PahiloPost

Oct 24, 2019 | ७ कात्तिक २०७६


पियनको खुट्टा दुख्दा अल्झिएको काम


विधुर ढकाल/पहिलोपोस्ट

पियनको खुट्टा दुख्दा अल्झिएको काम

लामो समयदेखि स्मार्ट स्मार्ट सुनिरहे पनि देख्न भने पाएको थिइन। प्रधानमन्त्री केपी शर्मा ओली सुशासन र समृद्धिका कथा हाल्दा कहिल्यै थाक्दैनन्। थाक्न पनि हुँदैन। तर, कुरामात्र होइन, काम चाहिँ होस् भन्ने हो। त्यसका लागि शुभकामना दिन्छु।

सरकारी कामकाज स्मार्ट बनाउने घोषणा, डिजिटलाइज्ड गर्नका लागि बजेट विनियोजन; पत्रकारका नाताले यस्ता समाचार धेरैपटक लेखियो। के वास्तवमा हाम्रा सरकारी अड्डाहरु स्मार्ट बनेका छन् त? के सरकारी अड्डाका ढड्डाहरु डिजिटाइज्ड भइसकेका छन् त?

यी प्रश्नको जवाफ खोज्दै समाचार बनाउन भन्दै म कुनै अड्डा चहारेको त छैन। तर, यही देशको नागरिक सरकारी अड्डाहरुमा कुनै न कुनै कामका लागि धाउनुपर्ने अवस्था स्वभाविक हुने गर्छ।

गएको साता काठमाडौंमा केही सरकारी अड्डाहरु धाउँदैमा बित्यो, अझै पूरा काम हुन सकेको छैन। अल्झिनुपर्ने त होइन अल्झियो। किन? तपाईँको मनमा प्रश्न उठ्ला। मलाई हाँसो उठ्छ।

अरे यार, आफ्नो काम बनेको छैन। अझ हाँसो भन्नुहोला। काम नबनेर तनाब त एकातिर छ। तर, अर्कातिर नेपालका डिजिटल र स्मार्ट अड्डा देख्दा हाँसो लाग्यो र हाँस्दै छु।

मेरो काम अल्झिनुको कारण हो- पियनको खुट्टा दुख्नु। यो मैले भनेको होइन्। तिनै अड्डाका कर्मचारीले भनेका हुन्।

अब कामको फेहरिस्त सुनाउँ।

त्रिभुवन विश्वविद्यालयको मानविकी संकाय अन्तर्गत पत्रकारिता तथा आम सञ्चार विभागबाट पत्रकारिता विषयमा स्नातकोत्तर परीक्षा उत्तीर्ण गरेको म थेसिस सकेर ट्रान्सक्रिप्टका लागि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेँ। सरकारी कार्यालय ९ बजेपछि खुल्न थाल्छन्। बल्खु खुल्यो १० बजे।

लाइनमा बसेँ। बैंकमा पैसा बुझाएँ। भौचर लिएँ। आवेदन दिने झ्यालमा लाइनमा बसेँ।

'तपाइँको रजिस्ट्रेसन नम्बर मिलेन। रजिस्ट्रेसन नम्बर सच्याएर आउनुस्।'

हेरेँ। मिस्टेक होइन गल्ती रहेछ। नं मा ड्यास (-) तीन वटा हुनुपर्ने रहेनछ।

'सच्याएर आउनुस्,' निर्देशन मिल्यो।

परीक्षा नियन्त्रण कार्यालयको पछाडि पर्खाल नाघेर पुग्ने ठाउँ। बीचमा एउटा ढोका बनाइदिएको भए सजिलो हुन्थ्यो, रहेनछ। घुमेर जानुपर्‍यो। खैर, ठीकै छ, गएँ।

कार्यालय पुगेँ। सोध्ने कहाँ कुन कोठामा पुग्ने?

शिक्षाशास्त्र र मानविकीको डिन कार्यालयको पहिलो तलामा मानविकी। छिर्नासाथ एउटा घुमाउरो टेबल। सायद सोधपुछ कक्षका लागि बनाइएको होला। तर, प्रयोगमा छैन।

फाइल बोकेर हिँडिरहेकालाई सोधेँ, 'रजिष्ट्रेसन नं सच्याउने ठाउँ कता?'

'त्यहाँबाट भित्र छिर्नुस,' जवाफ मिल्यो।

सहायक डिनको कोठा देखियो। तर, भित्र कुर्सी खाली। यिनैले सच्याइदिने होला। पर्खिनु त पर्‍यो। ३० मिनेट जति पर्खिएँ। भएन। फेरि अर्का कर्मचारीलाई सोधेँ, 'रजिस्ट्रेसन नम्बर सच्याउनुपर्ने?'

'यता भित्रबाट ४ नं कोठामा जानुस्।'

भित्र छिरेँ परीक्षा शाखामा लेखेको रहेछ- 'अनुमतिविना प्रवेश गर्न मनाही छ।'

अब यो अनुमति पो कहाँ लिनुपर्ने?

ह्या यत्रो कुरिसकेँ। के को अनुमति भित्र छिरेँ।

'रजिस्ट्रेसन नम्बर सच्याउनुपर्‍यो।'

'भौचर भरेर आउनुस्।'

अरे बा गल्ती गर्ने कर्मचारीहरुले, पैसा तिर्नुपर्ने चाहिँ मैले?

आफूलाई काम छिटो चाहिए। तिर्नैपर्‍यो। तीन सय रुपैयाँ नेपाल बैंक लिमिटेडमा गएर जम्मा गरेँ। भौचर लिएर फर्किएँ।

चिठी लेखियो। लिएर फेरि परीक्षा नियन्त्रण कार्यालयको झ्यालमा पुगेँ। लाइनमा बसेँ।

पालो आयो।

'तपाइँको थेसिसको नं कहिले आएको?'

अरे बा था भएन।

'त्यो तपाइँ हेर्नु न?'

'हेर्न मिल्दैन। गएर नंम्बर कहिले आएको हो दर्ता नं लिएर आउनुस्।'

फेरl डिन कार्यालय पुगेँ।

'मेरो थेसिसको नम्बर कहिले गएको छ हेर्दिनुपर्‍यो।'

त्यहाँ बसेकी महिलाले ढड्डा पल्टाएर भनिन् - 'भाइ तपाइँको थेसिस त आएको छैन। कहिले बुझाउनु भएको?'

'दुई हप्ता भयो।'

'आएको छैन त यहाँ?'

बिहानै पत्रकारिता विभागमा फोन गरेर बुझेको थिएँ। नम्बर गइसकेको छ, ट्रान्सक्रिप्ट निकाल्न जाँदा हुन्छ भन्ने जवाफ पाएको थिएँ।

तर, डिन कार्यालयमा 'आएको छैन' भन्छ त बा?

दुई चक्कर, यता कोठाबाट उता कोठामा पुगेँ।

विभागबाट गएको पत्र परीक्षा शाखामा पुग्नुपर्ने लेखा शाखाका कर्मचारीको घर्रामा रहेछ। झिकेर दिए।

परीक्षा शाखामा बुझाएँ।

'तपाइँको काम आज हुन्न। हामीले सिग्नेचर गरेर दिन मिल्दैन भोलि आउनुस।'

अर्को दिन फेरि बल्खु पुगेँ। अब त डिन कार्यालयबाट पत्र पुग्यो होला भन्ने थियो।

परीक्षा नियन्त्रण कार्यालयको लाइनमा बसेँ।

'भाइ तपाइँको मार्कसिट मिलेन।'

'के मिलेन दिदी?'

'तपाईँको क्याम्पस 'आरआर' रत्नराज्य लक्ष्मी क्याम्पस लेखेको छ। युनिभर्सिटी क्याम्पस लेखेर ल्याउनु। तपाईँलाई हामी अड्क्याउँदैनौं। दिइ हाल्छौँ। तपाईँलाई नै गाह्रो हो।'

'कहाँ जानुपर्‍यो यो सच्याउन?'

'डिन कार्यालयमा।'

फेरि डिन कार्यालय पुगेँ।

'मार्कसिटमा सच्याउनुपर्‍यो।'

त्यहाँ पुग्दा, एक अर्कालाई दोष लगाउन थाले।

'अरुलाई दु:ख दिन जानेका अब कीर्तिपुरमा पत्रकारिता आएकै छैन त कसरी युनिभर्सिटी क्याम्पस लेखेर दिने हामीले?,' उल्टै मलाई प्रश्न गरिन् ती हिजोकै महिलाले।

यी दिदी अली मिजासिली रहिछन्।

'भाइलाई दु:खमात्र भयो।'

'तपाईँको कति सालको हो भर्ना?'

'२०७१'

'ए। म आउनुभन्दा पनि अगाडिको रै'छ। मसँग त त्यसको रेकर्ड नै छैन।'

'दिदी जसरी पनि बनाइदिनुपर्‍यो।'

गुहार गरेँ।

उनले रेकर्ड हेर्न थालिनन्। पुरानो मार्कसिट मागिन्। सरासर हेर्दै कम्प्युटरमा टाइप गरिन्। सरासर प्रिन्ट गरिन् निकालेर दिइन्। गोविन्द सरलाई साइन गराएर लैजानु।

गोविन्द सर, सहायक डिन।

सरासर गएँ।

'सर साइन चाहियो।'

भटाभट साइन हानिदिए।

उनले साइन हान्दै गर्दा लाग्यो ती दिदीलाई चिनेको भए टप नै हुने रहेछु। अस्ति भर्खर पैसा खाएर गोल्ड मेडल लिएको समाचार आएको थियो।

ह्या होइन् फेरी सर्टिफिकेट नै खारेज भयो भने? आँफैलाई प्रश्न गरेँ।

सरासर मार्कसिट लिएँ। फेरि पनिकाको झ्यालमा उभिएँ। पालो आयो।

'भाइ तपाईँको थेसिसको नं आइपुगेको छैन। गएर भन्नुस् त?'

फेरि डिन कार्यालय पुगेँ।

तिनै महिलालाई भेटेँ। उनले सँगैकी अर्की महिलालाई सोधिन्- 'उहाँको पत्र के भयो?'

'पत्र रेडी छ। सही भइसकेको छ। चलानी पनि चढिसक्यो। लैजाने मान्छे नभएर गएको छैन।'

'मलाई दिन मिल्ने भए दिनुस् न। म लिएरै जान्छु।'

'तपाईँको मात्र भए त हुन्थ्यो। तीन जनाको छ। दिन मिल्दैन,' उनले भनिन्।

‘हिजै जानुपर्ने थियो। यहाँका पिउनहरु हाकिम भन्दा कम छैनन्। यो पुर्‍याइदिनुस् भनेर हिजै भनेकी थिएँ। खुट्टा दुख्यो भनेर लगिनन्। आज जान्छ। तपाईँ फर्म भरेर जानुस्।‘

उनले यति भन्दा भन्दै थपिन् ‘भाइ पत्रकारिता पढ्नु भएको पत्रकार होइन?’

‘हो। किन?’

‘यति धाउनुभयो गोदेर लेख्नुस न।‘

अर्की कर्मचारीले भनिन्, ‘अब कति लेख्नु पत्रकारले पनि। निदाएकोलाई पो उठाउन सकिन्छ निधाएको जस्तो गर्नेलाई कसरी उठाउन सक्नु। अब त लेख्दा लेख्दा थाकिसके होलान्। टियुलाई बाँकी कहाँ राखेका हुन् र? तर केही लागे पो। गैडाको छाला भइसक्यो टियु। पुरानाले गर्दा हामी नयाँलाई पनि काम गर्न गाह्रो।‘

‘भाइ तपाइँ जानुस् हामी पठाइदिन्छौं।‘

फर्किएँ।

फेरि बिहीवार बल्खु पुगेँ। अझै पनिका पुगेको रहेनछ मेरो थेसिसको नम्बर।

फेरि डिन कार्यालय पुगेँ। जनै पूर्णिमाको दिन। खाली खाली थियो। भिड छैन, काम फटाफट होला भन्ने लाग्यो। तर, कर्मचारी पनि रहेनछन्।

सरकारले बिदा कटौती गरेर के फरक पर्‍यो र कर्मचारी बिदामा बसिदिएपछि।

त्यहाँ एक जना भेटिए र सोधिहालेँ- ‘सर मेरो थेसिसको नम्बर पनिका जानुपर्ने अझै गएको रहेनछ। कहाँ अड्कियो?’

‘पत्र त बनेको थियो। यही छ। तपाइँको पनि होला। दिदी (दर्ता चलानी गर्ने कर्मचारी) आज नआउने भन्नु भएको छ। भोलि पुग्ला।‘

यसरी त भएन। सहायक डिनलाई गुहारेँ।

‘३ नं मा गएर भेट्नुस्। मैले साइन गरिसकेको छु।‘

३ नं पुगेँ।

‘मलाई थाहा हुन्न। ४ नं जानुस्।‘

४ नम्बर पनि खाली। १२ बज्न आँटेको थियो। अब के आउलान भनेर फर्किएँ।

एउटा पियनको खुट्टा दुख्दा मेरो काम अझै अल्झिएको छ। पत्र पुर्‍याउनुपर्ने कार्यालयको दुरी तपाइँलाई म भन्छु नि- पर्खाल जोडिएको। एउटा जोडिएको घरदेखि अर्को जोडिएको घरमा सुस्तै बोले पनि सुनिन्छ। तर, स्मार्ट नेपालमा कहाँ त्यस्तो हुन्छ र? पियनको खुट्टा पनि ठीक हुनुपर्‍यो नि।

डिजिटलाइज्ड गर्ने भन्दै वर्षेनी बजेट छुट्टिन्छ। बजेट कहाँ जान्छ थाहा छैन।

मैले बुझेको डिजिटल त कागजपत्रको आवश्यकता नपर्ने इलेक्ट्रोनिक कपीबाट हुने भन्ने थियो। पत्रकारितामा मास्टर गरेको मान्छे एक क्लिकको भरमा सूचना लाखौँ माइल दुर पुग्छ भन्ने बुझेको। डिजिटाइज्ड हुन्थ्यो त एउटा कार्यालयको सर्भर अर्को सम्बन्धित कार्यालयसँग कनेक्ट हुन्थ्यो। यताबाट हानेको डाटा इन्ट्री उताकोले हेर्न पाउँथ्यो। पत्रको आवश्यकतै हुँदैनथ्यो। तर, स्मार्ट नेपालमा त्यस्तो कहाँ हुनु। कागजमा लेख्नुपर्‍यो। अति गोप्य भनेर छाप हान्नै पर्‍यो। छाप हानेर मात्र कहाँ भयो र पत्र पुर्‍याउने पियन हुनुपर्‍यो। त्यतिले मात्र होइन पियनको खुट्टा नदुखेको हुनुपर्‍यो।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

A PHP Error was encountered

Severity: Notice

Message: Undefined variable: footerAd

Filename: pahilopost/footer.php

Line Number: 71