामी एकअर्काको कुरा सुन्न मात्र सक्थ्यौं। केही गर्न सक्थेनौं। मनमा लागि रहेको थियो- सबै नियम तोडौं। रोकिन बाध्य सवारी साधनहरु उर्लियोस्।

साँच्चै जनआक्रोशले तोडेको कुनै निरंकुश नियमहरु छन् त। राणा शासनको अन्त्य भयो। पञ्चायत फ्याकियो। राजा 'पूर्व' बने।

'सवारी शासन' फ्याकिनु पर्छ भन्ने लाग्यो। केही समय अघि सडकबीचको लामो सन्नटा चिर्दै हर्न बजाएर गरिएको सवारी अवज्ञा याद आयो। सवारीकै कारण आपतमा परेकाको आक्रोश सामाजिक सञ्जालमा पनि बेला बखत् नदेखिने होइन। तर पनि किन नबुझेका होलान् जनताको चेतावनी?  आखिर किन बाल नदिइएको होला जनतालाई?  

अब यो समस्याको समाधान नागरिक स्तरबाटै खोजिनुपर्छ। जनतालाई हिँड्न रोकेर हुने सवारी रोकिनु पर्छ। शासन गर्नेहरु जनतासँगै हिँड्ने वातावरण सिर्जना गरिनु पर्छ। म त्यो तितो बाध्यता बीचपनि मीठो कल्पना गर्दै थिएँ। अचानक हर्न निषेध काठमाडौंमा साइरन बजाउँदै हुँइकिए माथिल्लो ओहोदाकाहरु। त्यत्रो बेर जाममा बसियो अन्तत एक झिमिकमा उनीहरु सरर… गुडेर कहाँ पुगे कहाँ। जहाँ पुग्छन् त्यहाँ कुनै अग्लो तहमा उभिन्छन् र सम्भवत: जनताको हितको पक्षमा केही शब्द व्यक्त गर्छन्।

त्यसपछि ट्राफिक प्रहरीले हामी चढेको गाडीलाई जमलतर्फ लाग्ने संकेत गर्‍यो।

तर मेरो मन अलिकति पनि रमाएन। बरु अन्यौलता छायो। आखिर ‘केही व्यक्तिहरुको सुविधाको लागि। केही मिनेटको लागि हामीलाई किन घण्टौं रोकियो?'

गाडीमा सवार प्राय फ्रस्टेट भइसकेका थियौं।  

सुन्धारामा पुग्दा लाग्यो कुनै हाँट बजार वा आन्दोलनमा छु। गाडी पर्खनेहरुको भिड थियो त्यहाँ। सँगै काम गर्ने भाइ त कलंकीदेखि नै हिँडेर आउँदै रहेछ, गाडी नपाएकै कारण।

यो सबै समस्याको एउटै कारण- सवारी।

गाडीको कालो सिसा भित्रबाट सयौं मानिसको यो विजोग हेर्नेहरुलाई महसुस हुन्छ कि हुँदैन होला यो पीडा? उनीहरुलाई जनताको समस्यावोध हुन्छ कि हुँदैन होला?

मलाई थाहा छैन सुरक्षाको 'प्रोटोकल'को हिसाबले भिभिआइपि सवारी अत्यावश्यक हो कि होइन? तर नागरिकको सास्तीको आधारले यो मानव अधिकार, नागरिक अधिकार जे भने पनि त्यसको हनन हो।  

सडक अत्यावश्यक सार्वजनिक स्थलमार्ग हो जहाँ विभिन्न गन्तव्य तय गरेर मानिसहरु आवतजावत गर्छन्। सडक रहर लागेर हिँड्ने ट्र्याक होइन। सडक प्रयोग गर्नेहरुलाई पनि हतार हुन्छ। पेट दुखेर अस्पताल हिँडेकी कुनै महिलाको जीवन सुरक्षा पनि सरकारी भिभिआइपीको सुरक्षा सरह आवश्यक हुन्छ, सरकारलाई हेक्का रहोस्। सरकार देश बनाउने हतारमा सडक खाली गराएर दौडेला। तर कार्यालय पुग्न हतार भएको एक आम नागरिकलाई माम जोहो गर्ने हतार हुन्छ।

त्यसैले सडक बन्द गर्नु जनताका लागि हानिकारक छ। उहिले उहिले गरिने नेपाल बन्दजस्तै। बहाना जे सुकै होस् शहिद दिवस, प्रजातन्त्र दिवस, लोकतन्त्र या गणतन्त्र- सवारी हुन्छ र जनतालाई छेकिन्छ भने त्यो नागरिकको हित विपरित भइरहनेछ।

अनि याद रहोस् यस्ता सवारीहरुले नागरिकको नाममा आएको 'तन्त्र'लाई एक्सनमा ल्याउन कहिल्यै दिँदैन किनकि यस्ता तन्त्रहरुको मजा हामीले त्यतिबेलासम्म महसुश गर्न पाउँदैनौं जहिलेसम्म हामी खुलेर आफ्नो दैनिकी बाच्न पाउदैनौं।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट