
- विज्ञान अधिकारी-
सुरुवातमा व्यवसायिक सम्झौंताका लागि वाणिज्य मन्त्रालयका सहसचिव शम्भुप्रसाद घिमिरेको संयोजकत्वमा टोली चीन जाने भनेपनि प्राविधिक विषयमा टुंगो नलागी जाँदा ‘अर्थ’ नहुने भन्दै निगमको प्राविधिक विषयमा जानकार अधिकारीलाई त्यसतर्फ पठाउन लागिएको वाणिज्य मन्त्रालय स्रोतले जानकारी दियो।
‘चीनसँग प्राविधिक विषयमा आयल निगम र पेट्रो चाइनाबीच इमेलमा आदान/प्रदान मात्रै भएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘पहिला चीनले दिने पेट्रोलियम पदार्थको मूल्य, निकासी गर्दा कर छुट लगायतका विषयलाई टुंग्याउनुपर्ने भएकोले प्राविधिक टोली पठाउन लागिएको हो।’
प्राविधिक विषय टुंगो लागेपछि व्यवसायिक सम्झौंताका लागि वाणिज्य मन्त्रालयका सहसचिव घिमिरे, परराष्ट्र, अर्थ र कानुन मन्त्रालयका सहसचिव चीन जानेछन्। यो टोलीमा निगमका निमित नायब कार्यकारी निर्देशक सुशील भट्टराई र निमित निर्देशक दीपक बराल रहनेछन्। भट्टराई र बराल इन्जिनियर हुन्।
भट्टराई यसअघि निगम र पेट्रो चाइनाबीच सम्झौता हुँदा समेत सहभागी थिए भने चीनबाट आएको अनुदानको तेल लिन निगमको नेतृत्व गर्दै बराल केरुङ पुगेका थिए। यो टोलीले बेइजिङमा रहेको पेट्रो चाइनाका अधिकारीसँग छलफल गर्नेछ।
स्रोतका अनुसार अहिलेसम्म पनि पेट्रो चाइनाले नेपाललाई दिने पेट्रोलियम पदार्थको मूल्यका बारेमा जानकारी दिएको छैन। निगमले पेट्रो चाइनालाई इन्डियन आयल कर्पोरेशन(आइओसी)ले दिएकै मूल्यमा पेट्रोलियम पदार्थ दिन प्रस्ताव गरेको छ। तर चीनबाट आउने पेट्रोलियम पदार्थ उच्च गुणस्तरको भएकोले मूल्य भने केही महँगो पर्नेछ। चीनले युरो–४ मापदण्डको पेट्रोल मात्रै बिक्री गर्छ।
भारतबाट युरो–३ मापदण्डको पेट्रोल दिँदै आएको छ। चीनले दिएको पेट्रोलको अक्टेन ९३ भएकोले माइलेज आइओसीको पेट्रोलको भन्दा १० किलोमिटर बढी रहेको दावी गरिएको छ। चीनले नेपाललाई दिने डिजेल पनि ‘हाइस्पिड डिजेल’ भएकोले केही महँगो पर्ने स्रोतले बतायो।