PahiloPost

May 14, 2024 | १ जेठ २०८१

भट्टराईले भने- मैले आँधीको पूर्व सूचना दिएको थिएँ तर लान्छना लगाइयो



भट्टराईले भने- मैले आँधीको पूर्व सूचना दिएको थिएँ तर लान्छना लगाइयो

'म आतंकित छैन, डराउनेवाला छैन'

  • रविराज बराल/पहिलोपोस्ट-
काठमाडौं : नयाँ शक्ति निर्माण अभियानमा रहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई राष्ट्रविरोधी, राष्ट्रघाती र देशद्रोहीको आरोप लगाइएको भन्दै आफू त्यसबाट नडराएको बताएका छन्।

संविधान घोषणापछि आधा देश आन्दोलनमा भएको र मान्छे मारिएको बेला दिपावली गर्ने र खुसीयाली मनाउने बेला होइन भन्दा आफूलाई  राष्ट्रविरोधी, राष्ट्रघाती र देशद्रोहीको लान्छना लगाइएको भट्टराईले बताए।

'बाबुरामले संविधानका निम्ति लडेँ भन्यो, तर अहिले संविधान छोडेर हिँड्यो भनेर हिजोका संविधानसभा विरोधीहरुले नै भने', आइतबार काठमाडौंमा नयाँ शक्ति निर्माण अभियानको उद्‍घाटन कार्यक्रममा भट्टराईले भने, 'उहाँहरु संविधानसभाको स्वामित्व लिने, गणतन्त्र, लोकतन्त्र र संघीयताका पक्षधर तर जसले संविधानसभाका लागि त्यत्रो रगत पसिना बगायो र अन्तिम दिनसम्म प्रयत्न गर्‍यो, ऊ संविधान विरोधी, गणतन्त्र विरोधी, यहाँसम्मकि राष्ट्रविरोधी, राष्ट्रघाती, देशद्रोही भन्ने जस्ता लान्छनहरु लगाउने पनि काम भयो।'

आफूलाई लगाइएका आरोपबाट आफू आतंकित नभएको भट्टराईले बताए। 'कसैका भनाइहरुबाट म आतंकित र डराउनेवाला छैन किनभने इतिहास र विकासको नियम अत्यन्त निर्मम हुन्छ', भट्टराईले भने, 'त्यतिबेला मैले सर्तकता गरेको थिएँ- अहिले व्यवस्थापन नगरेपछि हुने आन्दोलन हाम्रो हातमा नहुने र देशको अखण्डतामाथि गम्भीर प्रश्न उठ्न सक्छ।'  

आफूले 'आँधीको पूर्व सूचना' दिँदा आफैलाई दुत्कारिएको उनले बताए। 'जुन वैज्ञानिकले आँधी आउन सक्छ भनेर आँधीको पूर्व सूचना दियो, त्यही वैज्ञानिक/मौसमविदलाई नै दुत्कार्ने, त्यसलाई नै सराप्ने ठूलो अभियान चलाइयो', भट्टराईले प्रश्न गरे, 'तर घटनाक्रमले के देखायो? संविधान जारी गर्नुपूर्व गत साउन/भदौमा धेरै कुरा सम्बोधन गर्न सक्ने अवस्था थियो।'

'तराई मधेस, थरुहट, मगरात, लिम्बुवानमा जनताका असन्तुष्टिहरु फेरि अगाडि आए। त्यहाँका जनताले हिजो प्राप्त गरेका अधिकार लागू भएनन् भनेपछि मैले सतर्क गराएको थिएँ', आफूले सामाजिक सञ्जालमा बोलेको स्मरण गर्दै उनले भने, 'हामीले  गल्ती नगरौँ, कुनै पनि विद्रोहको बिऊ सानो हुन्छ, तर त्यसलाई बेलैमा समाधान गरेन भने कति विकराल रुप लिन्छ भन्ने नेपालको १० वर्षे माओवादी जनयुद्ध नै काफी छ, जनताको असन्तुष्टि कायम राखियो भने त्यसले अर्को विग्रह ल्याउन सक्छ, अब हुने आन्दोलन सुस्पष्ट वैचारिक राजनीतिक आधारमा नहुन सक्छ भनेको थिएँ।'

तराई मधेसमा उठेको सुरुको असन्तुष्टि सम्बोधन नगरिँदा संविधान जारी भइसक्दा पनि देशको अवस्था विकराल रहेको भन्दै भट्टराईले संविधान संशोधनमार्फत असन्तुष्टि सम्बोधन गर्नुपर्नेमा जोड दिए।

संघीयता, धर्म निरपेक्षता, गणतन्त्र, समावेशी समानुपातिक लोकतन्त्र सुनिश्चित हुनु अहिलेका उपलब्धि भए पनि मधेसी, थारु, जनताति, मधेसी, महिला, दलित, किसान तथा मजदूरको अधिकार अझै कुण्ठित भएको उनले बताए।

नेपाल औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र बन्नु सुखद पक्ष भए पनि नागरिकका आकांक्षा पूरा नभएको उनले बताए।

'संविधानसभाको महत्वपूर्ण संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा रहँदा संविधानमा त्रुटिहरु नरहुन्, जसले गर्दा आफ्ना हकअधिकारका लागि नागरिकले पुनः संघर्ष गर्न भनेर आफूले प्रयत्न गरेको भट्टराईले स्मरण गरे। 

नयाँ शक्ति बाबुरामको होइन

नयाँ शक्ति निर्माण अभियानको उद्‍घाटन कार्यक्रममा शुभकामना दिने क्रममा वक्ताहरुले 'बाबुरामको नयाँ शक्ति' भन्दै सम्बोधन गरेपछि भट्टराईले नयाँ शक्ति व्यक्तिप्रधान नहुने स्पष्ट गरे। 'धेरैजनाले बाबुरामको नयाँ शक्ति भन्नुभयो। बाबुराम वा एउटा व्यक्ति प्रधान हुने गरी यो शक्ति गठन हुने होइन', उनले भने, 'नयाँ पार्टी थप्नुकोमात्र कुनै अर्थ छैन। त्यस्ता व्यक्तिप्रधान, समूहप्रधान पार्टीहरु पहिला पनि थुप्रै भए, अर्को त्यस्तै पार्टी चाहिएको होइन।'

आफूले पदको इच्छा चाहना त्यागेको भट्टराईले दाबी गरे। 'एकपटक सगरमाथा चढिसकेपछि पुनः सगरमाथा चढ्नुको अर्थ हुँदैन, एकपटक सगरमाथा चढेपछि ऊ ओर्लिने नै हो, जति उक्लने र ओर्लने गरे पनि अनुभव उस्तै हो', भट्टराईले भने, 'त्यसैले एकचोटी प्रधानमन्त्री भैसकेको व्यक्ति पटक पटक प्रधानमन्त्री भैरहने अपेक्षा राख्नु आवश्यक पनि छैन, त्यसले उसको निजी जीवनमा फरक पनि पार्दैन।'

आइतबार उद्‍घाटन भएको नयाँ शक्ति निर्माण अभियान भोलिसम्म चल्नेछ जहाँ नयाँ शक्ति निर्माण अभियानमा लागेका 'अभियन्ता' को बन्द प्रशिक्षण हुने छ। कार्यक्रममा हरेक जिल्लाबाट १० जनालाई बोलाइएको भए पनि दोब्बर संख्यामा सहभागिता भएको अभियन्ता गंगा श्रेष्ठले बताए। पहिले माओवादीमा रहेकाहरुको बाहुल्यता रहेको  कार्यक्रममा करिब १७ सयजना सहभागी छन्।

कार्यक्रममा शुभकामना दिन कांग्रेस नेता प्रदीप गिरी, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, साहित्यकार खगेन्द्र संग्रौला, मानवअधिकारकर्मी पद्मरत्न तुलाधर लगायत पुगेका थिए।  

सहभागीहरुले एउटा अवधारणा पत्रमा छलफल गरी निश्कर्षमा पुग्नेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell