
- रमेश वाग्ले/पहिलोपोस्ट-
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भने संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टै कुराकानी गर्न कुरिरहे। पछि उपेन्द्र यादव आएपछि उनकै पार्टीका अर्का नेता राजेन्द्र श्रेष्ठलाई लिएर केही पर चौरतिर लागे।
‘अहिलेसम्मको वार्ता नियमित चिया भेटमा सीमित भइरहेको छ, हुनुपर्ने जस्तो जिम्मेवार पहल भइरहेको छैन’ श्रेष्ठले यादवलाई प्रश्न सोधे ‘के यही अवस्था रह्यो भने तपाईँहरु पनि आन्दोलन कायम राखेर देशलाई थप अप्ठेरोमा पार्नुहुन्छ?’
उपेन्द्र यादवले जवाफ फकाइहाले, ‘वार्तामा सत्तापक्ष लचिलो हुन्छ कि आन्दोलनकारी, तपाईँ जिम्मेवार प्रयास भएन पनि भन्ने अनि आन्दोलन रोक्न संकेत पनि गर्ने?’
उनले श्रेष्ठलाई कि एमाओवादीको नेता हुनु कि पार्टी छोडेर आफूसँगै आन्दोलनमा आउन सुझाव पनि दिए। दुईजनाबीच कुराकानी भइरहेकै बेला सँगै रहेका फोरम नेता राजेन्द्र श्रेष्ठले एमाओवादी पनि भारतकै चंगुलमा परिसकेको भन्दै दलाली गरेर राष्ट्रवादका कुरा चर्किरहेका बताए।
‘यहाँ कसैले पनि पानी माथिको ओभानो बन्ने प्रयास नगर्दा हुन्छ,’ श्रेष्ठले भने, ‘तपाईँले पनि आफुलाई राष्ट्रवादी जामा नपहिर्याउँदा हुन्छ।’ राजेन्द्रको भनाई सुन्नासाथ नारायणकाजी झोक्किए। ‘अरुलाई जस्तै गरेर मलाई अरोप नलगाउनुस्, म सरकारमा रहँदा पनि आफ्नो अडान स्पष्टसँग राखेको मान्छे हुँ,’ उनले ठुलै आवाज निकालेर भने, ‘मलाई केपी ओली र झलनाथ खनालसँग जस्तै गरेर आरोप नलगाउनुस्।’ उनले राष्ट्र जोगाउने अभियानमा आफू लागिरहेको भन्दै मधेसमा दुई प्रदेश बनाउने एजेण्डा आफ्नो पनि भएको बताए।
राजेन्द्रले थप अरोप लगाए, ‘इन्डियाको मामिलामा बरु कांग्रेस एमाले र एमाओवादी भन्दा तटस्थ छ।’ नारायणकाजी थप आक्रोसित हुँदै भने, ‘भारतले कांग्रेसलाई अघि सारेर मात्र मधेसकोा समस्या समाधान गर्न चाहेको छ, यो कुरामा तपाईँ भन्दै नभन्नुस् कांग्रेस तटस्थ छँदैछैन।’ उनले अन्य केही मामिलामा राजेन्द्रको भनाई सहि पनि हुने बताए।
‘म त आज हैन पहिले देखि नै मधेसमा दुई प्रदेश हुनुपर्छ भन्ने व्यक्ति हुँ, यो कुरा तपाईलाई पनि थाहा छ,’ उनले भने, ‘अब कसरी मिल्न सक्छ त्यो मलाई बताउनुस् म सहजकर्ताको भूमिका निर्वाह गर्नेछु।’ नारायणकाजीले भनेपछि उपेन्द्र यादवले त्यसो भए लाग्नुस् न त मधेसमा दुई प्रदेश बनाउन भनेका थिए। उनले पूर्व र पश्चिम छुट्याउन प्रमुख दलहरु नै लागिरहेको भन्दै समस्या समाधानमा कोही जिम्मेवार नबनेको बताएका थिए।
‘झापाको जनता कहाँ बस्न चाहन्छ भन्ने त त्यहीँका जनतालाई सोध्नुपर्यो नि उपेन्द्रजी,’ श्रेष्ठले थपे, ‘तपाईँले जे भन्यो त्यही गर्नु त डेमोक्रेसी होइन होला नि?’ उपेन्द्रले तत्काल जवाफ फर्काइहाले, ‘चितवनलाई काठमाडौंमा ल्याउन त्यहाँका जनतालाई सोध्नुभएको थियो?’ उनले श्रेष्ठलाई धेरै डेमोक्रेसीको पाठ नसिकाउन चुनौंती दिए।
यादवलाई श्रेष्ठले फेरि सोधे, ‘खासमा इण्डिया के चाहन्छ हँ?’ उपेन्द्रले कडा जवाफ फकाई हाले ’तपाईँ इण्डियासँग कुरा गर्दै हुनुहुन्छ कि मसँग? तपाईँ सत्तामा हुनुहुन्छ। राज्यको वार्ता राज्यकै तहमा हुन्छ इण्डियासँग वार्ता गर्नुस्, सडकमा रहेका हामीलाई इण्डियाले के चाहन्छ भनेर थाहा हुन्छ?’
उनले ‘आफ्ना जनताले उठाएका जायज माग सम्बोधन नगरेर दिल्लीको मुख ताक्दा’ अहिलेको समस्या आएको पनि आरोप लगाए। करिब एक घण्टासम्म चलेको अनौपचारिक वार्ताबाट कुनै सहज अवस्था निर्माण नगरेपछि उनीहरु करिब सात बजे सिंहदरवारस्थित संसद् सचिवालयको भवन नं २ को प्रांगणबाट छुटेका थिए।