काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काम गर्न नसके पद छाडेर जान नेपाल आयल निगम, वाणिज्य मन्त्रालय र जिल्ला प्रशासनका कर्मचारीहरुलाई चेतावनी दिएको छ।
कालोबजारी नियन्त्रणका विषयमा सरोकारवालासँग आइतबार गरेको छलफलमा आयोगले यस्तो चेतावनी दिएको हो। आयोगको प्रवक्ता कृष्णहरि पुस्करले भने– ‘आज फाइनल वार्निङ दियौं, सक्नुहुन्छ भने काम गर्नुस, नसक्ने भए काम छाडेर हिड्नुस्।’
प्रवक्ता पुस्करले नेपाल आयल निगम, वाणिज्य विभाग, काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारी, गृह र वाणिज्य विभागका अधिकारीहरुसँगको सामूहिक छलफल पछि यस्तो कडा चेतावनी दिएका हुन्।
कालोबजारी भएको बजार प्रस्टै देखिएको उल्लेख गर्दै उनले सरकारी कर्मचारीलाई उदाहरण चाहिए एक घण्टा गौशालामा उभिएर हेर्न सुझाव दिए। उनले निगमकै अधिकारीहरु संगीन अपराधमा मुछिएको पनि बताए।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले राजधानीमा कति तेल भित्रिएको र कसरी वितरण भइरहेको आफूहरुलाई जानकारी नगराएको भन्दै नेपाल आयल निगमको आलोचना गरे।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कालोबजारी सम्बन्धी छलफलमा उनले निगमले समन्वय नगरेको भन्दै आलोचना गरे। ‘कति तेल आउँछ हामीलाई थाहा छैन, निगमले सुचना पनि दिँदैन,’ उनले भने।
प्रजिअ अर्यालले कालोबजारीमा बेच्न लागेको १८ हजार पाँच सय ४१ लिटर पेट्रोल, २१ हजार सात सय पाँच लिटर डिजेल र दुई हजार नौ सय ७५ लिटर मट्टितेल र ५९ सिलिण्डर ग्याँस बरामद भएको जानकारी दिए। कालोबजारी गर्ने ८२ जना पक्राउ परेको, सात वटा पम्पलाई कारवाही गरेको र १९ वटा गाडी नियन्त्रणमा लिएको पनि बताए। त्यस्तै भक्तपुरमा दुई वटा पम्प सिल गरिएको उनले जानकारी गराए।
ललितपुरका प्रजिअ यादव प्रसाद कोइरालाले ठूला व्यापारिक हाउसमाथि कारवाही गर्नुपर्ने बताए। उनले ललितपुरमा थोक बिक्रेता धेरै रहेको तर काठमाडौंबाटै महँगो मूल्यमा सामान गएको जानकारी दिँदै ठूला हाउसलाई कारवाही गर्नुपर्ने बताएका हुन्।
प्रजिअ कोइरालाले कालोबजारी मौलाएको बताउँदै नियन्त्रणमा व्यवहारिक कठिनाइ रहेको पनि सुनाए। ‘निजी क्षेत्रले तेल ल्याउन पाउने निर्णण भएको छ, उसलाई रोक्न सकिँदैन। त्यसैले निश्चित स्थानमै कर लगाउनु पर्छ,’ उनले भने, आयल निगमले मागको तुलनमा ११ प्रतिशत मात्रै तेल दिएको छ। उपभोक्ता आफैले ल्याएर सवारी साधन चलाएका छन्। उपभोक्तालाई गाडी चलाउ भन्ने कि नभन्ने?’
काठमाडौं र ललितपुरका प्रहरी प्रमुखहरुले अत्यावश्यक कामका लागि सीमित मात्रामा पेट्रोलियम ल्याउनेहरुलाई कारवाही गर्दा विवेक पुर्याउनु पर्ने बताए। कालोबजारी गर्ने उद्देश्यले ट्यांकरमा भन्दा बढी तेल आयात भइरहेको उनीहरुले बताए।
वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाले अहिले नै थिति बसाल्न सक्ने अवस्था नरहेको बताए। उनले स्थिति सामान्य नभएसम्म ग्यास दिन नसक्ने पनि बताए।
आयल निमगका प्रवक्ता मुकुन्द घिमिरेले काठमाडौं बाहिर स्थानीय प्रशासनसँगको समन्वयमा पेट्रोलियम पदार्थ वितरण भइरहेको जानकारी दिए। उनले काठमाडौंको कुन पम्पबाट तेल वितरण हुन्छ भनेर सूचना निकालेको र केही दिनमै कहाँ तेल पाइन्छ भनेर एसएमएस सेवा सुरु गर्ने बताए।