PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

'रुख चढ्ने मेरी आमा, रुख चढ्ने म'


रिना थापा (तानी)/पहिलोपोस्ट

'रुख चढ्ने मेरी आमा, रुख चढ्ने म'

घर वरिपरि टन्नै काफलका रुख थिए। काफलको स्वादै मीठो। सिजनमा म तिनै काफलका रुख चढेर फल खान्थें। गर्मीमा शीतल खोज्दै तिनै रुखका नजिक पुग्थें। रुखमाथि चढेर घन्टौं शीतल हावाको बहाव महसुस गर्थें। काँचो काफल खाँदा मम्मीले गाली गर्नुहुन्थ्यो। तर, बालसुलभ मन कहाँ मान्थ्यो र? भाइबैनीसँग मिलेर खोजी खोजी काँचै काफल चपाउँथ्यौं। कति पटक मम्मीको आँखा छलेर नुन खुर्सानीसँग साँधेर रुखमै चढेर खान्थ्यौं।

काफलको रुखले घेरिएको घरमा ४ दिदीभाइ एकएक वटा रुख भाग लगाउथ्यौं। तर, आँगन छेउमै भएको रुख चारै जनालाई मनपर्थ्यो। के गर्ने? उपाय लगायौं, ‘ल अरु बोट रुखै भागा लाग्छ। यो बोटको चाहिँ हाँगा र डाली भाग लगाउने!’

भाग सधैं कहाँ मिल्थ्यो र? कहिलेकाहीं तिनै डालीको नाममा झैंझगडा पनि हुन्थ्यो। छुटाउन आउने काम उही मम्मीको। अनि मम्मीसँगै घाँस, दाउरा गर्न वन जाँदा पनि रुख नचढ्ने कहाँ हुँ र? थुप्रै ठूल्ठूला रुख चढेर खेलेकी छु।  त्यसैले पनि सधैं लाग्यो - रुख चढ्नु सामान्य कुरा त हो! अझ ग्रामीण भेगमा त, रुख चढ्नु दैनिकीको एउटा पाटोमात्रै। 

‌‌‌+++

मंगलबार बिहान सामाजिक सञ्जालमा लिंक देखें, ‘केटीहरु किन रुख चढ्दैनन्?’ कवि नवराज पराजुलीको नाममा आएको लेख र शीर्षक दुवैले मेरो ध्यान खिच्यो। लिंक खोलि नसक्दै बालापनतिर फर्किएँ। सानोमा एकदमै चकचके थिएँ अरे, बाँदरजस्तै। नेपाली समाजले तोकेको ‘छोरीमा हुनुपर्ने गुण’ ममा थिएन। काफलकै रुख वरिपरि बालापन बिताएँ। काफल त्यो रुखले म हुर्किंदै गरेको देख्यो। म उसँगै हुर्किएँ।

हरियालीले घेरिएको हाम्रो घर एकदिन सिमेन्टको कम्पाउन्डले घेरियो। सायद काफलको रुखसँगै मेरो बालापन पनि गयो। काफलको रुख काटिँदासम्म मेरो रजस्वला सुरु भइसकेको थियो। शारीरिक बनावट फेरिँदो थियो। मलाई समाजले अप्रत्यक्ष रुपमा ‘अब सीमामा बस्न सिक्’ भन्दै थियो। पहिलेको जस्तो चञ्चलता, चकचकपनलाई फरक ढंगले हेरिँदै थियो। र, सुरु हुँदै थियो जिन्दगीको अर्कै अध्याय।

कवि पराजुलीको एउटै लेखले आज यतिका वर्षपछि मेरो दिमागमा प्रश्न पैदा गरायो। मैले चढ्ने रुख र मेरी आमाले चढ्ने रुख एकै थियो। तर, मेरी आमा बाध्यताले रुख चढ्थिन्, म रहरले। रुख एकै भए पनि फरक नजरले हेरियो। उहाँ र म बिच नै कति भिन्नता रहेछ। उहाँ भैंसीलाई खुवाउन डालीका घाँस काट्न रुख चढ्नु हुन्थ्यो। वनमा सँगै साथी हुन गएकी आमालाई सताउन म रुख चढ्थें। कहिलेकाहीं भिरालो ठाउँका अग्लाअग्ला रुख चढ्दा मम्मी डराउनुहुन्थ्यो। अरुले देख्छ कि भनेर होइन, म लड्छु कि भनेर।

म जति जिस्किए पनि मम्मीले नचढ् भन्नु भएन। उल्टै ‘राम्रोसँग हाँगा समा है ! लड्लास्,’ भन्नुभयो। तर, लड्ने डरमा रुख उक्लिन रोक्नु भएन। म रहरले नै फाँटका खेतमा भएको आँपको बुटामा चढेर आँप चोर्थें। मम्मीलाई सताउन वनका ठुल्ठूला रुख चढ्थे।

कविले भनेजस्तै मलाई गुच्चा खेल्न त आएन। तर, म खोप्पी र फुटबल एकदम खेल्थें। खेलतिर नजाऊँ भो। रुखतिर फर्खिन मन लाग्यो।

ममात्र होइन मेरी ठूलीमम्मी छोरी थिइन्, उ झन्‍ ठुल्ठूला रुख चढ्थी। मेरै घर छेऊ कि बालापनकी साथी ऊ म भन्दा बेसी रुख चढ्थी। ऊ डालीका घाँस काटेर भैंसीलाई खुवाउँथी। उ बाध्यताले रुख चढ्थी। खैर, रहरले होस् कि बाध्यताले हामी रुख चढ्थ्यौं।

म रुख नचढे केही हुन्थेन। तर, मेरी मम्मी, साथी र उसकी आमाले रुख नचढेको भए गाई भैंसीले आहार पाउँथेनन्। समयक्रमको एउटा अध्याय बन्द हुन्थ्यो। पछि घरबाट काफलको रुख काटिए जस्तै गाई भैंसी हराए। मम्मीको घण्टौं उकालो ओरोलाको कष्ट हरायो। रुख चढ्न जानेकी मेरी मम्मीले बिस्तारै जिन्दगीको उकालो चढ्दै हुनुहुन्थ्यो। उहाँले चढेको उकालोले अहिले म समथर भागमा ‘ल्यान्ड’ छु जस्तो लाग्छ। यहाँ प्रश्न छ? के मेरी मम्मीलाई रुख चढ्न आएन? के मेरी साथीले गाई भैंसीलाई आहार दिन रुख चढ्न सकिनन् र? के पल्लाघरको आन्टीले घण्टौं उकालो गरेर भिरालो रुखका हाँगा काटुन भएन? के महिलाले गरेको घरधन्दा काम होइन, देखिँदैन? के त्यो सीप, मिहिनेत होइन?

एकजना नजिकको दाइ हुनुहुन्छ। उहाँको गृह जिल्लामा महिलाले हलो जोत्छन्। बुधबार ट्विटरमा आमाले हलो जोतेको फोटो ट्विट गर्दै राख्नुभएको थियो। पहाडतिर महिलाले हलो टेक्न हुन्न भन्ने चलन छ। परारै साल दाइले मलाई आफ्नो मम्मीले हलो जोत्ने कुरा सुनाउँदा सुरुमा अचम्म लागेको थियो। तर, यसको मतलब यो होइन कि म ‘केटीले हलो जोत्दैनन्’ भनौं? मैले उहाँले गरेको कामलाई सामाजिक संचित मनोवृत्तिबाट हेर्न सक्दिनँ।

के कविले महिलाले रुख चढेको देखेनन्? के उनी आफनो कल्पनाको सानो सोचमै सीमित रहे? जामा लगाएर रुख चढ्दा तलबाट महिलाको यौनांग देखिन्छ कि भावमै उनी अल्झिए। मेरी मम्मी लुंगी लगाएर वन उक्लिनु हुन्थ्यो। फाँट झर्दा कहिले घाँसको भारी हुन्थ्यो कहिले दाउराका। गाउँका अरु आन्टिहरु पनि लुंगी लगाएर घाँस दाउरा गर्थे। बरु, वनमा घाँस दाउरा गर्न गएको अंकललाई कहिले देखिन। उहाँहरुले त रुख चढ्न हुन्न भनेर मम्मी, आन्टिलाई रोकेको कहिले पाइनँ। भारीका भारी दाउरा र घाँस गाउँकै आन्टीहरु आफैं ल्याउँथे। के उनीहरु रुख चढ्न जानेन् र?

भाषा, शब्द र विषय कति सानो र सामान्य छ। तर, गहिरिँदा उनको आशय आपत्तिजनक लाग्यो। कतै उनले दया भाव देखाएका छन्। महिलालाई ‘रुख नचढ्ने’ विम्ब बनाएर सामान्यीकरण गर्न खाजेका छन्। कवि हुन्, लेखनमा पोख्त छन्। उनका केही लेख र कविता मलाई पनि मन पर्छ। त्यहीं पोख्त शैली उनले उक्त लेखनमा पनि झल्काए। दयाभाव देखाएर उनको सीमित सोचलाई लुकाउन खोजे तर त्यसका लागि लेखन शैलीले मात्रै पुग्छ र? विचारले पनि प्रष्ट हुन उत्तिकै आवश्यक छ। विषयमाथिको सतही बुझाइमै आफूलाई 'ब्यालेन्स्ड' उभ्याउन खोजे। कपाल र जामामा अल्झिए। उनी शरीरमै उल्झिए। त्यसभित्रको बाध्यतामा पौडी लगाउन सकेनन् वा चाहेनन्।

र, सहजै प्रश्न गरिदिए केटी किन रुखमा चढ्दैनन्। जुन प्रश्न भने निकै गरुङ्गो लाग्यो। बालापनमा गाउँघरमा मम्मी र आन्टीले बोकेको रुखको भारीको दृश्यले चिम्ट्यो। आखिर कविले उहाँहरुको त्यो उकालो ओरालीको मूल्यांकन किन गरेनन् होला? 

Photo Credit : iStockPhoto




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट