PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

नेपाल पपुवा न्युगिनीसँग २ विकेटले पराजित



नेपाल पपुवा न्युगिनीसँग २ विकेटले पराजित

  • पहिलोपोस्ट -
काठमाडौं : आइसिसी वर्ल्ड लिग डिभिजन च्याम्पियनसिप अन्तर्गतको दोश्रो चरणको पहिलो खेलमा नेपाल पपुवा न्युगिनीसँग २ विकेटले पराजित भएको छ।

युएईमा भएको खेलमा नेपालले दिएको २ सय ३३ रनको लक्ष्य पाएको पपुवा न्युगिनीले तीन बल बाँकी छँदै  ८ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो।

पपुवा न्युगिनीको जितमा असद भालाले सर्वाधिक ८७ रन बनाएका थिए। नेपाली बलरहरुले पपुवा न्युगिनीलाई रोक्ने प्रयास गरेपनि सफल हुन सकेनन्। २९ ओभर २ बलको क्षतिमा १ सय ३८ रन बनाउँदा ६ विकेट गुमाएको पपुवा न्युगिनीले जोगिएर खेलको थियो। 

वर्ल्ड लिग डिभिजन च्याम्पियनसिपमा नेपालको यो तेस्रो हार हो। यसअघि स्कटल्यान्डसँगको दुई खेल नेपालले गुमाइसकेको छ। अर्को खेल पपुवा न्युगिनीसँग बुधबार हुँदैछ।  

त्यसअघि अबुधाबीको सेख जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन बनाएको थियो।

नेपालका लागि सरद भेषावकर एक्लैले ७८ रन जोडे। ३ बल बाँकी हुँदा आउट भएका उनले ८२ बल खेल्दै ५ चौका प्रहार गरेका थिए। यो उनको लिस्ट ए म्याच करिअरकै सर्वाधिक रन थियो।

ओपनर अनिल मण्डल पहिलो बलमा नै बोल्ड भएपछि धर्मराएको नेपाली ब्याटिङलाई सुवास खकुरेलले ६३ रनको पारी खेलेर सम्हालेका थिए। लिस्ट ए म्याच करिअरमा खकुरेलको यो सर्वाधिक रन थियो।

कप्तान पारस खड्का खासै प्रभावकारी हुन सकेनन्। ६ रन बनाउँदा चौका हान्ने प्रयासमा उनी क्याच आउट भए। ज्ञानेन्द्र मल्लले २३ रन जोडे। लिस्ट ए म्याचमा डेब्यु गरेका महबूब आलम मात्र ३ रनमा आउट हुन पुगे। 

बसन्त रेग्मीले नटआउट २४, सागर पुनले १०, र सोमपाल कामीले ८ रन जोडे। 

स्कटल्यान्डसँगको पहिलो चरणका दुवै खेलमा पराजय भोगेको नेपालले पपुवा न्युगिनीसँग खेल्न लागेको दोस्रो चरणका दुई खेल अन्तर्गत यो पहिलो खेल हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell