PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

तिमीहरु त आकाशमा हुन्छौं, ग्रहण बार्छौ कि बार्दैनौ?


वसन्तराज उप्रेती/पहिलोपोस्ट

तिमीहरु त आकाशमा हुन्छौं, ग्रहण बार्छौ कि बार्दैनौ?

बिहीवार बिहान खण्डग्रास सूर्य ग्रहण हुँदै थियो। सामाजिक सञ्जालमा भने एक साता अघिदेखि नै शास्त्रीय मान्यता भन्दै ग्रहणका बेला बार्नुपर्ने विषय जोडतोडले प्रचार भइरहेको थियो।

सामाजिक सञ्जालमा सक्रिय रहेकाहरुदेखि सर्वसाधारणसम्म अनलाइनका समाचारहरु सेयर गरिररहेका थिए। ग्रहण कुन राशीका लागि ठीक र कुन राशीका लागि बेठीक भन्ने विषयले पनि चर्चा पायो।

यस्तै समाचार र प्रतिक्रियाहरु सेयर गर्नेको होड नै चल्यो। म परे कर्कट राशी। कर्कट राशिका लागि ग्रहण हेर्नै नहुने रहेछ। सामाजिक सञ्जालबाटै थाहा पाइयो यसबारे।

हिजो अफिसबाट घर जाँदै गर्दा ग्रहणको बेला मैले के गर्न हुने? के गर्न नहुने? बार्ने कि नबार्ने? यही विषयले दिमाग कब्जा गर्‍यो।

'हेर्न नहुने भने पछि किन हेर्नु त?' मनले भनिरहेको थियो, 'केही पो होला कि भन्ने लागिहाल्यो।'

आज बिहान ८: ४२ बजेबाट शुरु भई ११: ३१ सम्म झन्डै तीन घन्टा लाग्दै थियो ग्रहण। बार्ने विषयकै डरले बिहान झण्डै तीन घण्टा काहिँ ननिस्कने योजना बनाएँ मैले।

घर पुगियो। अब राति खाना खाएपछिको साथी 'मोबाइल' न हो। साँझ पनि उही ग्रहणमय सूचना र विचार सोसल मिडियाभरी छरिएका। सुत्नै लागेको थिएँ, ११:३० बजे। एक्कासी जहाजको आवाज सुनियो, चर्को गरी। दिउँसो थाहा नपाए पनि सुनसान हुँदा विमानको आवाज चर्कै गरी सुनिन्छ।

अहो! साँची यो विमानलाई ग्रहणमा के हुन्छ हँ? उडान गर्न मिल्छ कि मिल्दैन होला? सोसल मिडियामा सेयर भएका समाचारहरुमा के के हुने र नहुने पढिरहेकाले होला - प्रश्न उब्जिए।

सूर्यबाट निस्कने विकिरणले धर्ती चुम्नुअघि आकाशमै उडिरहेको विमानमा छुन्छ त। मनमा यस्तै कुरा खेलिरह्यो। कति खेर भुसुक्क निदाएछु।

बिहान सात बजेतिर हवाइजहाजको आवाज सुनियो, हिजो राति जति ठूलो चाहिँ होइन। फेरि राति मनमा उब्जिएको प्रश्नको सिक्वेल बिहान एकाएक जुर्मुराउँदै प्रश्नवाचक चिन्हका रुपमा सामुन्ने आयो - घण्टौंसम्म होल्डमा बस्ने जहाज अनि यात्रुलाई सूर्य ग्रहणमा केही असर पर्दैन? धर्तीमा भएकालाई खान नहुने, पिउन नहुने। यतिसम्म कि शौचमा जानसमेत नहुने तर्क गर्ने ज्योतिष र खगोलशास्त्रीका कुरा सम्झेँ फेरि। 

जहाज टेकअफ भएलगत्तै खानेकुरा दिन्छन्। धर्तीभन्दा सूर्यको अझै नजिकमा उडिरहेकाहरुले त्यो खाना खान हुन्छ कि नाई? राशीको अंकगणितबाट कसले के गर्न हुने र नहुने भन्ने तय गर्नेहरुले यसबारे त कतै लेखेकै छैनन् त। अरु त डिटेलमा लेखेका छन् - के के गर्ने र के के नगर्न भनेर। त्यसको प्रतिफल के हुने भन्ने पनि प्रस्ट लेखेका छन्।

आज करिब तीन घण्टा सूर्य ग्रहण चलिरहँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रीले बारे कि बारेनन् होला ग्रहणको शौच? पाइलटहरुलाई सोधेको भए पनि हुन्थ्यो, सोधिनँ। तर, मनमा लागेको कुरा कुनैदिन मौका मिल्दा विमानका क्रुहरुलाई सोध्नेछु - तिमीहरु सूर्यको नजिक हुँदा ग्रहण लाग्यो भने बार्छौं कि बार्दैनौं हँ?      




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट