PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

सिएनएन हिरो म्यागी, जसले १० वर्षअघिसम्म नेपालको नामै सुनेकी थिइनन्



सिएनएन हिरो म्यागी, जसले १० वर्षअघिसम्म नेपालको नामै सुनेकी थिइनन्

  • म्यागी डोयन-
म १८ वर्षकी थिएँ, भर्खर हाइस्कुल जान थालेकी थिएँ। स्कुल जान थालेपछि मैले बिस्तारै बाहिरी विश्वबारे थाहा पाउन थालेँ। मैले आफैँबारे समेत धेरै थाहा पाउन बाँकी रहेछ भन्ने जानेँ। त्यतिबेलै मैले विश्वको बारे अझ जान्ने इच्छा राखेँ। अनि लिप नाउ भन्ने एउटा स्वयंसेवक कार्यक्रममा आबद्ध भएँ। त्यसपछि म भारतको एउटा विद्यालयमा आइपुगेँ।

मैले त्यहाँ धेरै 'शरणार्थी' परिवार र बालबालिका भेट्न थालेँ। मैले उनीहरुलाई धेरै प्रश्न सोध्न थालेँ – किन? कसरी? के कारणले घर छोडेको? अनि एक दिन मैले थाहा पाएँ, उनीहरु हिमाली भेगबाट भारत आएका रहेछन्। त्यो समयमा मलाई नेपाल भन्ने देश छ भन्ने समेत थाहा थिएन। नेपाल त्यतिबेला गृहयुद्धको चपेटामा थियो।


​म एउटा नेपाली साथीसँग नेपाल आएँ। उनी आफैँ पनि आठ वर्षपछि आफ्नो गाउँ फर्कँदै थिइन्। मैले नेपालमा माया पाएँ। नेपालीहरुले मन खोलेर व्यवहार गरे। मैले नेपाल मेरो आफ्नो घर जस्तै महसुस गरेँ। साथमा मैले गरिबी र टुहरोपन पनि देखेँ। मेरो आँखा खुल्यो। म कस्तो बेखबर थिएँ, गरिबी र अभाव अझै विश्वमा छ भनेर। मैले मान्छे हुनुको महत्व बुझेँ। युद्धपछिको अवस्थामा जीवन जिउन कति कठिन थियो मैले देखेँ। तर मलाई अचम्म तुल्याउँथ्यो, उनीहरुको विश्वासले। उनीहरुमा अझै भविष्य प्रति विश्वास थियो।

मैले युद्धमा ज्यान गुमाएका सिपाहीका परिवारसँग भेटेँ। उनीहरुका परिवारका बच्चाका आँखामा चमक अनि मुहारमा हाँसो देख्दा म रमाउँथे। अनि म भित्र ती बालबालिका लागि केही गर्नैपर्छ भन्ने सोच पलायो।

मैले मेरो घरमा फोन गरेँ र मेरो लागि भनेर जम्मा भएको रकम पठाउन भनेँ। त्यो रकम पाँच हजार डलर थियो। लामो कुराकानी पछि मेरो परिवारले मलाई पैसा पठाइदिए। मैले एउटा सानो जग्गा किनेँ। मेरो सपना थियो– बास नभएका बच्चाहरुका लागि सानो घर बनाउने। विश्वभरका बालबालिका उस्तै हुन्छन्। उनीहरु माया चाहन्छन्, शिक्षा चाहन्छन् अनि हेरचाह चाहन्छन्, साथी चाहन्छन्।

सुरुवातमा म के गर्ने भन्नेमा परेँ। विश्वमा गरिबी र दरिद्रता छ भन्ने थाहा नपाएरै मेरो लामो समय बितेको थियो। यता नेपालमा झण्डै दश लाख टुहुरा थिए। तर मलाई सुरुवात गर्नु थियो। मैले एक दिन हिमा भन्ने एउटी बालिका भेटेँ। उनी नदीको किनाराबाट ठूलो ढुङ्गा ल्याउँथिन् र अलिक माथि ल्याएर टुक्रा पार्थिन्। उनी एउटा सुख्खा नदी किनारामा गिट्टी कुट्थिन्। अनि साँझमा त्यसलाई बेच्थिन् र झण्डै एक डलर बराबर कमाउँथिन्। त्यो रकम उनको परिवारको हेरचाहमा खर्च हुन्थ्यो। उनी भन्दा साना भाइबहिनी र एक्ली आमालाई उनी घर चलाउन मद्दत गर्थिन्।


हिमा
जब जब त्यो सुख्खा नदी किरान हुँदै हिँड्थेँ, उनी नेपाली लवजमा ठूलो स्वरमा ‘नमस्ते’ भन्थिन्, जसको मतलब हुन्थ्यो 'हेलो।'


त्यसपछि मैले किन यही बालिका हिमाबाट आफ्नो मिसन सुरु नगर्ने भन्ने सोचेँ। यदि उचित शिक्षा पाए उनको जीवन कसरी परिवर्तन हुन्थ्यो होला भन्ने सोचेँ। अनि उनलाई नजिकैको विद्यालयमा लगेर भर्ना गरेँ। भर्ना शुल्क केबल सात डलर थियो। मैले उनका लागि विद्यालयको ड्रेस किनेँ अनि कापी र किताब पनि।

मैले त्यहाँका विद्यालयका प्रिन्सिपिल र स्थानीयबासिन्दासँग कुरा गरेँ। उनीहरु सबैको जोड शिक्षामै थियो तर उनीहरु गरिबीको कुरा गर्थे। म त्यतिबेला केवल १९ वर्षकी थिएँ। तर के भयो? कम्तिमा मैले एउटी बालिकाको जीवन परिवर्तन हुने सेवा गरेकी थिएँ।



यस्तो काममा लागेपछि मान्छे लतमा पर्दो रहेछ। बिस्तारै मेरो पहलमा विद्यालय भर्ना हुनेको संख्या ५ पुग्यो। अनि १० भयो। लगत्तै २० भयो।

तर उनीहरुसँग अब समस्या थियो खानेकुराको, ओछ्यानको। मलाई यस्तो ठाउँको आवश्यकता थियो, जसलाई उनीहरुले घर भन्न सकुन्। तर मसँग भएको पैसा सकिएको थियो। म अमेरिका फर्किएँ। मैले मेरो समुदायसँग कुराकानी गरेँ। मेरो हाइस्कुल र मैले सानोमा पढेको स्कुलमा गएर छलफल गरेँ। यसरी मैले करिब २० हजार डलर जम्मा गरेँ।

अनि म पुनः नेपाल आएँ।  भवन बनाइयो, जसलाई नाम दिइयो– कोपिला भ्याली चिल्ड्रेन्स होम। ‘डु समथिम अर्गनाइजेन’ ले मलाई १ लाख डलर सहयोग प्रदान गर्‍यो। रकम थियो कोपिला स्कुल निर्माणका लागि।



आज हामीसँग विद्यालय छ। २० जना विद्यार्थी छन्। स्थानीय शिक्षकहरु छन्। क्लिनिक छ, जहाँ बालबालिकाले स्वास्थ्य चेकअप गर्न पाउँछन्, आधारभूत स्वास्थ्य उपचार पाउँछन्।


जब म न्युजर्सी फर्किएँ। मैले मेरो समुदाय र विद्यार्थीहरुसँग भने – हेर्नुस्, हामी विश्व परिवर्तन गर्न सक्छौँ।


अहिले जब म उठ्छु मेरो अगाडि ३० जना विद्यार्थी हुन्छन्। मेरै अगाडि दौडिरहेका हुन्छन्। सबै थोक मेरो आँखै अगाडि हुन्छ। उनीहरुको मुहारमा परिवर्तन देख्छु। उनीहरुलाई म मेरै सन्तानको रुपमा हेर्छु।


मेरो आज एउटै सन्देश छ– अरुले पनि यस्तो काम गर्न सक्छन्।

म भन्दिन, तपाईँ ८ हजार माइल यात्रा गरेर नेपालको बिचमा आउनुस्। तपाईँको आफ्नै दैनिकी होला। म भन्छु, हामीले मात्र आँखा खोल्नुपर्छ र विश्वलाई हेर्नुपर्छ।
...................
२८ वर्षिया म्यागी डोयन यसवर्षको सिएनएन हिरो २०१५ बाट पुरस्कृत भएकी छन्। उनले दश लाख अमेरिकी डलर पुरस्कार प्राप्त गरेकी छन्। उनको संस्था ब्लिङ्क नाउले सुर्खेतमा कोपिला स्कुल, चिल्ड्रेन्स होम, हेल्थ क्लिनिक र वुमन सेन्टर सञ्चालन गर्छ। उनको विद्यालयमा तीन सय पचास विद्यार्थी पढ्छन्। उनको चिल्ड्रेन्स होममा ५० विद्यार्थीका लागि आवासीय सुविधा छ।  विद्यार्थीहरु उनलाई ‘मम्मी’ भनेर बोलाउँछन्।

अहिले १३ विघा क्षेत्रफलमा उनको संस्थाले कोपिला विद्यालय बनाउँदै छ। जसमा नर्सरीदेखि १२ कक्षासम्म सञ्चालन गर्ने उनको सोचाई छ। आफ्नो संघर्षको यो कथा म्यागीले सन् २०१० मा सुनाएकी हुन्।

हेर्नुस् भिडियोः

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell