- विनोद ढकाल/पहिलोपोस्ट-
त्यस कार्यक्रममा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो। इटहरी बजारमा ठूलो प्रदर्शन भएपछि सुरक्षा निकायको रिपोर्टका आधारमा उनीहरु सभास्थलमा नगएका हुन्। सभालाई सम्बोधन गर्न तमलोपाका अध्यक्ष ठाकुर र फोरम अध्यक्ष यादव बिहीबार साँझ त्यसतर्फ गएका थिए।
आन्दोलनरत मधेसी मोर्चाले लिम्बुवान, थरुहटलगायतका पार्टीहरुसँग मिली नौ दलको संघीय गठबन्धन बनाएर देशका ११ ठाउँमा गर्न लागेको जनप्रदर्शन र सभा अन्तर्गत यो पहिलो कार्यक्रम इटहरीमा हुन लागेको थियो।
बिहान इटहरीको खेतीखोला नजिकै बनाएको मञ्च स्थानीय युवाहरुले पेट्रोल छर्केर आगो लगाइदिएका थिए। इटहरीमा आमसभा गर्ने सार्वजनिक भएपछि स्थानीय वासिन्दाले सामाजिक सञ्जालमार्फत सभा बिथोल्न आह्वान गरेका थिए। शुक्रबार दिउँसोसम्म इटहरी बजारमा सयौंको संख्यामा सर्वसाधारण सडकमा निस्केका थिए।
सभास्थलको चारैतिर प्रदर्शनकारीको संख्या बढेपछि बाक्लो संख्यामा परिचालित सुरक्षाकर्मीलाई स्थिति सम्हाल्न हम्मे परेको थियो। प्रदर्शनकारी र सुरक्षाकर्मीबीच ठाउँठाउँमा झडप भएको थियो। झडपमा ३ जना घाइते भएका छन्। सुरक्षाका कारण नेताहरु आउन नसक्ने भएपनि कार्यक्रम भने रोकिएन। सभामा मोर्चाका स्थानीय नेता र लिम्बुवान नेताहरुले संबोधन गरेका थिए।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले मोर्चाका नेताहरु सहभागी नभएपनि कार्यक्रम नरोकिएको बताए। 'उहाँहरु सहभागी नभएपनि सभा भने विथोलिएको छैन, हामीले सभा नबिथोलिनका लागि पर्याप्त सुरक्षाको ब्यवस्था गरेका थियौं।'
सभा आयोजक दलका जिल्ला नेतृत्वलाई इटहरीको सुरक्षा अवस्था र सुरक्षा निकायले मिलाएको सुरक्षाको ब्यवस्थाबारे जानकारी गराएपछि मोर्चाका केन्द्रीय नेताहरु सुरक्षा संवेदनशिलता बुझेर नआएको हुनसक्ने उनले बताए। 'हामीले इटहरीको सुरक्षा अवस्था र हामीले मिलाएको सुरक्षाको व्यवस्थाबारे जिल्ला नेतृत्वलाई जानकारी गराएका थियौं' प्रमुख जिल्ला अधिकारी पन्थले भने 'उहाँहरुले परिस्थिति बुझेर इटहरी नआएको हुनसक्छ।'
संघीय समाजवादी फोरमले शुक्रबार साँझ विज्ञप्ती निकालेर सरकारले भिजिलान्ते प्रयोग गरेर कार्यक्रम विथोलेको आरोप लगाएका छन्।