PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'यो त त्रासलाई जित्ने समय हो'


सरला पोखरेल/पहिलोपोस्ट

'यो त त्रासलाई जित्ने समय हो'

सामान्यत: मुल ढोकामा मात्र चाबी लगाउँछौं हामी। अनि हाम्रो यही बानी आमालाई फिटिक्कै मन नपर्ने। यस पटक पनि आउना साथै भन्नुभयो,'सबै कोठाको चाबी लगाउनु पर्छ। तिमीहरु मेरो कुरै सुन्दैनौ।'

'नसुनेको होइन के आमा सबैतिर चाबी लगाउँदा चोरलाई पनि भित्र केके न छ जस्तो लाग्छ। तोडफोड गर्छ। बरु ताला नदेख्दा केही छैन रैछ भन्ने सोच्छ नि', मैले बाठो बनेर जवाफ दिएँ। 

'चोरलाई झुक्याउन सकौला तिमारुले ?', आमालाई खोइ हामीमा विश्वास भएन वा हाम्रो कुरामा। ओठ लेप्र्‍याउँदै बोल्नु भयो।

आमा स्वास्थ्य परीक्षणको लागि काठमाणडौ आउनुभएको थियो। उपचार लगत्तै गाउँ फर्किनु भयो।

उहाँ फर्किनु भएको केहि दिनमै सरकारले लकडाउनको घोषण गर्‍यो। फोन गरेर आमालाई जिस्क्याएँ, 'आमा हामीले रुम लक गर्नै परेन सरकारले नै लकडाउन गर्दियो।'

'खोही म केही बुझ्दिँन तिमीहरुको कुरा। बरु त्‍याँ घर बाहिर नहिँड्नु भन्या छ। घरमै बसे लाग्दैन रे त्यो रोग। खानाको जोहो गर्नु, घरमै बस्नु है', आमाले निर्देशन दिएको शैलीमा भन्नुभयो।

केहि अगाडिसम्म लकडाउन भन्ने शब्द नै सुनेका थिएनौं हामीले। न त क्वारेनटाइन नै। यी त सबै कोभिड १९ अर्थात कोरोना भाइरसले निम्त्याएका शब्दहरु बने, हाम्रा लागि। स्यानिटाइजरको पनि खासै नियमित प्रयोग गर्दैन थ्यौं हामी।

जब कोरोना भाइरसको प्रभाव विश्वभर फैलिँदै गयो धेरै नेपालीलाई स्यानिटाइजर चाहियो भनेपछि चाहियो चाहियो। ढिलै सही यसको महत्व र आवश्यकता बुझ्ने। त्यो बुझाइसँगै अभाव सुरु भयो। कालो बजारी सुरु भयो। संसार नै प्रकोपसँग जुधिरहेको बेला कालोबजारी गर्नेहरु कमाइमा रमाइरहेका देखिए।

तिनै कालोबजारी गर्नेलाई उक्साउन मपनि निस्किए, स्यानिटाइजर खोज्दै। तर कतै पाइएन। मेरी सहकर्मीको पनि उस्तै पीडा। उनले आफ्नी दिदीलाई फोन गरेर समस्या सुनाइन्।

'दिदी यता त स्यानिटाइजर पाइएन त्यता छ कि हेर्दिनु न,' साथीले फोनमा भनिन्।

तर रोचक त के भने, उनकी दिदीलाई त अझै पनि स्यानिटाइजरको बारेमा थाहा नै रहेनछ। जब कोरोनाको कहर बढ्दै गयो तब तिनै दिदीले मेरी साथीलाई फोन गरेर सोधिन्,'अस्तिन स्यानिटाइजर खोजेको होइन? पाइयो त? पाएको भए मलाई पनि एउटा चाहियो।'

बल्ल भोगिन् अभावको प्रभाव।

अनि यो प्रभाव विश्वव्यापी हो। सबैमा उस्तै त्रास, भय अनि दोसाध। आफ्नासँग नजिकिन पनि डराउनु पर्ने अवस्था। के गर्दा हुन् यही भाइरसका कारण आफ्नो प्यारो मानिस गुमाउनेहरु? जो सासविहीन प्राणलाई गमलङ्ग अंगालो हालेर रुन समेत पाउँदैनन्।

प्रकोपको प्रभाव हाम्रो देशमा पनि देखिएको छ। धन्न यहाँ यस भाइरसले पुर्‍याउने अन्तिम विन्दुमा कोही पुगेका छैनन्। तर, कायम छ उस्तै डर र नैराश्यता।

तर यो त त्रासलाई जित्ने समय हो। आफ्नै लापरवाहीको कारणले भाइरस सर्ने भएकोले सतर्क हुनुको विकल्प छैन। घरमै बसेर ठूलो युद्धलाई जित्नु पर्ने चुनौती छ हाम्रो अगाडि। देशको सेवा गर्न हामी सेना, प्रहरी वा डाक्टर नर्स नै हुन आवश्यक छैन भन्ने कुरा पुष्टि गर्नुछ। नत्र हामीमध्ये कोही एकको सानो लापरवाहीले देश नै संकटमा पर्न सक्छ, जसको ज्वलन्त उदाहरण हो इटली।

त्यसैले हामीले यस उत्साह बीनाको संकटकाल बिदा घरमै मनाउन आवश्यक छ। ताकी हामीले इटलीकोजस्तो अवस्था भोग्न नपरोस्।

आखिर हामीले खोजेकै हुन्थ्यौं नि बिदा। आराम गर्न। आनन्दले घरमै बस्न। यदी तपाईं जागिर खानुहुन्छ भने सोच्नुस् त यस्तै लामो बिदाको आशा गर्नु भएको थियो कि थिएन?

तर संक्रमणको डरले बन्द भए कार्यालय। बिदा पाएर पनि कतै निस्कन मिल्ने अवस्था छैन। घुम्ने रमाउने वातावरण छैन। कोरोनाको त्रास छ। बिदासँगै खुशी पाइएन। धेरैलाई बिदामा समय कटाउन मुस्किल परेको गुनासो देख्न सकिन्छ सामाजिक सञ्जालमा।

प्रायको दिनचर्या एउटै भएको छ - बिहान अबेरसम्म सुत्ने, उठेर खाना पकाउने र खाने, सामजिक सञ्जालमा आफैलाई व्यस्त बनाउने, भ्याएसम्म फिल्म हेर्ने।

'बिदा भए दिनभरि आनन्दले सुतेर बस्थें,' भन्ने मेरो भाइ पनि लकडाउनको पहिलो हप्ता नसकिँदै आजित भैसकेको थियो। सरकारले लकडाउनको अवधि थपेसँगै उनीजस्तै हामी धेरै आजित भएका छौं।

दिनदिनै घरमा बस्ने वृद्ध आमाले भाइतिर हेर्दै सोध्नु भयो, 'बाबु यो बन्द कैलेसम्म गर्छन्?'

 भाइले भन्यो, 'एक हप्तासम्म आमा।' आमाले आत्तिँदै भन्नुभयो अझै एक हप्ता? अनि हामी सबैले आमाको प्रश्नलाई हाँसो बनायौ र भन्यौं, 'तपाईं सधै घरमा बस्ने मान्छेलाई केको आपति हो। अफिस जाने भए पो?'

आमाले छटपटाहटको आभाष गराउँदै भन्नुभयो, 'खोइ पसलसम्म जान देको छैन। केही चहलपहल पनि छैन त्यसै उराठ लाग्दो छ नि।'

आजभोलि यही उराठताको कुरा हुने गरेको छ घरमा।

तर प्रश्न र जिज्ञासा मात्र गरेर पनि त हुँदैन। धेरैलाई सरकारले गरेको लकडाउनले खुशी दिएको छ, ढुक्क बनाएको छ – यो कोरोना नियन्त्रणकै लागि हो भन्ने बुझाइका कारण। सरकारको कदम गलत मान्नेले पनि यस निर्णयलाई स्वीकार्नु विकल्प छैन।

आखिर सबैको हितको लागि न हो।

लकडाउनको तेस्रो दिन घरमा केहि खाद्यन्नको अभाव भयो। भाइ बहिनीलाई नजिकैको पसल पठायौं, सामान ल्याउन। फर्किए लगत्तै बहिनीले भनिन्, 'मलाई बाहिरको अवस्था देखेर भक्कानिएर रुन मन लाग्यो। कस्तो सन्नटा।'

हालसम्म नेपालमा भाइरसबाट संक्रमितको सङ्ख्या ९ पुगेको छ।

संक्रमितको संख्या बढ्दै जाँदा हामी धेरै नै अत्तिएका छौं डराएका छौं। सकारात्मक भन्दा नकारात्मक कुरामा धेरै ध्यान दिइरहेका छौ। सामाजिक सञ्जालमा गलत समाचारहरु भाइरल हुँदा भाइरसबारे त्रास बढ्दै गएको छ।

कोराना भाइरसको विश्वव्यापी तथ्याङ्क लाईनै आधार मान्ने हो भने पनि कुल संक्रमितको संख्यामा मृत्यु हुनेको संख्या भन्दा निको हुनेको संख्या बढि छ। तर हाम्रो नजर नीको हुने भन्दा मृत्यु हुनेमा नै बढि जाने गरेको छ। मिडियाले पनि मृत्युको समाचरलाई प्राथमिकता दिँदा नागरिक आतंकित बनेका छन्।

तर यो समय आतंकित हुने होइन। हामी सतर्क भएर धैर्य धारण गरेर घर भित्रै बस्नु नै बुद्धिमानी उपाय हो। तर, लकडाउनको दिन गन्दै गर्दा मानिसमा अन्योलता पनि बढिरहेको छ।

'कहिलेसम्म हुने हो हाम्रो घर बसाइ। कहिलेसम्म मा निर्मुल हुने हो यो भाइरसको आतंक?'

यस्तो सोच आउनु जायज नै हो। यो बेला हामीले चाहेर मात्रै केही हुने होइन। भाइरसको विश्वभर फैलिरहेको यो महामारी समाप्त नभएसम्म हामी सुरक्षित छौं भन्ने सोच्नु पनि भ्रम हुनेछ। त्यसैले आफू र आफ्नो समाज सुरक्षित बनाउनका लागि हामी आफै सक्रिय हुनैपर्छ। हाललाई घरकै बसेर सरकारलाई सहयोग गर्नुपर्छ। सरकारले पनि जनताको दैनिक जीवन प्रभावित नहुने गरी काम गर्नुपर्छ। 

Photo Credit :https://josephmuciraexclusives.com/




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट