PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विपत्तिका बेला सामाजिक सञ्जाल कसरी चलाउने? कोरोनाको गलत सूचना, तनावबाट बच्न के गर्ने?


मेनुका रोका/पहिलोपोस्ट

विपत्तिका बेला सामाजिक सञ्जाल कसरी चलाउने? कोरोनाको गलत सूचना, तनावबाट बच्न के गर्ने?

महाव्याधि कोरोना भाइरसको संक्रमण फैलिन घोषित लकडाउनका कारण मानिसहरुको प्रत्यक्ष भेटघाट बन्द भएको छ। यस्तो बेला सामाजिक सञ्जाल सम्पर्क, सूचना आदानप्रदान र सामाजिक अन्तरक्रियाको प्रमुख माध्यम बन्न पुगेको छ। लकडाउनको परिस्थितिलाई सामना गर्न मानिसहरु मध्यरातसम्म पनि सामाजिक सञ्जालमा समय व्यतित गरिरहेको पाइन्छ।

यस्तो अवस्थामा मानिसहरु सामाजिक सञ्जालको भुमरीमा पर्नु स्वभाविक नै हो। कठिन परिस्थितिमा सामाजिक सञ्जालमा प्रवाह हुने समाचार र तथ्यहरु यथार्थता वर्णन गर्नमा सहायक सिद्ध हुने गरेका छन्। लामो लकडाउनको अवस्थामा धेरैजसो मानिसहरु घरमा रहन बाध्य भएकाले एक्लोपनले मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउन सक्दछ। यस्तो अवस्थामा मानिसहरुबीच सम्पर्कको माध्यम आवश्यक पर्दछ। सामाजिक सञ्जाल यसमा अब्बल ठहरिएको छ। यसलाई सकारात्मक रुपमा कसरी प्रयोग गर्ने भन्ने ज्ञान भएमा हालको परिवेशमा तनाव व्यवस्थापन तथा एक्लोपन हटाउनका लागि महत्वपूर्ण साधन सावित हुनेछ।

सामाजिक सञ्जालमा हुने अन्तरक्रिया जिम्मेवारीपूर्ण र जवाफदेही हुन आवश्यक छ। कोरोना भाइरस सम्बन्धी सूचना बढीजसो भ्रमपूर्ण र त्रास फैलाउने खालका नकारात्मक छन्। यसले मानसिक रुपमा कमजोर हुने अवस्था आउँछ। सामाजिक सञ्जालको अत्याधिक प्रयोग र कम प्रयोग दुवै कारणले गर्दा फरपनको भावना, चिन्ता, तनाव, निराशा, आवेग, एक्लोपन जस्ता भावहरु पैदा गराउँछ। साथै यसले आफैंलाई नोक्सानी पुर्‍याउने तथा आत्महत्या जस्ता विचारहरु उत्पन्न गराउन सक्छ। यसको समाधानको उपाय भनेको तनावको अवस्थामा सामाजिक सञ्जालको सक्रिय एवं सकारात्मक प्रयोग नै हो।

सहज सम्पर्क र सम्बन्धको बोध नै विश्व महामारीको समयमा एक्लोपन हटाउनका लागि मुख्य औजार हो। सामाजिक दूरी, सामाजिक एक्लोपन र क्वारेनटाइनले विक्षिप्त, उपेक्षित, महत्वहीन, बेकम्माको भावहरु समेत पैदा गराउन सक्छ। मद्दतहीन र शक्तिहीनको अवस्थामा सामाजिक सञ्जालको सकारात्मक प्रयोगले तनाव, चिन्ता, निराशा हटाउन तथा आत्ममूल्यांकन र रचनात्मकता बढाउनका लागि सहयोग पुग्न सक्छ। यस्तो अवस्थामा सामाजिक सञ्जाललाई कसरी सकारात्मक रुपमा प्रयोग गर्ने जानकारी हुन आवश्यक छ।

सामाजिक सञ्जालमा फैलिएका विभिन्न अफवाहले मानिसमा विभिन्न किसिमका डरहरु पैदा गरिरहेका छन्। धेरै थरिका औषधिहरु, चकलेटहरु, खानेकुरा तथा घरेलु उपचारका उपायले कोरोना संक्रमणलाई निको पार्छ भन्ने किसिमका कुराहरु सामाजिक सञ्जालमा प्रस्तुत गरिँदा आम जनमानसमा भ्रामक समाचारहरु प्रवाहित भएको छ। विपत्तिका बेला यस्ता झुठा पोष्टहरु मानिसले सहजै रुपमा यथार्थका रुपमा लिने गर्दछन्। वास्तविकता पत्ता नलगाई झुठा खबरलाई विश्वास गर्दा मानिसहरु तनाव एवं डरको वातावरणमा रहन पुग्दछन्। उनीबाट सेयर हुँदा अन्य थुप्रै मानिसहरु पनि सोही अवस्थामा पुग्दछन्। कोरोना भाइरस सम्बन्धी झुठा समाचार रोक्नका लागि विभिन्न देशले सामाजिक सञ्जाल कम्पनीलाई आग्रहसमेत गरेका छन्। हाल आएर अफवाहका समाचारहरु पोष्ट गर्ने ट्रेण्ड नै स्थापित भएको पाइन्छ। सामाजिक सञ्जालका प्लेटफर्मले गलत समाचारहरु प्रवाहित हुन नदिनका लागि सचेतनामूलक कार्यक्रम नै सञ्चालन गर्नु आवश्यक छ। समाजमा डर पैदा गराउने तथा भयावहको वातावरण सिर्जना गर्ने पोष्टहरु सामाजिक सञ्जाल कम्पनीहरुले हटाउनुपर्छ।

हाल विश्वमा कोरोना भाइरसको उत्पत्ति सम्बन्धी विभिन्न समाचारहरु आउने गरेका छन्। सामाजिक सञ्जालमार्फत यस्ता समाचारहरु बढि मात्रामा सेयर हुन गई गलत सन्देश प्रवाह भइरहेको छ। विश्वका शक्तिशाली देशहरु नै कोरोना महामारीको चपेटामा परिरहेका बेला एकले अर्कोलाई आरोप तथा प्रत्यारोपमा उत्रिएका छन्। कोरोना भाइरसको संक्रमण भन्दा पनि तीव्र गतिमा यस्ता खबरहरु फैलनाले समाजका हरेक वर्ग चिन्तित हुन पुगेका छन्। चीनले सामाजिक सञ्जालका अफवाहहरु रोक्नका लागि आफूले बढी भन्दा बढी तथ्यगत खबरहरु प्रसारणमा जोड दिएको छ। चिनियाँ अधिकारीहरुले यथार्थ सूचनाहरु प्रवाह गर्नमा कुनै पनि कमी राखेनन् जसले गर्दा पूरै विश्वले नै सही सूचना प्राप्त गर्‍यो। विश्व स्वास्थ्य संगठन लगायत विभिन्न संगठनले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि अवलम्बन गर्नुपर्ने उपायहरुका बारेमा सामाजिक सञ्जालमार्फत नै सूचना दिइरहेका छन्।

कतिपयले भने यस्तो प्रकोपका समयमा समेत एक देशले अर्को देशलाई आरोप प्रत्यारोप लगाउने समयका रुपमा लिएका छन्। कतिपयले कोरोना भाइरस बायोलोजिकल हतियार भएको र अमेरिका वा चीनमध्ये एकले निर्माण गरेको भन्ने आरोप समेत लगाएका छन्। धेरैजसो सामाजिक सञ्जालका माध्यमले यस्ता गलत खबरहरु नियन्त्रण लागि छुट्टै संयन्त्रको समेत विकास गरेका छन्। यस्ता संयन्त्रको विकासले गर्दा मानिसहरु कोरोना भाइरस सम्बन्धी खोजी गर्दा सहि सत्य खबरहरु मात्र देख्न पाउनेछन्।

कोरोना भाइरसबाट संक्रमित भएर ठिक भएका मानिसहरु आफ्नो अनुभव सुनाउनका लागि सामाजिक सञ्जाल नै प्रयोग गरिरहेका छन्। लकडाउनमा सामाजिक सञ्जालमार्फत नै मानिसहरु खानासमेत अर्डर गरि खान थालेका छन्। गरिब असहाय तथा निमुखा ब्यक्तिहरुका बारेमा सामाजिक सञ्जालमा भएका पोष्टहरुले गर्दा उनीहरुको जीवनयापन सहज भएको छ। सामाजिक सञ्जालमार्फत मानिसहरुले विभिन्न अस्पताल तथा कोरोना नियन्त्रण कोषमा रकम समेत प्रदान गरेका छन्। विभिन्न संघसंस्थाले सामाजिक सञ्जालमार्फत नै सहयोगको अपिल समेत गरिरहेका छन्। वैज्ञानिकहरुले पनि कोरोना भाइरसको भ्याक्सिन पत्ता लगाउनका लागि सामाजिक सञ्जालमार्फत नै सहकार्य गरिरहेका छन्। कोरोना सम्बन्धी अनुसन्धान गर्ने वैज्ञानिकको मृत्युमा सारा बिश्वले सामाजिक सञ्जालमार्फत नै सम्मान ब्यक्त गरे। यस्ता कार्यहरुले गर्दा वैज्ञानिकहरुको हौसला समेत उच्च हुन्छ।

सामाजिक सञ्जालको प्रयोग सम्बन्धी केही तरिकाहरु यस्ता छन्।

१. विषय परिवर्तन

सामाजिक सञ्जालको सकारात्मक प्रयोगले कोरोना भाइरसको प्रकोपसँग असम्बन्धित तथा चाखलाग्दो विषयको अन्तरक्रिया सुरुवात गरी सहभागी हुन सकिन्छ। विभिन्न पुस्तक, चलचित्र तथा क्रियाकलापको बारेमा विभिन्न ब्यक्तिहरुका विचारका सम्बन्धमा चासो र विषयवस्तुहरु सिक्ने जिज्ञासा उत्पन्न भएमा एक्लोपन तथा तनाव व्यवस्थापन गर्न सकिन्छ।

२. आफ्ना योगदानहरुको प्रस्तुति

लकडाउनको समयमा आफूले कसरी सहयोग गरिरहेको भन्ने सम्बन्धमा सामाजिक सञ्जालमा देखाउनाले अरुलाई समेत प्रेरित गर्न सकिन्छ। यसमा चन्दा संकलन, मानवीय सहायता, विभिन्न राहत कार्यक्रमहरु सम्बन्धी योजना प्रस्तुत गर्न उपयुक्त हुन्छ।

३. अनलाइन समुदाय (Online Community)निर्माण

नयाँ तथा सामूहिक एवं रचनात्मक क्रियाकलापहरु पत्ता लगाई अनलाइनमै समुदायसँग छलफल गर्न सकिन्छ। यसमा शारीरिक तन्दुरुस्तीका कक्षाहरु, योगा, सिलाई कटाई, विभिन्न भाषाका कक्षाहरु, समुदायको चियागफको समय निर्धारण, संगीत कक्षा, ध्यान, एकै समयमा सिनेमा प्रदर्शन जस्ता कार्यहरु गर्न सकिन्छ। घरको सहजतामा समाजसँग जोडिरहने कार्यहरु पत्ता लगाई कार्यान्वयन गर्न सकिन्छ।

४. सार्थक विषयहरुको प्रवर्द्धन

विगतमा बेवास्ता गरिएका महत्वपूर्ण विषयहरुमा गहन अध्ययन गरी पर्याप्त समय दिई जनचेतनामूलक कार्यहरु गर्न सकिन्छ। आफूलाई रुची भएका विषयहरुमा सकारात्मरुपमा संलग्न रहनाले आफूमा आत्मभरोसा समेत बढ्छ।

५. निश्चित समय निर्धारण

निश्चित समयमा मात्र सामाजिक सञ्जाल प्रयोग गर्ने बानी गर्नुपर्दछ। सामाजिक सञ्जालमा बढी समय खर्चिने भएमा तथा त्यसबाट अलग हुन अप्ठयारो भएमा सामाजिक सञ्जाल Blocking App Install गर्न सकिन्छ। यसबाट बितृष्णा हट्न गई उत्पादनशीलता बढ्न जान्छ।

६. समाचारहरुको सिमितता

कोरोना भाइरस सम्बन्धी सम्पूर्ण समाचारहरुमा ध्यान नदिई आफूले हेर्ने साइटहरु तथा पोष्टहरु सिमित गर्नुपर्दछ।

७. उपकरणहरुको निश्चित समयमा मात्र प्रयोग

हरसमय मोबाइल प्रयोग नगरी निश्चित अवधिमा मात्र प्रयोग गर्ने। विभिन्न घरायसी कार्यहरु गर्दा मोबाइलको प्रयोग नगर्ने।

८. अनलाइन बाहेकका कार्यहरु

सामाजिक सञ्जाल र मोबाइल फोनको प्रयोग बाहेकका आफ्नो शोख तथा चासोका कार्यहरु गर्नुपर्दछ। कोरोना भाइरसको प्रकोपका विषयमा सबै जानकारी लिने प्रयास नगर्ने, आफूलाई आवश्यक मात्र भरपर्दो स्रोतबाट लिनुपर्दछ। Notification Off गर्नुपर्दछ।

९. दिनचर्याको निर्माण

आफ्ना लागि रचनात्मक दिनचर्या निर्माण गरि लागु गर्नुपर्दछ। सुत्नु अगाडि निश्चित समय निर्धारण गरि सामाजिक सञ्जालको प्रयोग गर्नुपर्दछ। सुत्न तथा उठ्नका लागि अलार्मको प्रयोग नगरि प्राकृतिक तरिका लागू गर्ने।

१०. सामाजिक सञ्जालमा छुट्टी

आफूले सामाजिक सञ्जालबाट लिन लागेको छुट्टिका बारेमा पोष्ट गरी निश्चित समयपछि फर्कने सूचित गर्ने।

सामाजिक सञ्जालमा कोरोना भाइरस सम्बन्धी पोष्टहरु सकारात्मक एवं तथ्यपूर्ण मात्र एकले अर्कोमा सेयर गर्नाले थप सुरक्षित समाज निर्माणमा टेवा पुग्छ। कोरोना रोकथामका लागि हरेक ब्यक्तिले गलत खबर मात्र प्रवाह नगरेमा पनि सबैमा सहि खबर पुगेर सबै मानिसहरु सचेत हुन पुग्दछन्। विभिन्न किसिमका कोरोनाका औषधि तथा उपचार विधिहरुका बारेमा सामाजिक सञ्जालमा सेयर नगरेमा यस्ता गलत अफवाहहरु सबैको पहुँचमा नपुगी सहि सत्य जानकारी मात्र पुग्दछ।

हरेक मानिसले कोरोनाका बारेमा सही एवं आधिकारिक सूचनामात्र सेयर गर्ने तथा गलत समाचार नलेख्ने, नपढ्ने र सेयर नगर्ने गरेमा कोरोना भाइरसको डर हटाउनमा सहायक सिद्ध हुन्छ। कोरोना भाइरसको दिर्घकालीन रोकथामका लागि समेत सबै मानिसहरु सचेत हुन तथा सरकारबाट पनि विस्तृत योजना तयार गरी कार्यान्वयन गरेमा मात्र भविष्यमा यसको असर न्युन हुन जान्छ।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट